विचार

जीवन नजोडिएको शिक्षा

विद्यालय तहको शिक्षामा नयाँ  पाठ्यक्रम २०७६ लागु गर्दा २१औँ शताब्दीले अवलम्बन गरेका सिकाइ सिप, साक्षरता सिप र जीवनोपयोगी सिपहरूलाई समेत समावेश गर्ने प्रयास गरियो। जुन नेपाली शिक्षा पद्धतिमा नौलो र अत्याधुनिक विधिका रूपमा रह्यो। पाठ्यक्रम निर्माणका सन्दर्भमा सैद्धान्तिक रूपमा निकै राम्रो अवधारणालाई नेपाली शिक्षा क्षेत्रले अवलम्बन गरे पनि व्यावहारिक रूपमा कार्यान्वयन गर्नका लागि भने पर्याप्त अध्ययन, अनुसन्धान र प्रयासहरू गरिएन। फलतः पाठ्यक्रम लागु भएको एक वर्ष नबित्दै पाठ्यक्रम परिमार्जन र परिवर्तनका आवाजहरू बुलन्द हुन थाले।

नयाँ विधिका रूपमा अवलम्बन गरेका सैद्धान्तिक धारणाहरू कार्यान्वयन गर्न जटिल हुनु स्वाभाविकै हो। अझ पुरानै विधिमा अभ्यस्त पुस्ताले नवीन मान्यतालाई सहजरूपमा आत्मसात् गर्न नखोज्नु स्वाभाविकै पनि हो। लक्ष्य प्राप्तिमा दृढ भएको भए शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्र र शैक्षिक जनशक्ति विकास केन्द्रले कम्तीमा सामुदायिक विद्यालयका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम र विद्यालय तहको आधुनिक वा नयाँ पाठ्यक्रमबारे तालिमको व्यवस्था अनिवार्यरूपमा गर्नुपर्थ्याे। जसले पाठ्यक्रमको मूल मर्मलाई लक्षित समूहसम्म पुर्‍याउने हो उनीहरूलाई नै गुमराहमा राखेर केन्द्रीकृत विधिबाट पाठ्यक्रम लागु गर्न खोज्दा समस्याहरूको चाङ बृहत्तर रूपमा देखिँदै आयो। त्यसो त पाठ्यक्रम व्यवस्थित नभएकाले पाठ्यपुस्तकलाई नै साध्य मानिँदै आएको सन्दर्भमा नयाँ पाठ्यक्रम शिक्षाका धेरैजसो पक्षलाई सम्बोधन गर्न सक्ने भने देखिएको नै हो।

जीवनोपयोगी सिपलाई व्याख्या र कार्यान्वयन गर्ने सन्दर्भमा भने पाठ्यक्रम निर्माणमा संलग्न भएका व्यक्तिहरूले आफ्नो गहन विद्वता, अध्ययन र अनुसन्धानलाई देखाउन सकेनन्। फलतः पाठ्यक्रम निकै फितलो, अपूर्ण र अवैज्ञानिक बन्न पुग्यो। कक्षा ११ र १२ मा जीवनोपयोगी शिक्षाका नाममा राखिएको विषयले यस कुरालाई पुष्टि गरेको छ।

छुट्टै विषयका रूपमा जीवनोपयोगी शिक्षालाई राख्नुले विज्ञहरू जीवनोपयोगी सिपको अवधारणा नबुझेका मात्र होइनन् पुरानो पाठ्यक्रमको नैतिक शिक्षालाई बनाए जस्तै संकुचित पार्न खोजेको स्पष्ट देखिन्छ।

नैतिक आचरण, व्यवहार, आदर्श, मूल्य र मान्यता कत्ति पनि नसिकेको व्यक्तिले नैतिक शिक्षामा पूर्णाङ्क नै प्राप्त गर्ने अवस्था विगतमा रहेको थियो। यस्तै जीवनोपयोगी सिप सिक्दै नसिकेको व्यक्तिले एउटा जीवनोपयोगी शिक्षा नाम गरेको विषयमा बुँदा घोकेर लिखित परीक्षा दिएकै भरमा पूर्णाङ्क प्राप्त गर्ने अवस्था नयाँ पाठ्यक्रमले सिर्जना गरेको छ।

सामाजिक शिक्षामा गलगाँड जस्तै मानव मूल्य शिक्षा झुण्ड्याएर सामाजिक विषयप्रतिको गहनतालाई नै हास्यास्पद बनाइएको छ। कक्षा ९ र १० को सामाजिक शिक्षा सामाजिक र नैतिक आचरण, व्यवहार, संरचना एवं प्रकार्यका बारेमा विद्यार्थीलाई जानकारी दिई सामाजिक मूल्य मान्यतालाई संरक्षण गर्ने विषयमा चनाखो नागरिक बनाउने कुरामा केन्द्रित हुनुपर्नेमा लोक सेवा आयोगको खरिदार पदको पाठ्यक्रमलाई आधार मानेर निर्माण गरेको देखिन्छ। यी सब कुराले पाठ्यक्रमले २१औँ शताब्दीका सिकाइ, जीवनोपयोगी र साक्षरता सिपको कुरा गरे पनि व्यवहारमा तात्विक सुधार ल्याउन भने सकेको देखिँदैन।

त्यसो त मन्त्रालयको नाम जस्तै हुने गरी तयार पारिएको विज्ञान तथा प्रविधि विषयको पाठ्यक्रम निर्मातालाई प्रविधि भनेको कम्प्युटर मात्रै हो भन्ने गलत र भ्रमपूर्ण चिन्तनले ग्रस्त गरेको देखिन्छ। सम्बन्धित क्षेत्रका प्रविधिलाई समावेश नै नगरी शीर्षक मोह देखाउने प्रयासले विज्ञानको पाठ्यक्रम पनि उँट जस्तै बनेको छ।

शिक्षामा त्रुटि र प्रयासलाई सिकाइ सूत्र मानिए पनि परीक्षा केन्द्रित हुने र कुनै सिद्धान्तमा आधारित नभई लहडका भरमा प्रयोगहरू गर्न थालेकाले अक्षराङ्कन विधि, सबै उत्तीर्ण हुने विधि जस्तै जीवनोपयोगी सिपका कुराहरू पनि अस्थिर र व्यावहारिकभन्दा गफ गर्ने कुराका रूपमा मात्र सीमित हुन पुगेका छन्।

जीवनोपयोगी शिक्षा एउटा विषय विशेष हुनुहुन्न भनेर यस पङ्तिकारले नयाँ पाठ्यक्रमको मस्यौदा सार्वजनिक हुँदाकै बखतबाट सामाजिक सञ्चार र अनुसन्धानत्मक लेख रचनाका माध्यमबाट आवाज उठाउँदै आएको तथ्य छर्लङ्गै छ। शिक्षा पूर्णतः जीवनोपयोगी र व्यवहारोपयोगी हुनुपर्छ, एउटा विषयलाई जीवनोपयोगी भनेर अन्य विषय काम नलाग्ने भन्ने अर्थ लाग्ने गरी नाम सुझाउनु हुँदैन भन्ने विषयमा स्पष्टताका लागि घच्घचाइएको थियो। त्यतिखेर यस विषयमा खासै सुनुवाइ भएन।

नयाँ पाठ्यक्रमकै सन्दर्भमा देशका विभिन्न ठाउँमा शिक्षकलाई तालिम दिने सन्दर्भमा जीवनोपयोगी शिक्षाको प्रयोगात्मक र शैक्षणिक मूल्य दैनिक जीवनका यथार्थ सिपको मूल्याङ्कनबाट मात्र हुन सक्ने तथ्य बोध गरी प्राज्ञिक बहसको विषय बनाइएको हो। यसै तथ्यलाई आधार मानी नागरिकमा मूल्याङ्कनमा घरायसी कामलाई समावेश गरेर शिक्षा र जीवन जोड्नुपर्ने धारणा चार वर्षअगाडि व्यक्त गरिएको थियो। उक्त आलेखमा सिप, प्रविधि, परम्परा र संस्कारगत कुराहरू पनि मूल्याङ्कनको दायरामा आउन सक्ने भनी प्रकाश पारिएको थियो।

चार वर्षपछि आएर पाठ्यक्रम विकास केन्द्रले सो धारणालाई मान्यता दिँदै गृहकार्य र व्यवहारको मूल्याङ्कनलाई आन्तरिक मूल्याङ्कनतर्फ समावेश गर्ने तत्परता देखाएको छ। स्थानीय आवश्यकता, जीवनोपयोगी सिपको महत्त्व बोध, कामलाई सम्मान गर्ने वातावरण र कक्षाकोठाबाटै अन्तरक्रियाका माध्यमबाट ज्ञान निष्पादन गर्ने एक्काइसौँ शताब्दीको मान्यतालाई कार्यान्वयन गर्न घरायसी सिप, व्यवहार र प्रविधिलाई अवलम्बन गर्ने एवं कक्षाकोठाका प्रस्तुतीकरणको विषय बनाउने सन्दर्भले  पाठ्यक्रमलाई माटो अनुकूल बनाउन आधार तयार गर्छ।

स्थानीय आवश्यकता र विद्यार्थीको रुचिअनुकूल हुन सक्ने भए पनि आवश्यक पूर्वतयारी नभए कार्यान्वयन गर्न खोजिएको घरायसी कामको संलग्नतालाई औपचारिक मूल्याङ्कन विधिमा जोड्ने कार्यले लक्ष्य प्राप्त गर्न भने मुस्किल हुन्छ। पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम निर्माण गर्दाको समयमा जस्तै एक थान सैद्धान्तिक आधारपत्र तयार गरेर जिम्मेवारीमुक्त हुने प्रयास गर्‍यो भने सामाजिक वा जीवनोपयोगी शिक्षा विषयकै अवस्था सिर्जना हुन बेर लाग्दैन। यसैले व्यावहारिकरूपमा कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा गहन अध्ययन, विश्लेषण र लक्षित समूहमा तालिमको आवश्यकता पर्छ।

यस सन्दर्भमा केन्द्रीकृत वा स्तरीकृत ढाँचा अवलम्बन गर्नु हुँदैन। दुर्गम क्षेत्र, नगरोन्मुख र सहरी क्षेत्रको कामको प्रकृति र मूल्याङ्कन विधि नितान्त फरक हुन सक्छ। यस विषयमा पाठ्यक्रम विकास केन्द्र लचक बन्न सक्नुपर्छ। मूल्याङ्कनमा अभिभावकलाई सहभागी गराउनु अनिवार्य नै हो तर वर्षभर एकपटक पनि विद्यालय नआउने अभिभावकको पक्षबाट पनि पाठ्यक्रम लागु गर्ने सन्दर्भलाई नियाल्नुपर्छ।

यस्तै स्थानीय स्तरमा विभिन्न किसिमका समस्या र विशेषता छन्। ती कुरासमेत सम्बोधन हुने गरी घरायसी कामको संलग्नतालाई मूल शिक्षण सिकाइ क्रियाकलाप र मूल्याङ्कन विधिमा समावेश गर्ने हो भने हाम्रो शिक्षा पद्धतिमा नौलो अभ्यास मात्र नभएर शिक्षालाई जीवनसँग जोड्ने महत्त्वपूर्ण आधार तयार हुने कुरामा विश्वस्त हुन सकिन्छ।

जे होस्, नवीन विधिका रूपमा गृहकार्य र घरायसी व्यवहार एवं सिपलाई आन्तरिक मूल्याङ्कनमा जोडी शिक्षालाई जीवनोपयोगी र व्यावहारिक बनाउन निरन्तर गरिएको प्रयासलाई कार्यान्वयन गर्न पाठ्यक्रम विकास केन्द्र तयार भएको सन्दर्भलाई भने सकारात्मक रूपमा लिनैपर्छ।

प्रकाशित: २६ पुस २०८१ ०७:१९ शुक्रबार

# Education without life # Chang of problems # Delusional thinking # Curriculum Development Center