विचार

यसकारण गणितमा बढी फेल भए विद्यार्थी

गणित विषयमा गाह्रो प्रश्न बनाउन र गाह्रो प्रश्नसँग सम्बन्धित एकाइ पढाउने शिक्षक दक्ष र प्रभावशाली भइन्छ भन्ने मनोवृत्तिले गर्दा यस वर्ष सार्वजनिक गरिएको एसइईको परीक्षामा अन्य विषयका तुलनामा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्। गणित विषयले विद्यार्थीमा हरेक विषयबारे तार्किक, वस्तुगत तथा वैज्ञानिक ढङ्गले अध्ययन–विश्लेषण र मूल्याङ्कन गर्ने क्षमता विकास गराउँछ। विद्यार्थीमा खोज अनुसन्धान गर्ने सामथ्र्य पनि विकास गराउँछ। तसर्थ गणित विषय सम्पूर्ण ज्ञानविज्ञान तथा भौतिक समृद्धिको प्रस्थान विन्दु, माध्यम र आधारस्तम्भ हो।

विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रम तथा  पाठ्यपुस्तकहरू कार्यशालाबाट बन्नु पर्नेमा कार्यदलबाट बन्नु आफैँमा विडम्बनापूर्ण छ। त्यस्तै पाठ्क्रम कार्यान्वयनमा समस्या छ। शैक्षिक क्रियाकलाप तथा परियोजना कार्यका माध्यमबाट गणितलाई रसिलो, सरल, सहज र जीवनोपयोगी बनाउने मूल मर्मका साथ ल्याइएको आन्तरिक मूल्याङ्कन विधिको मर्मलाई बेवास्ता गर्दा यस्तो समस्या आएको छ। सरकारले केही समय पहिले ११ र १२ कक्षाबाट गणित विषय हटाउनेभन्दा गणितप्रेमीले नै भूमिका निर्वाह गरेपछि यो कायमै भएको हो।

परीक्षामा ४ लाख ६४ हजार ७८५ जना सहभागी भएकामध्ये १ लाख ७७ हजार ९८५ जना गणितमा फेल भएका छन्। यस्तो महत्त्वपूर्ण विषयमा अत्यधिक विद्यार्थी अनुत्तीर्ण हुनुका अनेक कारण छन्। यस्ता कारणमा गणित विषयको पाठ्यक्रम स्तर सुहाउँदो  नहुनु, विषयगत विशिष्ट उद्देश्य, सामान्य उद्देश्य र तहगत उद्देश्य अनुरूपका प्रश्नपत्र बन्न नसक्नु, तहगत विशिष्ट उद्देश्य प्राप्तिको मापदण्डका रूपमा स्तर सुहाउँदा प्रश्नपत्र नबनाइ हचुवाको भरमा प्रश्नपत्र बनाइनु, पठनपाठनमा संलग्न नभएका शिक्षकद्वारा प्रश्नपत्र बनाइनु, कार्यरत शिक्षकलाई प्रभावकारी शिक्षण विधिको तालिम तथा प्रशिक्षणको व्यवस्था नगरिनु मुख्य छन्।

धेरैजसो विद्यालयमा गणित विषयका दक्ष, अनुभवी र प्रशिक्षण प्राप्तशिक्षक/शिक्षिकाकै अभाव छ। न्यूनतम योग्यता प्राप्त नगरेका शिक्षकबाट गणित जस्तो गहन विषयको पठनपाठनको प्रत्यक्ष असर विद्यार्थीको सिकाइ बुझाइमा पर्ने गर्छ। यही ऋणात्मक अवस्था पनि अहिलेको असफलताको मूलकारण मध्येको एउटा हो।

यस्तै खुला प्रतिस्पर्धाबाट योग्य शिक्षक नछानी पहुँचका भरमा शिक्षक राख्ने विगतको अभ्यास रहिआएको हो। यसको सोझो असर कक्षाकोठाको पठनपाठनमा पर्ने गर्छ। जबसम्म योग्य शिक्षक/शिक्षिकाबाट प्रभावकारी शिक्षण हुँदैन तबसम्म कुनै पनि विषयको परीक्षामा परिणाम यस्तै हुने गर्छ।

त्यसैले जीवननिर्माणको कलिलो उमेरका ससाना छात्रछात्रामा विषयगत सुदृढ जग निर्माणमा योग्य शिक्षकलाई पठनपाठनमा संलग्न बनाउनुपर्छ भन्ने कुराको स्पष्ट सङ्केत यो नतिजाले देखाएको छ।

पाठ्यक्रममा अनेक समस्या छन्। गम्भीर छलफल, बहस र चिन्तनमार्फत ति समस्यालाई पन्छाएर परिमार्जित पाठ्यक्रम निर्माण गर्नु अनिवार्य छ। सोही अनुरूप पाठ्पुस्तकहरू आधिकारिक संस्थाबाट लेखिनु वा लेखाइनु जरुरी छ।

विद्यालयहरूले पाठ्यक्रमको उद्देश्यसँग मेल नखाने गरी लेखिएका पुस्तकहरूलाई पनि पाठ्यपुस्तक भनी तथा नामका पुस्तकको बोझ विद्यार्थीमाथि लाद्ने प्रवृत्ति भयानक तवरले फैलँदो छ। फरक फरक विद्यालयमा फरकफरक पाठ्यपुस्तक पढाइन्छ। यसले पनि नतिजा अपेक्षाभन्दा भिन्न हुने गरेको हो।

गणितमा सबैभन्दा धेरै फेल भएपनि सबैभन्दा धेरै विद्यार्थीले यही विषयमा ए प्लस अंक ल्याएका छन्। गणितमा १९ हजार ७३६ जनाले ए प्लस ल्याएका हुन्। सबैभन्दा धेरै फेल हुने विषयमा नै विद्यार्थीले सबैभन्दा राम्रो अंक ल्याएका छन्। यसरी हेर्दा देखिन्छ कि गणित विषय गाह्रो भएर मात्रै धेरै विद्यार्थी फेल भएका होइनन्। यसको आफ्नै विशेषता भएका कारण पनि यो विषयमा विद्यार्थी फेल भएका हुन सक्छन्। यहाँ धेरै कारण छन। मूल्याङ्कन परिपाटीमा अकल्पनीय दुःखद अभ्यास भइरहेका छन्। २५ प्रतिशत अङ्क बराबरको मूल्याङ्कन विद्यालयबाट हुने गरेको छ। यो प्रक्रिया वस्तुपरक हुन सकेको छैन। अनेक स्वार्थ र प्रभावबाट यो प्रक्रिया प्रभावित छ।

ज्यादै कमजोर विद्यार्थीको सामथ्र्य विकास गर्नुभन्दा बढी अङ्क दिएर चित्त बुझाउने प्रवृत्ति तितो यथार्थ हो। त्यसबाट विद्यार्थी तथा अभिभावक तत्कालका लागि सन्तुष्ट त हुन्छन् तर उनीहरूको दीर्घकालीन हुँदैन। त्यसकै परिणाम पनि हो यो परीक्षाफल। तसर्थ विद्यालयहरूले आन्तरिक मूल्याङ्कन परिपाटीलाई सही रीतले गरे/नगरेको अनुगमन सम्बद्ध पक्षबाट नभएसम्म यो नतिजाको आवृत्ति पटक–पटक हुँदै जानेछ। त्यसो हुनाले गणित मात्र होइन, अन्य विषयमा पनि यस्तै जटिलतम समस्याले जरो गाडेका छन्। तसर्थ गणित जस्तो ज्ञानविज्ञान तथा भौतिक समृद्धिको प्रस्थान विन्दु, माध्यम र आधारस्तम्भलाई झन् हल्कारूपमा लिनु नै दुर्भाग्यपूर्ण बनेको छ। यस्तो स्थिति हरेक वर्ष आवृत्ति भइरहेको छ।

परीक्षाफल प्रकाशित भएको दिन र त्यसको भोलिपल्टसम्म यस्ता विषयमा व्यक्तिगत रूपमा चासो र चिन्ता व्यक्त गरिन्छ। तर राज्यपक्षबाट सफलता र असफलताको जिम्मेवारी लिने र अफलताको आवृत्ति हुने छैन भन्ने प्रण चाहिँ गरिँदैन। शिक्षा क्षेत्रको लगाम सम्हाल्ने संघ/संस्था र नेतृत्वमा स्पष्ट दृष्टिकोण र सेवाभावको अभाव सधैं खड्किएको छ। यसको दुर्भाग्यपूर्ण अवस्थाको सिकार कलिला छात्रछात्रा भएका छन्।

समस्याको समाधान राज्यशक्तिको सङ्कल्प शक्तिमा निर्भर छ। शैक्षिक दृष्टिले राज्यलाई कहाँ पुर्‍याउने हो भन्नेमा स्पष्ट भएपछि मात्र गन्तव्यमा पुग्ने रीति, विधि र दिशा स्पष्ट हुँदै जान्छ। त्यसैले नेपालको शिक्षा क्षेत्रलाई उज्ज्वल भविष्य निर्माणको प्रकाशपुञ्ज बनाउने हो भने सम्बद्ध निकायको नेतृत्वको सेवाभाव, इमान्दारी र स्पष्ट दृष्टिकोणको दीपज्योति प्रदीप्त हुनै पर्छ।

-काफ्ले त्रिवि गणित केन्द्रीय विभागका उपप्राध्यापक हुन्।  

प्रकाशित: २१ असार २०८१ ०५:११ शुक्रबार

#Difficult question on maths subject #School and university curricula and textbooks