सृष्टि प्रकृति र पुरुष ऊर्जाको समागम हो। भगवान् कृष्णले गीतामा उल्लेख गर्नुभएको छ–जो दिनेवाला छ त्यो नै प्रकृति हो र जो देखिनेवाला छ त्यो पनि प्रकृति नै हो। दिनेवाला प्रकृति सृष्टि अर्थात् नारी र देखिनेवाला प्रकृति पुरुष जसलाई पराप्रकृति शक्ति भनिन्छ।
नारी शक्तिलाई दुर्गा, लक्ष्मी र सरस्वतीको आयामबाट हेरिन्छ अनि पुरुष गुणलाई अविनाशी, अक्षर, अचल आत्मारूपी स्वभावमा हेरिन्छ। त्यसैले भनिन्छ–पुरुष र नारी प्रकृतिका एकै रूप हुन् सृष्टिका लागि। सृष्टिको सुरुवातदेखि नै नारी शक्तिलाई सम्मान र पुजन गर्दै आइएको छ। किनकि नारीलाई लैंगिकताको आधारमा मात्र होइन, सृष्टिको स्रोतका रूपमा हेरिएको छ। त्यसैले नवरात्रि पर्व दिव्यताकी स्रोत प्रकृतिरूपी देवीमा समर्पित छ।
दुर्गा, लक्ष्मी र सरस्वती नारीरूपी प्रकृतिका तीनवटा आयाम हुन्। जसले मानिसमा हुने तमस, रजस र सत्व अर्थात् अस्तित्वका तीन मूल गुणहरूलाई प्रतिनिधित्व गर्दछ। शरीर, मन र बुद्धि जो प्रकृतिद्वारा निर्मित छ उसमा यही तीन गुण समाविष्ट भएको हुन्छ। अज्ञानता तमस गुणको लक्षण हो भने रजस आशक्ति, लोभ, लालच, कामना र अपेक्षामा रहने गुण हो। सत्व गुण भनेको सत्यको नजिक रहने, सकारात्मक, करुणा, परोपकार, प्रेम र भक्तिको लक्षण हो। हामी कुन गुणमा रहेर व्यवहार गर्छौं र जीवनशैली अपनाउँछौँ त्यसअनुसारको गुणवत्ता हाम्रो परिचय बन्छ। नवदुर्गाको महत्व र देवी शक्तिको अन्तर्य पनि यही हामीमा भएका गुणहरूको सुमिरन गर्ने समय हो न कि मन्दिर मात्र गएर बाहिरी पूजा र अर्चना गर्नु अनि व्रत बस्नु र भोग लगाउनु।
जसलाई शक्ति, अमरता र आफ्नो क्षमता वृद्धिको इच्छा हुन्छ उनीहरूले देवी काली स्वरूपाको आराधना गर्दछन्। जसलाई तमस गुणभित्र मान्न सकिन्छ। जसलाई धन, सम्मान, जोश, उत्साह र भौतिक सफलताको इच्छा हुन्छ उनीहरूले लक्ष्मीरूपी देवी स्वरूपाको आराधना गर्दछन्। यो रजस गुणको परिचय पनि हो। जसलाई ज्ञान, ध्यान र बोधमार्फत नश्वरताको अनुभूतिमा जाने इच्छा हुन्छ उनीहरूले सरस्वतीरूपी देवी स्वरूपाको आराधना गर्दछन्। चन्द्रमारूपी प्रतीक सत्व गुणको परिचय यसबाट खुल्छ।
एकातिर नवरात्रि भरी नवदुर्गाको आराधना गर्ने र शक्तिपीठको दर्शन गर्ने प्रचलन छ भने अर्कोतिर उपवास बसेर देवी मातालाई खुसी बनाउने प्रचलन छ। उपासना र व्रतले देवीमाता खुसी हुनुहुन्छ भन्नेभन्दा पनि हाम्रो स्वास्थ्य र उपवासको समयमा हुने शान्त र सकारात्मक मन अनि सोचका लागि यो महत्वपूर्ण छ । हरेक धर्ममा व्रतले स्थान पाएको हुन्छ। हरेक आस्था, संस्कार, जातीयता र विश्वासअनुसार व्रतको महिमा छ। मुस्लिम धर्म मान्नेहरू रमादानको बेलामा एक महिनासम्म सूर्य उदाएदेखि नअस्ताएसम्म केही खाँदैनन्। अर्थात पूरा महिना रोजा (ब्रत) गर्छन्।
हिन्दु धर्ममा व्रत बस्ने अवसर धेरै नै छन्। एकादशीदेखि नवरात्रिको व्रत, विभिन्न पूजाआजामा, श्राद्धको अघिल्लो दिन एक छाक खाने, चन्द्र ग्रहण, सूर्य ग्रहण, विवाह, व्रतबन्धका बेलामा एक छाक मात्रै अन्न खाएर बसेको पनि व्रत नै हो। जीवन, धर्म र संस्कारको अभिन्न अंग बनेका छन् व्रत, उपासना र आराधना। व्रत लिनु अनुशासनमा बस्नु हो। पेटलाई केही समयका लागि आराम दिनु हो। व्रत बस्दा पानी पर्याप्त पिउनुको अर्थ शरीरमा भएका विषालु तत्त्व शरीर बाहिर निस्कन दिनु हो।
आजकल इन्टरमिटेन्ट फास्टिङको प्रचलन पनि बढेको छ। यसको अर्थ हो–सबैजना आफ्नो स्वास्थ्यप्रति सजग हुन् थालेका छन्। यही विषयलाई लिएर सन् २०१६ मा जापानी वैज्ञानिक ओशोनोरी ओशुमीले व्रत बस्दा अर्थात् इन्टरमिटेन्ट फास्टिङले शरीरमा कसरी विभिन्न प्रतिक्रिया भएर विषालु तत्वहरू निकाल्ने प्रक्रिया हुन्छ र यसले शरीर स्वस्थ राख्न मद्दत गर्छ भन्ने कुरा अनुसन्धानबाट देखाए र नोवेल पुरस्कार पनि पाए।
जुन कुराका लागि ती जापानी वैज्ञानिकले नोबेल पुरस्कार पाए, आज आएर हामी अनुभूति गर्न सक्छौँ हाम्रो सनातन धर्म र दर्शनले व्रतलाई किन महत्त्वको विषय बनाएको रहेछ र यसलाई निरन्तरता दिन र शरीर र मन स्वस्थ राख्न आहार, आचार र अनुशासनको महत्त्वलाई सम्झाएको रहेछ। शरीररूपी भगवानलाई शान्त, प्रेमल, स्वस्थ र आनन्दित राख्ने कला हाम्रो वैदिक सनातन धर्मका ग्रन्थ, पर्व र नियमले संकेत गरिरहेका छन्।
हामीले बुझेको र मान्दै आएको महान् चाड दसैँमा विशेषगरी दुर्गा शक्तिको आह्वान र उपासना गरिन्छ। नौ दिनसम्म नवदुर्गाको आराधना र उपासनापश्चात दसौँ दिन देवीको प्रसाद र आशीर्वादस्वरूप टीका र जमरा ग्रहण गरिन्छ। नकारात्मक शक्तिहरूलाई परास्त गरेर सकारात्मक ऊर्जा प्राप्त गर्ने अवसरका रूपमा पनि यो पर्वले महत्व राख्छ । तर सांकेतिकरूपमा देखिएको, जानिएको र बुझिएको दुर्गा शक्ति, देवीको तस्बिर, हातहरूमा हतियार अनि असुरलाई पैतालामुनि पारिएको जुन दृश्य तस्बिरमा देखाइएको हुन्छ त्यसलाई सिधै अर्थ लगाएर देवीले असुरहरूको हिंसा गरेको कुरा मात्र बुझ्यौँ भने हाम्रो ज्ञान अपूर्ण हुन जान्छ।
देवी, दुर्गा अर्थात् नारी शक्ति जसरी उल्लेख गरे पनि यी शक्तिले कुनै प्राणीको हिंसा गरेको नभइकन व्यक्तिभित्र रहेको काम, क्रोध, लोभ, मोह, इष्र्यारूपी असुर अर्थात् नकारात्मक शक्तिलाई परास्त गर्ने संकेत गरेको तथ्यलाई बुझ्नुपर्दछ। मानिसभित्रको कमजोरीपना, दुव्र्यवहार, घृणालगायतका नकारात्मक शक्तिलाई सिँचित गरेर राखिएका विकारहरूलाई परास्त गर्न दुर्गा शक्ति अर्थात् देवत्व शक्तिको जरुरत छ भनेर सन्देश दिन खोजिएको हो। प्रत्येक व्यक्तिभित्र रहेको देवत्वलाई जागृत गराउनु पनि नवदुर्गाको आराधनाको अर्थ रहेछ।
व्यक्तिको जीवनमा अराजकता, अन्योल, कमजोरीपना, भय, नैराश्यता जागृत भएका कारण प्रायजसो अस्थिरता र अन्सतोषमा जीवन गुज्रिरहेको भेटिन्छ। प्रत्येक व्यक्तिभित्र असुरको गुण मात्र छिपेको छैन देवत्वको स्वभाव पनि लुकेर बसेको छ भन्ने कुरालाई जागृत गराउनका लागि देवीहरूको, दुर्गा शक्तिको महिमालाई परम्परादेखि महत्वका साथ हेरिँदै आइएको हुनुपर्दछ।
दुर्गा शक्तिको आह्वानले जस्तासुकै सङ्कट र प्रतिकूल परिस्थितिहरू पनि सहज हुन्छन् र मानव जातिका लागि कल्याणको मार्ग खुल्छ भन्ने सतानत विश्वास रहिआएको छ। सनातन निरन्तर चलिरहेको, चलिरहने विश्वास हो। प्रयोग र विज्ञानले विश्वस्त पार्न नसकेका कतिपय धारणा, मान्यता र सत्यतालाई मानव विश्वासले युगौँसम्म टिकाएर राखेको हुन्छ।
प्रकाशित: २१ आश्विन २०८१ ०८:१४ सोमबार