विचार

राजा थिएनन् साझा

बाइरोडको बाटो

तत्कालीन राजा ज्ञानेन्द्रको घोषणापछि २०६३ वैशाख ११ गते मुलुकमा लोकतन्त्र बहाल भयो। हामी ढिलोसम्म पत्रिकाको काम गरेरफर्कँदा मन औधी फुरुङ्ग थियो। २०६१ माघ १९ को शाही कदमदेखि कुँजिएको मनले थोरै भए पनि त्राण  पाएको थियो।

एक जुगमा एक दिन आउने यस्तो समय कहिल्यै बिर्सन सकिँदैन। पत्रिकाको ‘मास्टहेड’ नै तल सर्‍यो रशीर्षक बन्यो– ‘जनताको जित।’

कार्यालयबाट फर्किने बेलामा मध्यरात भइसकेको थियो। एकपटक फेरि राजदरबारको वरिपरि घुमेर हेर्ने चाहना भयो। हिजोसम्म हामीमाथि निरंकुशता लाद्ने राजाले आज जनताका अगाडि झुक्नुपरेको थियो। त्यही अनुभूतिले डोहोर्‍याएको थियो। त्यसलाई महसुस गर्न फेरि त्यही ठाउँमा गएरहेरियो।

काठमाडौँ त्यो रात राम्ररी सुत्न सकेको थिएन। उत्साहले सबैलाई छोएको थियो। जनताले जनताद्वारा जनताका निम्ति काम गर्ने शासन आएको खुसियालीले सबैलाई मग्न गराएको थियो। भोलिपल्ट बिहानैबाट सडक अबिर लगाएका राताम्य मानिसले भरिएको थियो।

राजाको नजिक बसेका केही व्यक्तिबाहेक सबैलाई खुसी लाग्नु स्वाभाविक थियो। राजा आफैँ पनि त्यो रात खुसी भएको हुनुपर्छ किनभने उनीमाथि पनि गहिरो दबाब थियो। मानिसलाई आफ्नो शासन मन नपरेपछि बिसाउनुको विकल्प थिएन। नेपालका समस्या उनले समाधान गर्न सक्ने अवस्था थिएन नै।

आगामी वैशाख ११ गते मुलुकमा लोकतन्त्र प्राप्तिको १९ वर्ष पुग्दैछ। यसबीच फेरि पूर्वराजा ज्ञानेन्द्र मुसुमुसु हाँस्दै सत्ता प्राप्तिका निम्ति मठमन्दिर र शक्तिपीठ धाइरहेका छन्। यस्तै दृश्य शनिबार गोरखामा पनि देखियो। उनी उत्साहित हुँदै उपस्थित व्यक्तिका हात समातेर हिँडिरहेका छन्। राजाको शासनका बेला उनीसँगै देश/विदेश हिँडेका सञ्चारकर्मीदेखि सत्ता वरिपरि रहेका व्यक्ति फेरि ती दिन फर्किने अपेक्षामा अघिपछि गरिरहेका छन्।

हाम्रा निम्ति राजाको न हिजो महत्त्व थियो न आज। हामी कहिल्यै राजाको नजिक पुगेनौँ। हामीलाई राजाको अभाव खड्किएन पनि। हामीले देखेका राजा भनेका हाम्रा अग्रजहरूले दसैँका बेला ढोकामाथि लगाएका टीका मात्र हुन्। हामीले देखेका राजा/रानी भनेका तिनका जन्मोत्सवमा ‘जिन्दावाद’का नारा लगाउँदै हिँडेका मात्र हुन्।

मुलुकमा प्रजातन्त्र आएपछि पेसाकर्मीका रूपमा यदाकदा तिनलाई देखेको हो। तिनलाई कहिलेकाहीं पर्वविशेषमा राजदरबार गएका बेला लाममा बसेर हेरेको मात्र हो। ती अगाडि आएपछि मानिसहरू एकोहोरो सुनाउँथे– सरकार देश खत्तम भइसक्यो, जिम्मा लिइबक्सनु पर्‍यो।

तत्कालीन राजाको टाउको हल्लाइबाट समस्याको समाधान भएको ठानिन्थ्यो। आखिर देशले कुनै उल्लेख्य प्रगति गर्न सकेको होइन। एकातिर बोल्न नपाइने अर्कोतिरदेशको शासनले कुनै तात्त्विक अन्तरपार्न नसक्ने। यस्तो विषम स्थितिबाट देश लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेको हो।

जसले देशमा जतिसुकै नराम्रो छ भने पनि अहिले हिजोभन्दा भिन्न अवस्था आएकै छ। मानिसले आफ्ना आकांक्षा प्रकट गर्ने मात्र होइन, शासनसत्ताको केन्द्रमा पुगेरमुलुक परिवर्तन गर्न सक्ने अवस्था छ। राजा आएर देशको विकास गरिदिनुपर्ने अवस्था छैन। जनताका छोराछोरीले जसरी हुन्छ देशमा परिवर्तन ल्याउन आफैँ पहल गर्छन्। तिनले चारैतिरबाट अग्ला पर्खालभित्र छेकिएर बस्ने दरबारको आशा गर्नु पर्दैन।

राजाका शासनमा हामीले नयाँ शिक्षा पद्धति पनि देखेकै हो। तिनका बेलामा ‘एशियाली मापदण्ड’ पनि देखेकै हो। ‘विकासको मूल फुटाऔँ’ भन्दै आह्वान गरे पनि केही भएन। वास्तवमा राजाको शासनकाल हामी नेपालीका निम्ति सबैभन्दा उकुसमुकुसयुक्त समय थियो। त्यस शासनलाई जतिसुकै महिमामण्डित गरे पनि गौरव लाग्ने पक्ष छैन।

हामी पाखाभित्तामा बस्ने नेपालीका निम्ति राजा भनेका ‘किंवदन्ती’ मात्र हुन्, यथार्थ होइनन्। किनभने हामीले राजालाई सुनेको भनेको कुनै बुढी आमाका घरमा चामलको बोरा पुर्‍याइदिएको कथामा हो। कतै देशको अवस्था बुझ्दै जाँदा युवराज वा राजा भनेर भेटिएको भन्नेबाहेक हामीले यथार्थमा तिनलाई कहिल्यै भेटेनौँ। हो, हामीले तत्कालीन केही कविका कवितामा राजालाई भेट्यौँ। रेडियोका गीतमा चौतारी रभञ्ज्याङ्मा तिनलाई भेट्यौँ। नेपालको परिस्थिति सुधार्नमा तिनलाई भेटेनौँ।

हो, हामीले परबाट मुसुमुसु मुस्काउँदै हिँड्ने रकेही नबोल्ने राजालाई देखेको हो। यसकारण पनि अहिले केही मानिसलाई राजा असाध्यै सम्झनामा आएका छन्। अचेल समस्या समाधानका निम्ति आफ्नै घरछेउबाट निर्वाचित जनप्रतिनिधिले भूमिका खेलिदिन सक्छन्। तिनलाई हामी देख्दैनौँ। हामीलाई राजा किन पनि चाहिएको छ भने आफैँले चिनेको मानिस राष्ट्रपति वा प्रधानमन्त्री भएको देख्दा हामीलाई खासै कुलिन जस्तो लागेको छैन। शासन गर्न खास वंश वा घरानामा जन्मिनुपर्छ भन्ने हाम्रो दमित चाहनाले आग्रह गरिरहेको छ।

लोकतान्त्रिक शासन व्यवस्थामा सर्वसाधारणले दमित भएर बस्नु पर्दैन। के राजाका बेला मुलुकमा लोकतन्त्र चाहिन्छ भनेर जुलुस निकाल्न पाइन्थ्यो? तर, लोकतन्त्रमा राजा चाहिन्छ भन्न पनि पाइएको छ। यसकारण पनि यो व्यवस्था अत्यन्तै सुन्दरछ। हामीलाई मन नपरेका नेतालाई पाँच वर्षमा फेर्न कसैले रोक्न सक्दैन। राजा फेर्न भने ठूलै क्रान्ति गर्नुपर्छ। त्यही क्रान्तिको परिणामस्वरूप राजा बिदा भएका हुन् र जनताका छोराछोरीले शासन गर्ने जिम्मेवारी पाएका हुन्। प्रतिक्रान्तिको सपना धेरै नदेख्नू कठिन हुन सक्छ।

कसैलाई राजा चाहिन्छ जस्तो लागेको छ भने निर्वाचनबाट दुईतिहाइ बहुमत ल्याएर संविधान परिवर्तन गर्न सकिन्छ। राजतन्त्र पुनर्स्थापनाका निम्ति यो देशले अब आन्दोलन धान्न सक्दैन। नेपाल निकै अगाडि पुगिसकेको छ। प्रत्येक जाति, धर्म, सम्प्रदाय र व्यक्तिले आआफ्नो हिस्साको अधिकार स्थापित गरिसकेका छन्। अब फेरि मुलुकमा राजा ल्याउन खोज्नेहरूले नबुझेको पक्ष त्यसलाई टिकाउन सकिन्छ कि सकिँदैन भन्ने हो।

मुलुकमा लोकतन्त्र आएपछि संविधान ल्याउने बेलामा नेपाली राजनीतिक नेतृत्वले विदेशलाई सुनेनन्। त्यति मात्र होइन, तिनले पटकपटक यहाँ गराउन खोजेका काम भएनन्। अहिले त्यसैको रिस पोख्न पनि राजालाई पुनस्र्थापित गरेर नेपाली समाजलाई खल्बल्याउन खोजेका छन्। कम्तिमा दुई दशकदेखि नेपाल स्थायित्वको बाटोमा गइरहेको छ। संविधानले काम गरिरहेको छ।

लोकतान्त्रिक प्रक्रिया ढिलो हुन्छ तरयो दिगो हुन्छ। यो कुनै तानाशाहले छुमन्तर गरेजस्तो होइन। यसमा देखिएका कुनै समस्या भए त्यसलाई संशोधन गरेर अगाडि बढ्न सक्ने स्वीकारोक्ति पनि दलका नेताहरूमा आएको छ।

तर, कुसूचनालाई प्रयोग गर्दै लोकतान्त्रिक शासन व्यवस्थाविरुद्ध यहाँ अभियान छेडिँदैछ। त्यसका निम्ति यहाँका सार्वभौम अधिकारसम्पन्न नागरिक तयार होलान् र? आफ्ना कुरामा पत्यार गराउन केही व्यक्ति नेपालमा सबै काम विदेशीले गराएको भाष्य सिर्जना गर्दै लोकतन्त्रविरुद्ध लागिरहेका छन्। लोकतान्त्रिक शासन व्यवस्था २००७ सालदेखिको अभीष्ट हो र त्यो प्राप्त भएको छ। लोकतन्त्र नै जाने अवस्थामा यहाँका सबै नागरिक फेरि जाग्नेछन्।

तत्कालीन राजाहरूले लोकतन्त्रलाई कहिल्यै उठ्न दिएनन्। आफ्नो शक्तिका लागि जहिल्यै लोकतान्त्रिक शासन व्यवस्थालाई कमजोरतुल्याउने काम गरे। त्यो २०१७ पुस १ को कदम होस् वा २०६१ माघ १९ को। ती सबै काण्डपछाडि राजामा आफ्नै शक्तिको चाहना थियो। राजाको शासनकाल र लोकतान्त्रिककालमा भएका प्रगतिको तुलनात्मक अध्ययन गरे पनि हुन्छ, नेपाल धेरै अर्थमा अगाडि बढिरहेको छ। अरू केही नभए पनि राम्रो शिक्षादीक्षा लिएर नेपालीले संसारभरि अगाडि बढ्न त पाएका छन्। हिजो राजाका बेलामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीले पनि सत्ता कोपभाजनको शिकार भई भविष्यबाट वञ्चित हुनुपरेको अवस्था थियो। अहिले नागरिक स्वतन्त्रताको उन्मुक्त वातावरणमा छन्। यो स्वतन्त्रतामा कसैको नजर नलागोस्।

हामीले देखेका राजा भनेका पञ्चायती ‘प्रोपगान्डा’ का लागि लेखिएका पाठ्यपुस्तकले सिर्जना गरेको छवि मात्र हो। हो, लोकतन्त्रमा हामीले न बिपी कोइरालालाई पढ्नुपर्‍यो न पुष्पलाललाई नै। न गणेशमानलाई पढ्नुपर्‍यो न मनमोहनलाई नै। यसकारण हाम्रा लागि यी नेताहरू सामान्य नागरिक मात्र हुन्। हाम्रा दिमागमा भने राजाको त्यही छायाँ र छवि छ जुन हामीलाई फेरि चाहिएको छ।

४० को दशकमा कक्षा २ को  ‘महेन्द्रमाला’ पुस्तकमा राजा र रानीबारे दुईटा कविता राखिएको थियो– ‘राजा सबका साझा’ र‘हाम्री रानी’। यी दुई कवितालाई क्रमशः हेरौँ–  

हामी सबै नेपालीका

यौटै साझा राजा

नेपालको माया गर्ने

राजा सबका साझा

(दैवज्ञराज न्यौपानको ‘राजा सबका साझा’) 

हामीलाई माया गर्ने

हाम्रो देशकी रानी

समाजको सेवा गर्ने

हाम्री महारानी।

(रामकुमार पाँडेको ‘हाम्री रानी’)

राजा र रानीको कविता पालैपालो पढ्ने गरी राखिएको थियो। अझ राजाका बारेमा थप प्रष्ट पार्दै लेखिएको थियो– ‘मौसूफले धेरै पढिबक्सेको छ। हाम्रा राजा शिरमा श्रीपेच पहिरिबक्सिन्छ। यो श्रीपेच राजमुकुट हो। श्रीपेचमा धेरैथरी हीरा, मोती, पन्ना जुहारत आदि जडिएको हुन्छ। श्रीपेच झलझल झल्किन्छ ।’

हो, लोकतन्त्र र निरंकुश राजतन्त्रमा यही फरक छ। कम्तीमा लोकतन्त्रले कसैलाई हाम्रा राष्ट्रपतिको टोपी कति झल्किन्छ भनेर पढाउँदैन। हाम्रा प्रधानमन्त्रीले कति पढेका छन् पनि भन्दैन।

राजा कसैले छानेका होइनन्। ती केहीका राजा थिए, सबैका साझा थिएनन्। अहिलेका प्रधानमन्त्री बहुमतले छानेका हुन्। साझा होइनन् भन्न पाइएकै छ। राष्ट्रपतिको आलोचना पनि गर्न पाइएकै छ। कसैले गाथगादी ताकेको मुद्दा भोग्नु पर्दैन। यसकारण पनि लोकतन्त्र महान् छ। मलाई फेरि राजतन्त्र चाहिँदैन।  

प्रकाशित: १० चैत्र २०८१ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App