विचार

बलात्कारको सजाय पुगेन

बलात्कारका घटना बग्रेल्ती सुनिन्छन्। कानुुनीभाषामा बलात्कार भन्नुु जबर्जस्ती करणी हो। विनामन्जुरी, करकाप, धम्की वा बल प्रयोग गरी जबर्जस्ती गरिने यौनसम्पर्कलाई बलात्कार भनिन्छ। त्यसैगरी उमेर नपुगेको व्यक्तिलाई ललाइफकाइ, मन्जुरी लिई वा नलिई गरिने यौनक्रीडालाई पनि बलात्कारकै रूपमा लिइन्छ। यो कार्य नैतिकताको दृष्टिले घृणित र कानुनी दृष्टिले अपराधमूलक हो। यसैकारण कुनै पनि समाजमा यसलाई ग्राह्य मानिँदैन र हरेक दृष्टिकोणबाट यस्तो कार्य वर्जित मानिन्छ। यद्यपि बलात्कार महिलालाई पुरुषले गर्छन् भन्ने मान्यता छ। तर महिलाद्वारा पनि पुरुष बलात्कृत भएका घटना पनि सुन्नमा आउँछन्। अझ सर्वोच्च अदालतको एक फैसलाले त कानुनी इतिहासमै पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजीर प्रतिपादन गरेको छ। जिल्ला अदालत संखुवासभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठरसपना प्रधान मल्लको संयुक्त इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको १९ (घ)लाई आधार मानी  महिलाले महिलालाई बलात्कार गर्नसक्ने भनी व्याख्या गरेका छन्। नजीर स्थापित गराएका छन्। तर यहाँ चर्चाको विषय भने पुरुषद्वारा हुने–गरिने महिलामाथिको बलात्कार रहेको छ।

इटहरीको विष्णुपुर गाउँपाालिकामा ३१ वर्षीय महिला सामूहिक बलात्कारको शिकार बनिन्। फागुन २९ गते छिन्नमस्ता खण्डबाट काठमाडौँचल्ने माइक्रो बसभित्रै एक युवती बलात्कारमा परिन्। पछिल्लो छ वर्षको तथ्यांक हेर्दा सप्तरीमा मात्रै ९६वटा बलात्कारका घटना घटेका छन्। कतै बलात्कारका घटनामा प्रहरीका उच्चपदस्थ अधिकारीहरूसमेत संलग्न रहेको, कतै बाबुुद्वारा छोरी बलात्कृत भएको त कतै शिक्षकद्वारा छात्रा बलात्कृत भएका दुःखद एवं पाशविक घटना समाचार बनेर आएका छन्। 

प्रहरी प्रधान कार्यालयका अनुसार २०७० र ७१ यताका तीन वर्षमा देशभरको रेकर्डअनुसार बलात्कारका ३ हजार ५ वटा घटना दर्ता भएका छन्। जसअनुसार प्रत्येक दिन औसतमा ३ वटा बलात्कारका घटना भएका देखिन्छन्। यो त प्रहरीमा दर्ता भएका घटनाको मात्र तथ्यांक हो। कतिपय पीडितहरू समाजबाट अपहेलित र तिरष्कृत भइने डरले घटना लुकाएका पनि थुप्रै उदाहरणछन्। यसरी हेर्दा दर्ता वा सार्वजनिक नभएका घटना पनि जोड्ने हो भने हामीकहाँ बलात्कारको अवस्थाको कहालीलाग्दो तथ्यांक भेटिन्छ। केही समयअघि दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’पछि युवतीलाई नग्न बनाएर भिडियो खिचिएको खुलासा भएको छ ।यस काण्डमा प्रहरीका अधिकारीहरूसमेत मुछिएका छन्। 

किन हुन्छन् बलात्कार?
विख्यात अर्थशास्त्री मास्लोको आवश्यकताको सोपानक्रममा गास, बाससरह यौन पनि अत्यावश्यक मानिएको छ। यौन सम्बन्घ दुईआत्माको मिलन मात्र नभएर यो जैविक आवश्यकतासमेत हो।  प्रसिद्घ मनोवेत्ता फ्रायडका अनुसार विपरीत लिङ्गप्रतिको आकर्षणकै कारण आमाले छोरालाई दूध चुसाउँदा समेत यौन सन्तुुष्टि प्राप्त गर्छे भनिएको छ। साहित्यका नवरसमध्ये शृङ्गार रसभित्रको सम्भोग शृङ्गारले त बगैँचा, जुनेली रात, मन्द स्पर्श (विपरीत लिङ्गीको)वार्तालाप, शरीरका अंगप्रत्यंगको देखोट आदिबाट योनेच्छा जाग्ने कुरा गर्छ। जे सुकैबाट होस्, यौनेच्छा पूरा गर्न गरिएका यावत् हर्कतहरू सफल नभएपछि मानिसले बलात्कार गरी यौन सन्तुष्टि पूरा गर्छ। यो शाश्वत सत्य हो। 

अपराधीहरू त्यतिबेलासम्म अपराध गर्न छोड्दैनन्,जतिबेलासम्म उनीहरू कानुनी दायरामा आउँदैनन्। जबसम्म कडा कानुन बन्दैन वा बनेर पनि कार्यान्वयनमा आउँदैनन् अपराधीहरूको मनोबल उच्च रहन्छ। जुनसुकै प्रकारका घटनाहरू पनि कानुनद्वारा नियन्त्रण गर्न सकिन्छ तर हामीकहाँ एक त बलात्कारका लागि कानुुनी सहारा लिने चलन नै छैन। समाजको डर, मान,इज्जतको सवाल र घर परिवारसमेतको डरका कारण घटनालाई गुपचुप राख्ने गरिन्छ। अर्को कुरा उजुरी गरिहालेको खण्डमा पनि कानुनमा कडा कारबाहीको व्यवस्था छैन। मुलुकी ऐनको जबर्जस्ती करणीको महल १४ मा कसैले पनि कुनै पनि महिलालाई उसको मन्जुरीविना करणी गरेमा वा १६वर्ष मुनिकी महिलालाई उसको मन्जुरीबेगर करणी गरेमा जबर्जस्त करणी गरेको मानिने कुरा उल्लेख गरिएको छ।

डर,त्रास देखाइ वा करकापमा पारी, अनुचित प्रभावमा पारी अपहरण गरी लिएको मन्जुरीलाई मुलुकी ऐनले मन्जुरी मान्दैन। मन्जुरी स्वेच्छिक हुनुपर्छ। यस प्रकारले १० वर्षभन्दा कम उमेरकी बालिकालाई जबर्जस्ती करणी गरेमा १० देखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई जबर्जस्ती करणी गरेमा ८ देखि १२ वर्षसम्म कैद हुने व्यवस्था छ। १४ देखि १६वर्षभन्दा कम उमेरकी बालिकाको हकमा ६ देखि १० वर्षसम्म र १६देखि २० वर्षकी महिलाका हकमा ५ देखि ८ वर्षसम्म तथा २० भन्दा बढी उमेरकी महिलालाई जबर्जस्ती करणी गरेमा ५ देखि ७ वर्षसम्म कैद हुने कानुनी प्रावधान छ। यसबाहेक हाडनाता,गर्भवती अशक्त करणी गर्नेहरूलाई पनि यो सजायका अलावा थप सजाय हुने व्यवस्था मुलुकी ऐनमा गरिएको  छ। तर यत्तिमात्र बलात्कार रोक्नका लागि पर्याप्त छैन।

जो रक्षक उही भक्षक बनी बाबुले छोरीलाई, प्रहरीले नागरिकलाई, गुरुले छात्रालाई बलात्कार गरेका घटना पनि हामीसँग छन्। सामूहिक बलात्कार गरी हत्या गरेका घटना पनि त्यत्तिकै छन्। अनुचित प्रलोभन देखाएर अस्मिता लुटिएका घटना पनि कम छैनन्। यस्ता जघन्य अपराध गर्नेहरूलाई लिंगछेदनकै कानुन बनाएर सजाय दिन जरुरी छ। सजाय भनेको अपराधीका लागि अपराधबोध गराउने साधन मात्र होइन,यो त अन्यहरूका लागि यस प्रकारको अपराध गर्न हुँदो रहेनछ, गरेमा नराम्रो, कठिन सजाय पाइँदोरहेछ भन्ने सन्देशमूलक पनि हुनजरुरी छ। तसर्थ कैदी मानो खाएर बस्दैमा बलात्कारजस्तो अपराधको पापमोचन हुन सक्दैन। जस्तालाई त्यस्तै व्यवहार गर्न जरुरी छ। पारिवारिक होऊन् वा अन्य प्रकृतिका बलात्कार होऊन्, यिनलाई सार्वजनिक गरी बलात्कारीविरुद्घ शून्य सहनशीलता अपनाउनै पर्छ।

प्रकाशित: ६ वैशाख २०७५ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App