विचार

रेडियो, अब हेर्ने रेडियो!

‘अमेजिङ रेडियो! अमेजिङ प्रिजेन्टेसन! अल होस्ट युज्ड द वर्डअफ अमेजिङ–अमेजिङ’ पूर्व अर्थसचिव रामेश्वर खनालले आफ्नै ट्वीटर ह्यान्डलबाट ट्वीट गरे। रेडियो नागरिक ९६.५ प्रसारण भएको केही समयपछि उनले गरेको रेडियो नागरिकप्रतिको त्यो ट्वीट व्यङ्ग्य थियो कि अथवा साँच्चिकै नयाँ लागेर ट्वीट गरेका थिए, पछिल्ला उनको ट्वीटहरूमा खुलाइएको छैन तर, रेडियो नागरिकले स्थापनाको एक वर्षमै युवाहरूको मनमस्तिष्कमा स्थान बनाएको पक्कै छ। दाबीका साथ भन्न सकिन्छ, समाचार र कार्यक्रम चलाउने पुरानै शैलीलाई ब्रेक गरेको छ, अर्थात् जस्तो श्रोता उस्तै रुचिअनुसारको समाचार पस्कने जमर्काे गर्न सफल भएको छ। यही कारण रेडियो नागरिक जबर्जस्त धेरैको रोजाइमा परेको भन्न सक्ने आँट आएको हो।

आज रेडियो नागरिकले एक वर्ष पार गरेको छ। यो एक वर्ष सिकाइ मात्रै होइन ‘एक्सपेरिमेन्ट’का आधारमा पनि नयाँ शैलीको रेडियोका रूपमा स्थापित भएको छ। समाचार कक्षमा काम गरेका कारण सधैँ हाम्रो चाहना अहिलेका ‘बिन्दास’ पुस्तालाई रुचिकर कसरी बनाउने भन्ने कुरामा केन्द्रित रह्यो।

अमेजिङ रेडियो भनेपछि सोही अनुसारको समाचार शैली अपनाउन कठिन थियो। त्यसै कारण हामीले युवा, अलिकति पढेका मानिसहरू, बौद्धिक वर्ग र राजनीतिक पार्टीसम्बद्ध व्यक्तिहरूलाई टार्गेट गरेर समाचार बनाउन थाल्यौँ।

युवाको चासो रहने खेलकुद, राजनीतिक पार्टीका छिनछिनका परिवर्तित घटनाक्रमलाई यो एक वर्षे यात्रामा हामीले रुचिकर बनाएर प्रसारण गरेका छौँ। समाचारलाई फर्मलमात्रै होइन, इनफर्मल पनि बनाएर प्रसारण गर्न सकिन्छ भन्ने कुरा हामीले अभ्यास गरेर देखाएका छौँ। मीठो लयमा घोकिएका मात्रै समाचार हुँदैनन्, शैली मिलाइयो भने फरक तवरले पनि समाचार वाचन गर्न सकिन्छ र त्यसलाई अहिलेको पुस्ताको रोजाइमै पार्न सकिन्छ भन्ने कुरा देखाएका छौँ, हामीले सिकेको नयाँ कुरा यो पनि हो।

रेडियो प्रसारणले ३६५ दिन पार गरेको छ। काठमाडौँ उपत्यकामा रहेका थुप्रै रेडियोहरूको बीचमा हाम्रो यो ३६५ दिने यात्रा सुखद मात्रै रहेको छैन, हामी रेडियोको भीडमा हराएनौँबरू नयाँ रेडियोका रूपमा स्थापित भयौँ, यही नै हामीले पाएको सफलता हो।

रेडियोलाई आवाजको तरङ्ग मात्रै हो भन्ने आम ज्ञानलाई रेडियो नागरिकले ब्रेक ग-यो र सुन्नेमात्रै होइन, हेर्ने रेडियोका रूपमा प्रयोग गर्न सफल बन्यो। आजसम्म सबै कार्यक्रम, समाचार सुन्दै हेर्न पाइने विकास हामीले गरेका थियौँ, जसकारण अन्य रेडियोहरूले यसैलाई फलो गरेका छन्।

समाचारमा भेराइटी र रिफ्रेस हाम्रा प्राथमिकतामा रहेका छन्। जसकारण हामीले पृथक् पहिचान बनाएका कुरालाई भन्न हिचकिचाउनु पर्दैन।  राजनीतिक पद्धतिले सबै क्षेत्रलाई गिजोलिरहेका बेला हामीले समाचार कक्षलाई त्यसबाट अलग पार्ने कुरै भएन तर, त्यसबाहेक पनि समाजमा सकारात्मक परिवर्तन गर्ने, उत्प्रेरित गर्ने समाचारलाई प्राथमिकतामा राख्यौँ।

रेडियो पत्रकारिता आँफैमा चुनौतीपूर्ण र जटिल पेसा हो। पत्रपत्रिकामा जस्तो अर्काइभ राख्न नसकिने भएकाले यसका माध्यमबाट त्यति धेरै जनसम्बन्ध स्थापित हुँदैनन्, जति पत्रिका र टेलिभिजनबाट पाइन्छ, त्यसमा पनि भर्खरै स्थापना भएको रेडियोमा स्रोत स्थापना गर्नु, नयाँ जनसम्बन्ध स्थापना गर्नु र रेडियोमा बोल्न लगाउनु सजिलो काम पक्कै थिएन तर, त्यो सम्बन्धलाई विभिन्न स्रोतबाट स्थापित गर्न सफल भयौँ जसकारण एक वर्षे यात्रामा पाएको अर्काे सफलता यो पनि हो भन्ने अवस्थामा हामी पुगेका छौँ।

धेरै थरीका दबाब, समयको चाप, कम जनशक्ति लगायतका कारण रेडियो पत्रकारितालाई जति माथि पु-याउनुपर्ने हो त्यहाँसम्म पु-याउनुपर्ने हामीमा जिम्मेवारी त छ तर, उपलब्ध स्रोत साधनलाई प्रयोग गरेर रेडियोको समाचार शैली अरूभन्दा पृथक् बनाउँदै एक वर्षे यात्रा पार गरेका छौँ, समय सुहाउँदो बनाएका छौँ, आवाज नागरिकको बनाएका छौँ।

बहस र छलफल
रेडियोको सुरुवातसँगै बिहान र साँझ अन्तर्वार्ता लिने कार्यक्रम दुइटा थिए, जुन कार्यक्रममा समसायिक राजनीति, आर्थिक गतिविधिदेखि युवाका क्षेत्रमा काम गर्ने व्यक्तिहरूसँग कुराकानी गरिएको थियो।

तेस्रो लिङ्गीदेखि अमेरिकामा बसेर नेपालको विकट जिल्ला डोल्पाको कथा उतार्ने लेखक, प्रकाशक तथा सम्पादकसम्म रेडियोमा संवाद गरिएको थियो। यसैगरी नेपालमा बढ्दै गएको क्रिकेट क्रेज र नेपालको आगामी चुनौतीबारे क्रिकेट क्षेत्रका विज्ञहरूबाट विश्लेषण गरायौँ, फुटबलको भविष्यबारे बहस चलायौँ। साथै चर्चित गीतकार, संगीतकारसँग कुरा गरेर कार्यक्रममा भेराइटी ल्याउने कोसिस ग-यौँ जुन आजसम्म पनि जारी छ।

यति भने पनि संविधानमा उल्लेख गरिएको समावेशी, समानुपातिक प्रणालीलाई लागू गराउन विभिन्न क्षेत्रका मानिसहरू खोजेपनि बोल्ने मानिस र विज्ञता भएका आधारमा त्यो संख्या पु-याउन हम्मेहम्मे परेको छ, सायद आगामी दिनको चुनौती भनेको यो पनि हो जस्तो लाग्छ।

रेडियो क्रेज
कतिपयले रेडियो सुन्ने श्रोताहरू घट्दै गएको बताउन थालेका छन्। विशेषगरी कन्टेन्टमा लगानी नगर्ने, समयअनुसार तालिम नदिने, सेवा सुविधा वृद्धि नगर्ने र यथास्थितिमा चलाउन खोज्ने रेडियोको हकमा श्रोता घटेपनि सबैको रुचिअनुसारको सामग्री प्रसारण गर्ने हो भने रेडियो सुन्ने श्रोता घटेका छैनन्, बढेका छन्। अहिले मोबाइलमै रेडियो सुविधा छ, अनलाइनबाट रेडियो सुन्न सकिन्छ अनि गाडी चढ्नेहरूले यात्राकै क्रममा सुन्ने भनेकै रेडियो हो। यस्तो अवस्थामा रेडियोका श्रोता घट्दैनन्।

अर्काे विषय भनेको लुकेका विषयवस्तुलाई अगाडि ल्याउन प्रयत्न गर्ने हो भने रेडियो क्रेज घट्दैन। विषयवस्तुलाई प्रसारण शैली फरक पारेर पस्कने, रुचिकर बनाउने हो भने रेडियो सुन्ने श्रोता बढ्दै गएका उदाहरण धेरै छन्। त्यसैले रेडियो क्रेजलाई कायम राख्न अध्ययन, अनुसन्धान र श्रोतामैत्री कार्यक्रम, सूचना सम्प्रेषण गर्न आवश्यक छ।

क्षमता विकासमा लगानी
पत्रपत्रिका र टेलिभिजनमा काम गर्ने पत्रकारहरूभन्दा अनसिनमा काम गर्नुपर्ने भएकाले रेडियो पत्रकारिता गर्नेहरूका लागि तालिम आवश्यक छ। नयाँ प्रविधिको विकास, श्रोतामैत्री कन्टेन्ट लेखन, प्रसारण सिकाउनुपर्ने कुरालाई रेडियो स्टेसनहरूले कार्यान्वयन गराउन सके रेडियो पत्रकारितामा अर्काे ‘चार्म’ आउने निश्चित छ नत्र जसरी पत्रकारिता पढ्ने मानिसहरू पलायन हुँदै गएका छन्, त्यसैगरी रेडियो पत्रकारितामा त्यस्तै दिन नआउला भन्न सकिँदैन। सीपयुक्त, अध्ययन र विश्लेषण गराउन पनि समयसुहाउँदा तालिम आवश्यक पर्छ। जब विषयवस्तुमा लगानी गरिन्छ, त्यसबाट प्रतिफल राम्रै आउँछ। च्याउसरि रेडियो खुल्ने तर रेडियो पत्रकारका लागि लगानी नगर्ने, विषयवस्तुलाई विश्लेषणात्मक तवरले रुचिकर बनाएर प्रसारण नगर्ने हो भने त्यो रेडियो सुन्ने श्रोता घट्ने मात्रै होइन, काम गर्ने जनशक्ति पनि घट्ने खतरा भने छ।

अन्त्यमा, एक वर्ष शानदार ढंगले पार गर्न सफल रेडियो नागरिकले सबै स्थापित मान्यतासँगै रेडियो पत्रकारितामा थप नयाँ आदर्श स्थापना गर्न लागिरहनेछ।

प्रकाशित: ११ वैशाख २०७५ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App