विचार

कहर होइन, बरदान हो कर्णाली

काठमाडौँ आमनेपालीको सपनाको शहर भएकामा शङ्कै छैन। हुन त विश्वका जुनसुकै मुलुकमा पनि राजधानीप्रति आकर्षण हुनु स्वाभाविक हो। तर तुलनात्मकरूपमा अन्य क्षेत्र एकदमै पिछडिएको सन्दर्भमा नेपालीले काठमाडौँप्रति रुचि देखाउनु सामान्य नै हो। काठमाडौँमा बर्सेनि बढ्दो जनघनत्व र कङ्क्रिटको चाङले पनि यो अवस्था पुष्टि गर्छ। मानव अधिकार तथा शान्ति बहालीमा योगदान गर्ने क्रममा मुलुक डुल्ने यात्रा जारी छ। यही अभियानमा पुग्दा यहाँबाट सोचिने, हेरिने र देखिने कर्णाली अनुभूत गर्न पाइयो। यस लेखमा उल्लिखित सामग्री त्यही कर्णालीमा देखिएका सम्भावनाहरूमा केन्द्रित छन।

कर्णाली दुःखको, पीडाको, दुर्गमको, अविकासको र अभावको पर्याय मानिन्छ अन्यत्रबाट हेर्दा। कुनै सरकारी कर्मचारीलाई यस क्षेत्रमा सरुवा गरेर पठाउँदा उसले यस्तो सरुवालाई ‘सजाय’ का रूपमा ग्रहण गर्नुले पनि कर्णालीप्रति आमनेपाली कस्तो धारणा राख्छन् भन्ने बुझ्न सघाउ पुग्छ। विशाल डाँडाहरू, अनगिन्ती पठारहरू, बाटोको चरम असुविधा, साँघु र विकासका आधारभूत आवश्यकतासमेत उपलब्ध नभएको अवस्था आदिले ती मानिसको यो सोचप्रति मलजल गरेको पाइन्छ। कतिपय अवस्थामा यस्ता सोचलाई बल दिने खबरहरू पनि निरन्तर सञ्चार माध्यममा आइरहेकै हुन्छन। त्यसैले यस्ता सोचप्रति नकारात्मक धारणा बनाइहाल्नुपर्ने पनि देखिन्न।  

तर मेरो कर्णाली भ्रमणले भने यो सोचलाई खारेज गरिदियो। कर्णाली प्रकृतिको त्यस्तो सुन्दर उपहार रहेछ जुन सायदै अन्त भेटिएला। यस भेगमा बग्ने स्वच्छ नदी र तालतलैयाले काठमाडौँका ढलमतीहरूलाई गिज्याइरहेका महसुस भयो। हेर्दैमा त यति सुन्दर यी नदीहरू विद्युत् निकाल्न प्रयोग भए भने तिनले राष्ट्रलाई कति गुन लगाउँदा हुन? क्षमताअनुसारको सिँचाइमा प्रयोग हुन सके भने खाद्य सुरक्षाको अवस्थालाई कति माथि पुर्‍याउलान? झरना धेरै मानिससँग देखिन सके भने तिनले कतिको मन जित्लान् र स्थानीयको आम्दानी वृद्धि गर्लान्? तालतलैयामा डुङ्गा, फुच्चे जहाज आदि विचरण गर्न पाए भने तिनले दिने आनन्द कति मजाको होला? यी यस्ता सम्भावना हुन् जसले कर्णालीलाई अभावै अभावको रास देख्नेहरूलाई गलत सावित गर्न सक्छन।

त्यति मात्र हैन, जडीबुटी यहाँको मुख्य सम्पत्ति हो। अहिले यस्ता जडीबुटी कि जंगल र पठारमै सडिरहेका छन् कि त ट्रकमा भारत लगेर पाकेटमा ट्याब्लेट बनेर भित्रिएका छन्। अनि हामी आफैँले हजारमा बेचेका जडीबुटीबाट बनेको औषधि लाखौँ तिरेर हामी आफैँ किन्न बाध्य छौँ। यदि यी जडीबुटीलाई यहीँ प्रशोधन गर्न सकियो वा यहीँका औषधि उद्योगले प्रशोधन गरेर प्रयोग गर्न सके भने हजारमा बेचिएका चिजको लाखौँ मुख्य पाइनेमा शंका छैन। जसले कर्णाली हुँदै सिंगो मुलुकको आर्थिक मे?दण्डको ग्राफ उभो लगाउनेमा एकरत्ति पनि शंका छैन।

कुनैबेला घोडा बेच्थ्यो कर्णाली, त्यो पनि भारतीयलाई। अनि समुद्रमा मोती टिप्ने चराको पनि व्यापार गथ्र्यो। टन्नै आउँथे यस्ता चरा किन्न भारतबाट। अहिले मार्सी चामल बेच्छ मलहरूमा राखेर। यहाँको स्याउले विदेशी स्याउलाई बिस्थापित गर्दैछ क्रमशः ओखर त यहाँको विशेष फल भइहाल्यो। सधैँजसो चिसो भइरहने यो क्षेत्रमा उत्पादित अनाजले धेरै जैविक तत्व खान पाएको हुन्छ, धेरै समय जमिनभित्रै बस्ने भएकाले। अर्थात पाक्न, फल्न धेरै समय लाग्ने भएकाले। यस्तो अनाज स्वादिलो मात्र हैन, पोषिलोसमेत हुने विभिन्न अध्ययनले पुष्टि गरेका छन्। त्यसैले यो वास्तविकतालाई बजारीकरण गर्न सकियो भने कर्णालीको भाग्य चम्काउने आधार बन्न सक्छ।

धेरैले ठान्ने गर्छन्, कोदोबाट कि ढिँडो बन्छ कि त रक्सी। तर कर्णालीका बासिन्दाले यो सोचाइलाई पनि गलत सावित गरिदिएका छन्। अब जमाना पहिलेको जस्तो ढिँडो र रक्सीमा सीमित छैन। अब कर्णालीको भिर पाखामा फल्ने कोदो नेपालीका मुखमा बिस्कुट बनेर उपस्थित हुन्छ। पाउरोटी र केकका रूपमा टेबलमा बस्छ। अनि ‘कोदोका आइटम’ बनेर मलहरूका सोकेस सजाइन्छन। त्यसैले पहिले जेलाई कुअन्न भनिन्थ्यो अहिले त्यही सुअन्न बनिरहेको छ। कर्णाली बदल्न ठूला ठूला मात्र हैन, यस्तै ससाना चिज पनि काफी छन् भन्ने प्रमाण हो यो।

कर्णालीको मुहार चम्काउने सामथ्र्य राख्ने केही पक्ष मात्र हुन् माथि उल्लिखित विषय। यस्ता थुप्रै आधार छन् जसले कर्णालीको काँचुली फेर्न सक्छन। तर विडम्बना, आज यी अपार सम्भावना कर्णालीको गर्भमै छन्। अपवादबाहेक यिनले आफ्नो खुबी प्रदर्शन गर्ने अवसर नै पाएनन। लामो समयदेखि केन्द्रीकृत शासन व्यवस्थाको छायाँमा प¥यो यो क्षेत्र। यतिखेर यस्तो शासन व्यवस्थाको क्रमभंग भएर मुलुक संघीयतामा रूपान्तरण भएको छ। तर पनि कर्णालीबासीले संघीयताको रसास्वादन गर्न पाएको भने प्रमाणहरूले पुष्टि गर्दैनन।

खासमा अब स्थानीय सरकारले धेरै काम गर्न सक्छ। कतिपय अवस्थामा प्रदेश र संघीय सरकारको पनि सहयोग चाहिन्छ नै, तर पनि स्थानीय सरकारले गर्न सक्ने सबै काम गर्न सकेको पाइन्न। स्थानीय सरकारका प्रतिनिधिहरू आफ्ना केही मानिसलाई जागिर ख्वाउने, केहीलाई ठेक्का दिलाउने र कसरी हुन्छ शक्ति प्रदर्शन गर्ने मामलाभन्दा माथि उठ्न सकेका  छैनन्। जसको मार सिंगो कर्णालीले खेप्नुपरेको छ। यो यस्तो मार हो जसले सम्पूर्ण कर्णालीबासीको भविष्य उज्ज्वल तुल्याइ राष्ट्रकै अर्थतन्त्रमा समेत पुर्‍याउन सक्ने योगदानमाथि धावा बोलिरहेको छ। त्यसैले ढुक्क भएर भन्न सकिन्छ कि सरकारको इच्छाशक्ति र स्थानीय बासिन्दाको होस्टेहैँसे मिल्ने हो भने कर्णाली कामधेनु गाई बन्न सक्छ। आखिर प्रयास गरे के हुँदैन?

प्रकाशित: ३ पुस २०८१ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App