विचार

मीनबहादुरको दान, स्वार्थको बझान

संस्कृतमा भगवत् भक्तिको नमुनाका रूपमा ‘त्वदीयं वस्तुगोविन्द तुभ्यमेव समर्पय’ अर्थात् तपाईँले दिएका वस्तु तपाईँलाई नै अर्पण गर्छु भनी अर्पण गरिएका सम्पूर्ण चिज आफ्ना नभई परमात्माकै भएकाले उनैलाई अर्पण गरिएको भन्ने भाव व्यक्त गर्ने गरिन्छ । यसको तात्पर्य पूजाको समयमा अर्पण गरिएका सम्पूर्ण वस्तु भगवान्कै कृपाबाट प्राप्त भएका र उनकै अंश श्रद्धास्वरूप उनलाई अर्पण गरिएको अभिव्यक्ति दिन खोजिएको हो। यसले अर्पण गर्ने व्यक्तिमा घमण्डको भावना सिर्जना नहोस् भन्ने कुरालाई ध्यान दिएको देखिन्छ।  

यहाँ चर्चा गर्न खोजिएको कुरा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले दान दिएको जग्गा र देशको एक प्रमुख दलले दान लिएको प्रसङ्गसँग सम्बन्धित छ। हुन त दाताले दिएपछि लिन हुन्छ यो सर्वमान्य सिद्धान्त पनि हो। स्वेच्छिक र निष्काम दानको महिमा प्रायः सबै धर्ममा छ। दानी भएकैले भर्खर मृत्युवरण गरेका रतन टाटा समाजकै लागि आदर्श र नमुना पुरुष मानिन्छन्। चाहे सत्काम होस् वा निष्काम दानका सन्दर्भमा दाताले योग्यम् योग्याय दातव्यम् अर्थात् जुन व्यक्तिका लागि जस्तो चिज दिनु उपयुक्त हो त्यो चिज दान दिनुपर्छ भन्ने कुरालाई हेक्का राख्नुपर्छ।

मदन, मनमोहन मात्र होइन, सिंगो कम्युनिस्ट पार्टीको दृष्टिकोण नै वर्गद्वन्द्वमा आधारित छ । मालिकले मजदूरलाई शोषण गर्छन् भन्ने कम्युनिस्ट सिद्धान्तको सर्वमान्य धारणा हो। नेपालका सन्दर्भमा ठूलो संख्याका गरिब जनता कम्युनिस्टका प्रिय बन्नुको कारण पनि गरिबका पक्षमा उरालिने गरेका यिनै नारा रहेका छन्। वामपन्थी विचारधारामा दलाल पुँजीवाद भनेर चर्काचर्का भाषण गरिन्छन्। अबुझ जनताले हो त नि दलाल धनीहरू खराब हुन्, पार्टी हाम्रो पक्षधर हो, वास्तवमा सर्वहाराकै पक्षधर हो भनी कम्युनिस्ट कार्यकर्ता बन्न थाल्छन्।  

कहिले पनि उत्पादनसँग नजोडिएका व्यक्तिहरू यिनै पार्टीका नेता बनेका हुन्छन् त्यहाँ कुनै विवाद रहेको हुँदैन तर उनीहरू जस्तै व्यक्तिहरू अन्य पार्टीमा गए भने बिचौलिया ठहरिन्छन् । वामपन्थी सोचमा यस प्रकारको दोहोरो भाष्यले काम गर्ने गरेको देखिन्छ। दलाल पुँजीवादको विरोधपूर्ण नारा अविकसित राष्ट्रमा लगाइने मुख्य नारा नै हो। वास्तवमा दलाल पुँजीवाद भनेकै प्रत्यक्ष उत्पादनमा संलग्न नभई उपभोक्ता र उत्पादकका बीचमा बसेर नाफा आर्जन गर्ने समूह हो। यसमा प्रत्यक्षरूपमा चर्को नाफा लिने व्यापारी वर्ग नै आउँछ।

कुरा रह्यो जग्गा दानको । स्रोत कस्तो छ भन्ने कुरामा दानको उद्देश्य वा मनसाय निर्धारण हुने गर्छ। त्यसो त हाम्रो देशका सबै राजनीतिक दल व्यापारीका स्वस्फूर्त वा ससर्त दान वा चन्दाबाट चलेका छन्। व्यापारीको चन्दाले चलेकैले आमसर्वसाधारणको भन्दा व्यापारीको हितलाई केन्द्रमा राखी नीति निर्माण गरिने गरेको आरोप लाग्दै आएको छ। चन्दादाता व्यापारीमध्ये केही कालो बजारीमा संलग्न भएका पनि छन्। 

विभिन्न स्रोतबाट उनीहरूका नराम्रा काम समय समयमा बाहिर आउने गरेका पनि छन् तर अहिलेका दाता सरकारी छानबिन समितिबाट ललिता निवासको सार्वजनिक जग्गा अपचलन काण्डमा दोषी ठहरिएका व्यक्ति हुन्। यति मात्र नभई विशेष अदालतबाट राजस्व चुहावट र छलीका मुद्दामा समेत दोषी करार भएका व्यक्ति हुन्। न्यायिक निकायबाट दोषी करार भएका व्यक्तिबाट प्रतिष्ठित राजनीतिक दलले दानका नाममा जग्गा लिनु स्वार्थको द्वन्द्व होइन भनेर पत्याउने कुनै आधार नै देखिँदैन। यसले त बरू सरकारी जग्गा कब्जा गर्ने दोषीबाट जग्गा दान लिने पार्टी स्वयं दोषी नै हो भन्ने कुरा स्पष्ट हुन्छ।  

अझ स्पष्टरूपमा के कुरा बुझिन्छ भने सरकारी जग्गा अपचलन गर्ने व्यक्तिले अमुक राजनीतिक दललाई जग्गा दान गर्छ भने सोही राजनीतिक दलकै आडमा उसले सरकारी जग्गा हडपेको कुरा प्रमाणित गरिरहनुपर्दैन।यसको तात्पर्य सम्बन्धित पार्टी र मिनबहादुर गुरुङका बीचमा पहिलेदेखि नै अघोषितरूपमा जग्गा हडप्ने विषयमा सहकार्य भएको रहेछ। यदि होइन भने अदालतले अपराधी करार गरिसकेको व्यक्तिबाट सम्बन्धित विषयकै दान दातव्यले पार्टी कार्यालय बनाउनुपर्ने अवस्था किन आयो?  

एक राजनीतिक दलले अर्को राजनीतिक दलसँग चुनावका बेलामा साँठगाँठ गर्दा र सत्ता साझेदारी गर्दासमेत विभिन्न शङ्काका रूपमा हेर्ने पार्टीका नेताहरू दोषी करार भइसकेका व्यक्तिबाट दानका नाममा ठूलो परिमाणको जग्गा ग्रहण गर्नुलाई स्वच्छ दान हो भनेर चित्त बुझाउन सक्ने अवस्था कहाँ रहन सक्छ?जो कोहीले पनि यस दानभित्र दुईवटा तथ्य सहजै भेटन सक्छन्– कि मिनबहादुर गुरुङसँग त्यस पार्टीको पहिलेदेखि नै साँठगाँठ थियो, पार्टीकै आडभरोसामा उनले जग्गा हत्याएका थिए ।

आज भागबण्डामा परेको भाग पार्टीलाई बुझाए। अथवा आपराधिक काममा संलग्न भइसकेकाले सजायबाट बच्न र सरकारीतवरबाट माफी वा मुल्तवीमा राख्न दललाई रिझाउन उनले जग्गा दानका नाममा लगानी गरेका छन्। जुन लगानीको प्रतिफल सत्तासीन पार्टीले नीतिगत भ्रष्टाचार गरी पूरा गरिदिनेछ। यसबाहेक अन्य गोप्य सम्झौता रहेछन् भने कि त मिनबहादुरलाई थाहा होला कि पार्टीको नेतृत्व गर्ने अध्यक्षलाई नै। तर यस दान प्रकरणसँगै पार्टीभित्रका इमानदार, नैतिकवान् र आदर्श व्यक्तिको मनोबल भने नराम्रोसँग गिरेको छ।

बिक्रेताले बेचेपछि क्रेताले किन्न हुन्छ, अनि दाताले दिएपछि ग्रहणकर्ताले ग्रहण गर्न पनि हुन्छ तर चोरी वा अवैध कार्यबाट आर्जित वस्तु किन्ने वा ग्रहण गर्ने व्यक्तिसमेत दोषी ठहर हुने कानुनी व्यवस्था छ। यसैले यो जग्गा दानको विषय नैतिक मात्र नभई कानुनीरूपमा समेत त्रुटिपूर्ण र दण्डभागी छ। यस्तो अवस्थामा सरकारी छानबिन समितिले दोषी करार गरेको मात्र नभई विशेष अदालतबाट समेत दोषी प्रमाणित गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको व्यक्तिबाट देशको ठूलो राजनीतिक दलले दान ग्रहण गर्छ भने यसले सम्बन्धित पार्टीको नैतिकता, इमानदारिता र कानुनको सम्मानका विषयमा ठूलो प्रश्न निर्माण गर्छ। होइन भने सर्वत्र दोषी प्रमाणित भएका व्यक्तिका लागि उनी जस्तै योग्य वा उनले आर्जन गरेको योग्य वस्तु दान दिने योग्य पात्र एमाले नै हो त? साँच्चिकै मिनबहादुरले ‘तुभ्यमेव समर्पय’ गरेका हुन्? पार्टीपंक्ति मात्र होइन, आमनागरिक यसको जवाफ मागिरहेका छन्।

प्रकाशित: ७ कार्तिक २०८१ ०७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App