विचार

रिसको व्यवस्थापन

जो पनि रिसाउँछन्। जसलाई पनि रिस उठ्छ। भनेजस्तो भएन त रिस उठिहाल्छ। रिस नउठ्ने मानिसै हुँदैन। समाजमा बसेपछि व्यवहारिक हुनुपर्छ। व्यवहारिक बन्ने क्रममा सबै आफँैले चिताएजस्तो हुँदैन। आफूले चिताएजस्तो नहुनेबित्तिकै रिस उठिहाल्छ। थुप्रै व्यक्तिहरुलाई विभिन्न कारणबाट रिस उठ्छ।
मानिस रिसाउने अनगिन्ती कारण हुन्छन्। रिसाउनु प्राकृतिक गुण हो। यो एक संवेग हो। संवेग हाम्रो जीवनको भावात्मक पक्षसँग सम्बन्धित हुन्छ। हामी कहिले खुसी, कहिले दुःखी, कहिले त्रु्कद्ध, कहिले भयग्रस्त, कहिले प्रेममय, कहिले करुणामय हुन्छौं। हाम्रा यिनै अवस्थालाई सवेग भनिन्छ। प्रसिद्धमनोविद पी.टी. युंङले ‘इमोसन इन मेन एन्ड एनिमल्स'मा संवेगलाई परिभाषित गरेका छन्। उनका अनुसार संवेग (रिस) ले व्यक्तिलाई सम्पूर्णरूपमा प्रभावित पार्छ। संवेगबाट एक प्रकारको व्यवहारको उत्पत्ति हुन्छ। संवेगबाट त्यस व्यवहारको चेतन अनुभूति हुन्छ। संवेगमा अन्तरावयव क्रिया हुन्छन्।

युंङले संवेगलाई तीव्र उपद्रोको अवस्था हो भने पनि अन्य मनोविदहरू उनीसँग सहमत छैनन्। वास्तवमा पूर्ण मनोवैज्ञानिक अवस्थाको सम्मिश्रणात्मक उपज हो। यो भावात्मक प्रक्रिया हो। यसको उत्पत्ति कुनैपनि परिस्थितिको प्रत्यक्षीकरण, स्मरण वा कल्पनाबाट हुन्छ। फलस्वरुप मानिसमा विभिन्न प्रक्रिया हुन्छन्।
संवेग अर्थात रिसलाई नियन्त्रण गर्न नसकेर नै खेलाडी, रेफ्री, दर्शक, व्यवस्थापककाबीच कुटाकुट हुन्छ। स्टेडियमभित्र विस्फोटक पदार्थ फ्यालिन्छन्। र कतिको त ज्यानै जान्छ।

संवेग अर्थात् रिसलाई मानिसले तीन प्रकारले अभिव्यक्त गर्छन्। पहिलो, स्वरागत अभिव्यक्ति। रिसाएको व्यक्तिले तथानाम गाली गर्छ। उड्वर्थले लेखेका छन् अनुहारभन्दा स्वरबाट मानिसले बढी क्रियात्मक अभिव्यक्ति गर्छ। ठूलो स्वर, कम्पित स्वर, मसिनो स्वरको गतिबाट रिसको चिनारी बन्छ। दोस्रो मुखाकृति। भनिन्छ, अनुहार मुखको दर्पण हो। रिसको अवस्थामा अनुहारमा परिवर्तन हुन्छ। डार्विनले पनि मानसिक स्थितिअनुसार अनुहार बदलिन्छ भनेका छन्। रिसाएको अवस्थामा आँखा, मुख रातो हुन्छ, निधारमा बल पर्छ, ओठ, दाँत दबाइन्छ यस्तो अवस्थामा रक्तचाप बढिरहेको हुन्छ, सास पनि बढेको हुन्छ। तेस्रो हो, मुद्रागत अभिव्यक्ति।

रिसाएको बेलामा हातमा रड, तरबार, खुकुरी, बोतलका सिसी, बन्दुक, बम जेजे छन् ती सबै मुद्रागत अभिव्यक्तिका अवसरमा प्रयोग हुनसक्छ। रिसाएका व्यक्तिका हातमा केही पनि छैन भने बाटोमा भएका फलामे रेलिङ्ग, टेलिफोनका बुथ, ट्राफिक आइल्यान्डमा भएका मूर्ति, बगैँचाहरु इट्टा, ढुङ्गा, जेजे छन् ती सबै प्रयोग हुन्छन्। आन्दोलनमा मुद्रागत एवं स्वरागत अभिव्यक्तिको प्रयोग बढी हुन्छ।

रिसलाई व्यवस्थापन गर्न जान्नुपर्छ। रिस उठेको छ भने चूप लागेर बस्ने, सुत्ने वा डुल्न जाने गर्दाप केही क्षणका लागि साम्य हुन्छ। तर यसको स्थायी निराकरण गर्नको लागि केमा किन रिस उठेको हो त्यसको विश्लेषण गर्नुपर्छ। योग, प्राणायम, ध्यान गरेर नियन्त्रण गर्ने विधि पनि सिकाइन्छ। तर रोगको मूल निदान रिसको कारणलाई डिफ्यूज गर्नुपर्छ। मूल कारण डिफ्यूज नभए योग प्राणायाम ध्यान गरुन्जेल रिस हराउँछ तरे कारक तत्व सम्झने बित्तिकै उर्लेर आउँछ। यसैले रिसलाई व्यवस्थापन गर्न मूल कारक तत्व पत्ता लगाएर डिफ्युज गर्नुपर्छ।

टुंगो लगाउन नसकिने झगडामा उठ्ने रिस व्यवस्थापन गर्न धेरै कसरत गर्नुपर्छ। धेरै परामर्श गर्नुपर्छ। धेरै पटक ध्यान शिविर, योग, प्राणायाम गरेर संयम अपनाउन सिक्नुपर्छ। कुनै न कुनै पक्ष संयमित भए मात्र रिस साम्य पार्न सकिन्छ।

तसर्थ रिस अर्थात संवेगमा अन्तःस्रावी ग्रन्थीमा पनि परिवर्तन हुन्छ। एड्रेनल ग्रन्थीबाट एड्रेनिन उत्पन्न हुन्छ। कलेजो उत्तेजित हुन्छ। रगतम चिनीको मात्रा बढ्छ। रगतमा चीनीको मात्रका बढेर मानिस बढी शक्तिशाली र उत्तेजित हुनपुग्छ। कल्पना गर्दापनि पुग्न नसक्ने अवस्थामा मानिसलाई रिसले पुर्‍याउँछ। यसबाट भयावह स्थिति उत्पन्न हुनसक्छ। यसैले रिसको व्यवस्थापन गर्न मनोविज्ञहरूले व्यवस्थापन परामर्श शिविर संचालन गर्छन्। रिसको व्यवस्थापन गरौँ।

प्रकाशित: १८ जेष्ठ २०६७ २२:४५ मंगलबार