विचार

हिरोसिमाको त्यो प्रलय

विश्व मानव इतिहासमा ६ र ९ अगस्ट सृष्टिकै सबैभन्दा त्रासदीपूर्ण दिन हुन्। यी दिनमा अमेरिकाले सुरुमा हिरोसिमा र त्यसको लगत्तै नागासाकीमा ‘लिटिल ब्वाइ’ र ‘फ्याट म्यान’ नामक दुई बम खसाल्यो। कुनै दुस्वप्न जस्तै क्षणभरमै ती शहर खरानीमा परिणत भए र लाखौँ मानिस एकै चिहान बने। विश्वले पहिलो पटक आणविक बम देख्यो। यो सृष्टिकै एउटा भयानक प्रलय थियो।

यो प्रहार हुँदाका दिनहरूसम्म जापान दोस्रो विश्वयुद्धले गलिसकेको थियो। आलोचकहरू बम खसाल्नुअगाडि नै जापान लगभग आत्मसमर्पण गर्ने अवस्थामा पुगिसकेको बताउँछन्। आखिर पराजित भइसकेको जापानमाथि किन यतिविघ्न कडा प्रहार गरियो ?

यो बम त्यतिबेला खसालिएको थियो जतिखेर सोभियत संघले याल्टा सम्मेलनमा आफ्ना सहयोगी अमेरिका र बेलायतसँग भएको सम्झौता शिरोपर गर्दै ९ अगस्त १९४५ देखि जापानविरुद्ध रणनीतिक आक्रमण सुरु गर्दै थियो। इतिहास साक्षी छ, सन् १९४५ को फेब्रुअरी ११ का दिन याल्टामा स्टालिनसँग रुजबेल्ट र चर्चिलले सोभियत संघले जापानविरुद्धको युद्धमा प्रवेश गर्ने र बदलामा सोभियतहरूलाई मन्चुरिया प्रभाव क्षेत्रका रूपमा प्रदान गरिने कुरामा सहमति जनाएका थिए।

पृष्ठभूमि

दोस्रो विश्वयुद्धको सुरुमा अमेरिका सहभागी थिएन। सन् १९३९ देखि सुरु भएको यो युद्धमा ऊ तमासेजस्तै थियो। विश्वयुद्धका दौरान ७ डिसेम्बर १९४१ मा जापानले पर्ल हार्बरमा अमेरिकी जहाजमाथि आक्रमण गर्‍यो। यो आक्रमणपछि ऊ पनि मारण–मरणमको यो समरमा तानियो । यो एक प्रकारले उसका लागि बाध्यता जस्तै थियो भने अर्कोतर्फ विश्वमा आफू महाशक्ति हुँ भन्ने देखाउने अवसर पनि बन्यो। अमेरिकी राष्ट्रपति फ्रयाङ्कलिन रुजबेल्टले त्यतिबेलै जापानसँग बदला लिने घोषणा गरेका थिए।

नागासाकी र हिरोसिमामा हमला हुनुभन्दा केही अघि मात्र सोभियत सेनाले रोमानिया, बुल्गेरिया, हंगेरी, युगोस्लाभिया, पोल्यान्ड, चेकोस्लोभाकिया, अस्ट्रिया, डेनमार्क, नर्वे आदि मुलुकलाई फासिवादबाट मुक्त गर्दै जर्मनीको केन्द्र बर्लिनमा विजयको झन्डा फहराएको थियो। यसका लागि उसले आफ्ना दुई करोड सत्तरी लाख वीरहरूको जीवनको मूल्य चुकाएको थियो। योसँगै कुनै बेला आफूलाई अजेय र अभेद्य ठान्ने जर्मनीले ८ मे १९४५ का दिन आत्मसमर्पण सन्धिमा हस्ताक्षर गर्‍यो र युरोपमा औपचारिक रूपमा दोस्रो विश्वयुद्ध समाप्त भयो।

दोस्रो विश्वयुद्धका दौरान औपचारिकतवरले सोभियत संघ, ब्रिटेन र अमेरिका हिटलर विरोधी गठबन्धनमा सामेल थिए। तर वास्तविकता यो पनि थियो कि सोभियत जनताले सबैभन्दा ठूलो मानवीय क्षति बेहोरेर पश्चिमा साझेदारहरूलाई पराजयबाट जोगाएका थिए। यो तथ्य ७ नोभेम्बर १९४१ का दिनको सोभियत नेता जोसेफ स्टालिनको भाषणबाट पनि उजागर हुन्छ। ४० को दशकका ती सुरुवाती दिनहरू जुनबेला जताततै पराजयले घेरेको थियो, नाजीहरू युरोप खर्लप्पै निलेर सोभियत भूभाग कब्जा गर्दै तीन महिनामै मस्को नजिक धावा बोल्न पुगेका थिए। जर्मन कमान्डरले १९४१ को नोभेम्बर ७ मा, जुन दिन अक्टोबर क्रान्ति दिवस पथ्र्यो, राजधानी मस्को कब्जा गर्नेे टाइफुन अपरेसन योजना बनाएको थियो।

यही दिन २४औँ अक्टोबर क्रान्तिको परेडमा जोसेफ भिसारियोनोभिच स्टालिनले रेड स्क्वायरबाट मस्कोको रक्षार्थ निस्केका सेनालाई आह्वान गर्दै भनेका थिए– ‘...कमरेड रेड आर्मीहरू.., सारा संसारले तपाईंहरूलार्ई नाजी आक्रमणकारीहरूको जमातलार्ई नष्ट गर्न सक्ने शक्तिका रूपमा हेरिरहेको छ। युरोपका पराजितहरू, जो जर्मन आक्रमणकारीहरूको जुवामा फसेका छन्, तपाईँहरूलाई आफ्नो मुक्तिदाताका रूपमा हेरिरहेका छन्। महान् मुक्तिको अभिभारा अब तपाईँहरूको काँधमा परेको छ। यो मिसनको योग्य बन्नुहोस्। तपाईँहरू जुन युद्ध लड्दै हुनुहुन्छ यो मुक्तिको युद्ध हो, न्यायपूर्ण युद्ध हो। हाम्रो महान् पुर्खाहरूको साहसिक छविले तपार्इँहरूलार्ई यस युद्धमा प्रेरित गरोस्...।’

दोस्रो विश्वयुद्धमा सोभियत संघ अमेरिकाको शत्रु नभई साझेदार थियो। तथापि मस्को र वासिङ्टनले एकअर्कालाई निगरानीमा राख्न छाडेका थिएनन्। उनीहरूबीच दशकौँदेखिका वैचारिक भिन्नता स्पष्ट थिए र यो सहकार्य बाध्यात्मक आइलागेको थियो। मई १९४२ मा सोभियत संघले गठबन्धन सहयोगी राष्ट्र बेलायत र अमेरिकालाई हिटलरविरुद्ध युरोपमा दोस्रो मोर्चा ‘पश्चिमी फ्रन्ट’ खोलिदिन आग्रह गरे। तर इङ्गल्यान्ड र संयुक्त राज्य अमेरिकाले रुसी आग्रहप्रति बेवास्ता देखाए। जानिफकारहरू यसलाई अमेरिका र ब्रिटेनले युद्धको मुख्य बोझ सोभियत संघलाई थोपर्न आलटाल गरेको भन्छन्। हुन त मस्को लडाइँमा सोभियतहरूको रणनीतिक विजय देखेर नै इङ्गल्यान्ड, संयुक्त राज्य अमेरिकाले हिटलर विरोधी गठबन्धन गर्ने घोषणा गरेका थिए।

उपरोक्त पृष्ठभूमिमा स्टालिनग्राद युद्धको रणनीतिक विजयदेखि सुरु भएको सोभियतहरूको सौर्य, पराक्रम र १९४५ को वसन्तसँगै स्थापित विजय कीर्तिमानको सुनिश्चितता देखेर अमेरिका र पश्चिमा राष्ट्रहरू झस्किनु ‘स्वाभाविक’ थियो। यसकै परिणति हुन सक्छ, जापानमा अमेरिकाको ‘अस्वाभाविक’ आक्रमण।

सृष्टिकै भयानक प्रहार

युरोपमा औपचारिकरूपमा दोस्रो विश्वयुद्ध समाप्त भए पनि एसियामा जापानले हार मानेको थिएन र लडाइँ गरिरहेको थियो। युद्धको उत्तराद्र्धमा कमजोर भइसकेको जापान अब लामो युद्ध लड्न सक्ने परिस्थितिमा थिएन। तर अमेरिकाले बदला लिने नियतसहित आक्रमण गर्दा मानव इतिहासकै सबैभन्दा क्रूर घटना हुन पुग्यो। जापानी आक्रमणमबाट पर्ल हार्बर घटनामा २३ सय जति अमेरिकी सैनिक मारिएका थिए। तर अमेरिकी परमाणु बम प्रहारपछि हिरोसिमा र नागासाकी शहर खरानी भएको थियो र झण्डै  दुई लाख १४ हजार मानिस मारिए।

आणविक प्लेग

सन् १९४५ को सेप्टेम्बर २ तारिखका दिन अस्ट्रेलियाली पत्रकार वेल्फ्रेड ब्रुसेट हिरोसिमा प्रवेश गर्ने पहिलो विदेशी पत्रकार बने। उनले हिरोसिमाबारे लेखेका ‘आणविक प्लेग’ बीसौँ शताब्दीकै चर्चित खबर बन्यो।

वेल्फ्रेड लेख्छन्– ‘...हिरोसिमामा आणविक बमले सहर नष्ट गरेको र संसार हल्लाएको तीस दिनपछि पनि मानिस मरिरहेका छन्, रहस्यात्मक र भयानकरूपमा। यी मानिस जो प्रलयबाट घाइते भएका थिएनन्, तर मरिरहेछन्, यसलाई म आणविक प्लेगका रूपमा मात्र वर्णन गर्छु । ....तपाईं जब हिरोसिमा पुग्नुहुन्छ, तपाईंले २५–३० माइल वरिपरि हेर्दा एउटा घरसमेत देख्न सक्नुहुन्न। मानिसले सिर्जना गरेको यस्तो विनाश देख्दा तपाईंलाई ऐँठन हुन्छ। ...हिरोसिमाका प्रहरी प्रमुखले मलाई शहरमा आइपुगेको पहिलो मित्र पत्रकारका रूपमा स्वागत गरे । र, उनले मलाई अस्पतालहरूमा पुर्‍याए जहाँ बमबाट पीडितहरूको अझै उपचार भैरहेको थियो। मैले ती अस्पतालमा बम खस्दा कुनै चोटपटक नलागेका मान्छे पनि भेटेँ, जो रहस्यमय तरिकाले मरिरहेका थिए।...बिना कुनै कारण उनीहरूको स्वास्थ्य खस्किँदै जान्छ। उनीहरूको भोक हराउँदै जान्छ। कपाल झर्न थाल्छ। शरीरमा निला टाटा देखा पर्न थाल्छन्। अनि कान, नाक र मुखबाट रगत बग्न सुरु हुन्छ... (केदार सिटौलाको अनुवादबाट)।

बमले उत्पन्न गरेको भयानक तापले सयौं मृतक यसरी जलेका थिए कि उनीहरू महिला हुन् कि पुरुष वा युवा हुन् कि वृद्ध भनेर एकिन गर्न सम्भव थिएन। ...विष्फोटको केन्द्र नजिक बसोबास गर्ने हजारौँको त कुनै सुराग नै भेटिएन्। ...रासायनिक प्रतिक्रियाका कारण पानी विषाक्त भैसकेको छ। र, अहिले पनि हिरोसिमामा खपत हुने हरेक थोपा पानी अरू शहरहरूबाट आउँछ...। यो मानिसले पहिलो पटक मानिसमाथि खसालेको आणविक बमको दुष्परिणाम थियो...।

बदला, धम्की र शक्ति प्रदर्शन

हिरोसिमामा आणविक बम खसाले पनि जापानले आत्मसमर्पण गरेको थिएन। त्यसको लगत्तै अमेरिकी राष्ट्रपति ह्यारी टुमनले जापानलाई आत्मसमर्पणका लागि आदेश दिँदै भनेका थिए– ‘अब पनि हाम्रो आदेश नमान्ने हो भने जापानका अन्य सहरमा हिरोसिमा जस्तै बर्बादीको वर्षा हुनेछ।’

नभन्दै अमेरिकाले पहिलो आणविक आक्रमणको तीन दिनपछि नागासाकीमा अर्को शक्तिशाली बिष्फोट गरायो र फेरि चेतावनी दियो। यसपटक भने जापानी सम्राट हिरोहितोले अमेरिकाको प्रस्ताव स्वीकारे। र, अन्ततः जापानले अगस्ट १४ मा आत्मसमर्पण गर्‍यो। अमेरिकाले सो आत्मसमर्पण समारोहको सूचना प्रवाह गर्न सयौँ पत्रकार निम्त्यायो। टुमनले भने– ‘हामीले पर्ल हार्बरपछि कुरिरहेको दिन आज हो ।’

यसको एक दिनपछि जापानी सम्राट हिरोहितोले रेडियोमा जापानलाई आत्मसमर्पण गराउनका लागि सबैभन्दा क्रूर बमको प्रयोग भएको बताए। उनले भने–‘हामीले युद्ध कायमै राखेको भए विश्व मानचित्रबाट जापान पूर्णरूपमा हराउने मात्रै थिएन, यसले मानव संस्कृति नै हराउने थियो।’ उता ब्रिटिस प्रधानमन्त्री क्लेमेन्ट एट्लीको भनाइ थियो– ‘हाम्रो अन्तिम शत्रुलाई आज घुँडा टेकाइएको छ।’ जापानको यो आत्मसमर्पणको खुसियालीमा ब्रिटेन, अमेरिका र अस्ट्रेलियामा दुई दिन बिदा नै दिइयो।

साझेदारी र शत्रुदारी

दोस्रो विश्वयुद्धमा ब्रिटेन, अमेरिका र सोभियत सङ्घ एउटै शत्रुविरुद्ध लडे। तर बीच–बीचमा एकापसी शंका जारी नै थियो। हिरोसिमा र नागासाकीको घटनापछि अमेरिकी पराक्रम आकासियो र मित्रखेमा गठबन्धन राष्ट्रहरूबीच संशयको स्पष्ट ध्रुवीकरण सुरु भयो।

सन् १९४९, अगस्टमा सोभियत संघले प्लुटोनियम बम परीक्षण गर्‍यो। यसपछि ऊ आणविक शक्ति सम्पन्न राष्ट्र बन्यो। यसले इतिहासको क्रम नै परिवर्तन गरिदियो। रुसलाई सघाएको आरोप लागेका वैज्ञानिक थियोडोर हलले नब्बेको दशकमा आएर मुख खोल्दै न्युयोर्क टाइम्सका पत्रकारलाई भनेका थिए–इतिहासको क्रममा परिवर्तन नभएको भए सम्भवतः त्यसले विगत पचास वर्षभित्र अनेक आणविक युद्ध भइसक्थ्यो। उदाहरणका लागि सन् १९४९–१९५० को सुरुमा चीनमा बम खस्न सक्थ्यो। यदि मैले त्यसो हुन नदिन सघाएको रहेछु भने मविरुद्ध लगाइएको आरोप स्वीकार गर्छु।

हुन पनि ७९ वर्षअघि हिरोसिमा र नागासाकीमा गरिएको बम आक्रमणपछि विश्वले अरू कुनै त्यस्तो आणविक आक्रमण भोग्न परेको छैन। र, त्यसो हुन नदिनुमा आफ्नो पनि भूमिका रहेको विश्वाससहित १९९९ नोभेम्बरमा वैज्ञानिक थियोडोर हलको मृत्यु भयो। यो एउटा कस्तो संयोग हो दोस्रो विश्वयुद्धपछि खडा भएका दुई विपरित सैन्य संगठनहरू अमेरिकी धुरीको नाटो र सोभियत नजिक वार्सा प्याक्टमध्ये जापानको निकटता सधैँ अमेरिकी धुरीसँग रह्यो।

संसारमा सबै शान्ति चाहन्छन्, सबै अमनचयन चाहन्छन्। त्यो सहिष्णुताबाट मात्र संभव छ। सहिष्णुता निरपेक्ष हुन सक्दैन्। त्यसले भिन्न भाषा, संस्कृति र रगंहरूबीच पारस्पारिक सम्मानको माग गर्दछ। कागजी हैन, वास्तविक सम्मानको। हाम्रो पुस्ता र अझ एक शताब्दीअघिको पुस्ता यसकारणले पनि भाग्यमानी हौँ र छौँ कि हामीले प्राकृतिक र रोगजन्य विपत्तिहरू देखे पनि युद्धजन्य विभीषिकाहरू भोग्नुपरेको छैन। र, त्यो देख्न नपरोस कहिल्यै पनि। 

प्रकाशित: २३ श्रावण २०८१ ०९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App