विचार

मदिरा नियन्त्रण होइन निषेध

गत साता अमेरिकाको जनस्वास्थ्य प्रवक्ताका रूपमा रहेका सर्जन जनरल डा. विवेक मूर्तिले सरकारले जनचेतनाका लागि मदिरा का सम्बन्धमा श्वेतपत्र जारी गर्नुपर्ने बताए। सरकारको स्वास्थ्य सल्लाहकारका रूपमा रहेका वरिष्ठ चिकित्सकले वैज्ञानिक अनुसन्धानले पुष्टि गरेका मदिराको विकटरूपी सन्देश सर्वसाधारणसामु पुर्‍याउनुपर्ने देखे। 

मदिरा सेवनले विभिन्न सात किसिमका क्यान्सरको संभाव्यता पुष्टि भएको अनि रक्सी सिर्जित विभिन्न रोगका कारण बर्सेनि हजारौँ जनता मर्ने गरेकाले सरकारले मदिराको यथार्थलाई जनतासमक्ष पुर्‍याउनुपर्ने डा. मूर्तिको भनाइ देखियो। कुनै सामग्री रोगको कारक हुन्छ भने त्यसको बारेमा सर्वसाधारणलाई बताउने अनि आवश्यक परे त्यस्ता चिजबिजलाई प्रयोगमा बन्देज लगाई जनतालाई स्वस्थ राख्नु सरकारको दायित्व हुने भएकाले अमेरिकाको सर्जन जेनरलको भनाइले चर्चा पायो।

रक्सी किन खराब हो त? सन् १९९० देखि २०१६ सम्म संसारका एक सय ९५ देशका १५ वर्ष देखि ९५ वर्ष समूहका लाखौँ नागरिकको जत्थालाई समेटेर गरिएको एक बृहत् अध्ययनले मदिरा सेवन गर्ने समूहलाई रक्सी नछुने पक्षको दाँजोमा क्यान्सर, मुटु रोगलगायतका विभिन्न स्वास्थ्य समस्याले थल्याउने सम्भाव्यता अत्यधिक देख्यो। मेडिकल साइन्सको प्रतिष्ठित जर्नल द लान्सेटमा प्रकाशित उक्त आलेखले मदिराको न्यूनतम मात्रा पनि मानवीय शरीरका लागि सुरक्षित नरहेको भन्यो। 

अथवा रक्सी मानवीय शरीरका लागि उचित खाद्यान्न हुँदै होइन भन्ने पुष्टि गर्‍यो। सूक्ष्म तहमा गरिएको ल्याब परीक्षण र अन्तर्देशीय श्रेणीमा गरिएको ‘मेगा स्टडी’ दुवैले मदिरा मानिसकालागि उचित छैन भन्ने देखाएपछि चिकित्सा क्षेत्रले मदिरा लाई विषादीको श्रेणीमा राख्यो।

रक्सीले कलेजो खराब पार्छ भन्ने आममानिसको बुझाइ देखिन्छ। तर मदिरा ले कलेजोमात्र मात्र होइन, शरीरका प्रत्येक अंगलाई जीर्ण बनाउँछ भन्छन् मेडिकल सिटी ट्रान्सप्लान्ट इन्स्टिच्युट डलास, टेक्सासका कलेजो प्रत्यारोपण विज्ञ डा. केभी नारायनन मेनन। त्यस्तै मदिरा नियमित सेवन गर्नाले व्यक्तिको पाचन प्रणालीका असल ब्याक्टेरिया नासिन्छन् भने खराब जीवाणुको संख्या बढ्छ। सुवानी जीवाणुले पाचन प्रणालीको सुधारमार्फत हामीलाई विभिन्न रोगबाट जोगाउनेमा त्यस्ता सूक्ष्माणु नासिँदा हामी रोगी हुन्छौँ। रक्सीकै कारण मुटुको चाल अनियमित बन्न पुग्नाले रोगी अन्ततः उच्च रक्तचापको सिकार बन्छ। प्रकाशित अन्य अनुसन्धानहरूले मदिरा सेवन मुख, घाँटी, कलेजो, स्तन, भोजन नलीलगायतका क्यान्सरको उत्पत्तिको जड देखायो। रक्सी बहुआयामिक रोगको खानी होभन्दा फरक नपर्ने देख्छ विज्ञान।

रक्सी उत्पादक कम्पनीहरूले घातक पेयको बिक्रीबाट अत्यधिक रकम कमाएका छन्। सरकार निर्माण र विघटनमा मदिराको लगानी विश्वव्यापी देखियो। तसर्थ, रक्सी विरुद्धको नियम बनाउने काम सहज छैन। त्यसैले विज्ञानले देखेका सबै परिणाम सरक्क नीति निर्माणको तहमा पुग्दैन। पारदर्शी मुलुकमा सरकार उत्तरदायी हुने भएकाले जनपक्षीय कानुन छिटो बन्छ भने अस्तव्यस्त राजनीति भएको देशका जनताले धेरै 
कष्ट बेहोर्नुपर्छ।

चार–पाँच दशकअघिको तथ्यांक हेर्ने हो भने धूमपान गर्नेको संख्या आकासिँदो थियो। चुरोट उत्पादक कम्पनीको ‘मार्केटिङ’ रणनीतिका कारण युवा पुस्तालाई धूमपानप्रति आकर्षित गथ्र्यो भने अम्मलीलाई सामाजिक प्रतिष्ठाको ढाडस दिन्थ्यो। विज्ञापनको चंगुलमा समाज फस्यो, धूमपान गर्नेको संख्या आकासियो। त्यसैबीच सन् १९४९मा मेडिकल रिसर्च काउन्सिल, बेलायतका अनुसन्धानकर्ता रिचर्ड होल र लन्डन स्कल अफ हाइजिनका ब्राडफोर्ड हिलले लन्डन अस्पतालमा भर्ना भएका फोक्सोका क्यान्सरका बिरामीको बहुआयामिक अध्ययन गरी महारोगको एक मात्र कारण धूमपान भएको पुष्टि गरे।

पछिल्ला दिनमा दसौँ लाख चुरोटका अम्मलीलाई केन्द्रमा राखी गरिएका दर्जनौँ अन्वेषणले धुवा र फोक्सोको क्यान्सरका बीच प्रत्यक्ष सम्बन्ध स्थापित गरे पनि चुरोट उत्पादकको प्रभावका कारण संसारले धूमपान विरोधी अभियानलाई तीव्रता दिन सकेको थिएन। त्यसैबीचमा गत साताझैँ सन् १९६४ मा अमेरिकाको तत्कालीन सर्जन जनरलले चुरोटका कारण फोक्सोको क्यान्सरलगायत विभिन्न किसिमका स्वासप्रस्वाससम्बन्धी रोग मात्र होइन, बरु मुटु रोगीको संख्या पनि उकासिएकाले तत्कालै केही नगरे अवस्था बिस्फोटक बन्न सक्ने चेतावनी दिए। प्रारम्भमा चुरोट कम्पनीको जोडबलमा वैज्ञानिकको आधारमा आएको चिकित्सकीय चेतावनीलाई निस्तेज पार्ने प्रयास नभएको होइन तर तथ्यांकले जित्यो। सरकार र विधायकाहरू सर्जन जेनरलको पंक्तिमा आउन बाध्य भए।

चुरोटको बट्टामा फोक्सोको क्यान्सरको कारक लेखियो भने रेडियो तथा टेलिभिजनमा चुरोटको विज्ञापन गर्न बन्देज भयो। सार्वजनिक स्थललाई धूमपानमुक्त इलाका मान्दै जनचेनतालाई तल्लो तप्कासम्म पुर्‍याइयो। अत्यधिक कर निर्धारण गरिएका कारण चुरोट महँगो भयो। यसरी धूमपानप्रति बहुआयामिक प्रहार भयो। चुरोटले हानि मात्र गर्ने तथ्यपरक सन्देश प्रवाह भएपछि चुरोटप्रतिको आकर्षण घट्यो। हालै प्रकाशित एक तथ्यांकले संयुक्त राज्य अमेरिकामा चुरोट पिउनेको संख्या ५० प्रतिशतले घटेको देखियो। 

वैज्ञानिक तथ्य र तथ्यांकका आधारमा एक जवाफदेही अधिकारीको सन्देशले अन्ततः काम गर्छ भन्ने सन्देश देखियो। सम्पन्न मुलुकले विपन्न मुलुकको राजनीतिमा मात्र प्रभाव पार्ने होइन बरु अन्य सबै पक्षलाई निर्देशित गर्ने भएकाले धूमपानमा अमेरिकी नीतिले विश्वभर प्रत्यक्ष र परोक्षरूपले प्रभाव पार्‍यो। संसारका अधिकांश देश अमेरिकी नीतिको अनुशरण गर्दै कर वृद्धि तथा अनुगमनमार्पmत चुरोटको प्रयोगलाई निस्तेज गर्न सफल भए। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालै सार्वजनिक गरेको तथ्यांकले सन् २००० मा ३३ प्रतिशत वयस्कले धूमपान गर्ने गरेकामा सन् २०२२ मा आइपुग्दा २० प्रतिशतमा झर्नुले चुरोट खानेको संख्यामा व्यापक कटौती भएको भन्छ नै। संसारका सबै देश एकजुट भएका कारण चुरोटको खपत घटाउन सफल भएझैँ विज्ञानको सन्देशलाई उपयुक्त व्यक्तिबाट उठान हुने हो भने रक्सीको बिक्री पनि ओरालो लाग्ने आकलन अस्वाभाविक होइन। 

के कस्तो प्रयासले धूमपानको वृद्धिलाई ब्रेक लगायो भनी उत्खनन गर्दा चुरोटको बट्टामा बडेमानको फोक्सोको तस्बिर अंकित अर्बुद रोगको सावधानी सूचना सबैभन्दा प्रभावकारी देखियो। प्रत्येकपल्ट चुरोटको खिल्ली निकाल्दा बट्टामा देखिने आकृतिले ग्लानि सिर्जना गरी अन्ततः अमल छोड्न पुग्नमा मनोवैज्ञानिक दबाबको भूमिका देखियो।

डब्लुएचओले सन् २०१८ मा सार्वजनिक गरेको सूचनाका अनुसार हालसम्म संसारका ४७ देशले रक्सीको बोतलमा मदिरा ले बिगार्ने स्वास्थ्यवस्था झल्कने सार्वजनिक सूचना जारी गर्ने प्रतिवद्धता जनाएका छन्। आयरल्याण्डले सन् २०२६ देखि लागु हुने गरी सबै किसिमका मदिरा का बोतलमा रक्सी सेवन क्यान्सरको कारक रहेको सन्देश दिने ‘स्टिकर’ टाँस्नुपर्ने कानुन ल्याएर आफ्ना जनतालाई विज्ञानको तथ्य बताउने संसारकै पहिलो देश बन्यो। जनसंख्यालाई सामान्यीकरण गर्दा नेपाल रक्सी खपत हुने मुलुकहरूको सिरानमा पर्छ।

मदिरा बिक्री अत्यधिक भएपछि मदिराले भित्र्याउने रोग अधिक हुनु अस्वाभाविक भएन। तसर्थ जनताको स्वास्थ्यलाई मध्यनजर राख्दै नेपालले पनि अविलम्ब रोकथामको उपाय अवलम्बन गर्नुपर्ने देखियो। चुरोटको बट्टामा बिग्रिएको फोक्सोको फोटो राख्दा देखिएको प्रभावकारिताको अनुकरण गर्दै रक्सीको भाँडोमा खतराको संकेत लाभप्रद् हुने देखियो। अत्यधिक करमार्पmत रक्सीको दाम उकासिँदा पनि खपत कम नहुने होइन। जनतालाई बोतलको भयानक पक्षको बारेमा बताउन सक्ने हो भने अम्मलीले बिस्तारै छोड्ने अनि पछिल्लो पुस्ताले मदिराको सुरुआत गर्ने सम्भाव्यता कम हुने भएकाले जनचेतना जगाउन सबैले हातेमालो गर्नु आवश्यक छ। 
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्। .

प्रकाशित: २३ पुस २०८१ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App