विचार

कञ्चनपुरको सन्देश

तीनचोटि लगातार जनप्रतिनिधि भएका कांग्रेस नेता रमेश लेखक यसपालि पराजित हुनुमा मुख्य कारण त वाम एकता नै हो । २०६४ को प्रत्यक्षतर्फको निर्वाचन तत्कालीन एकीकृत नेकपा माओवादीले जित्दा पनि पूरै जिल्लामा दोस्रो स्थानमा आएको थियो कांग्रेस । कञ्चनपुरमा रमेश लेखक, नारायणप्रकाश साउँद तथा शेरबहादुर देउवाले चुनाव लडेको र उनीहरूले कञ्चनपुरलाई आफ्नो ठाउँ मान्ने कारणले पनि सधैँ बलियो संगठनका रूपमा रहँदै आएको छ । यस क्षेत्रमा कांग्रेसले चुनाव जित्दा सधैँभरि दोधारा र चाँदनी (हाल महाकाली नपा) को भरपर्दो साथ रहँदै आयो । तर टिकट वितरण तथा पार्टीभित्रको कलहका कारण महाकाली नगरपालिकाका पुराना कांग्रेस नेता मानबहादुर सुनार माओवादी केन्द्रमा आउनु र सुनारले गठबन्धनका तर्फबाट प्रदेश सभाको चुनाव लड्नु लेखकको हारको अर्को कारण बन्न पुग्यो । महाकाली नगरपालिकाबाट १५ सय देखि दुई हजारको अग्रता आउने योजना बनाएका लेखकले दुई सय जतिको मात्र अग्रता लिए ।
कुनै अमुक पार्टी वा व्यक्तिले चुनाव हारे म राजनीति छोडिदिन्छु भन्ने प्रवृत्ति यो चुनावताका निकै देखियो । यसो भन्नुको मतलब आफूभन्दा विपक्षी उम्मेदवार र पार्टीलाई कमजोर आँकलन गर्ने मनोवृत्ति हो । रमेश लेखकलाई टक्कर दिने उम्मेदवार नै छैन भन्ने हल्ला चलाइयो र कांग्रेसजनले त्यही हल्लालाई आफ्नो जितको कारण सम्झिइरहे । यता वाम गठबन्धनले बौद्धिक क्षमता पनि भएका, सेना समायोजन समिति तथा परराष्ट्र नीति पुनरवलोेकन समितिमा पनि रही काम गर्दै आएका र एमालेको नेतृत्वपंक्तिमा नाम स्थापित गरेका दीपकप्रकाश भट्टलाई उठायो ।
पार्टीका आधिकारिक उम्मेदवार र नागरिकबीच सम्बन्ध स्थापित गराउने पार्टीपंक्तिको मध्यम लाइनमा भएका कार्यकर्ताहरूको भूमिका यस हार र जितमा महत्वपूर्ण छ । छोटो समयमा निर्वाचनका कार्यक्रम तय हुनु, उम्मेदवारहरूको हरेक मतदातासँग भेटघाट गर्ने समय नहुनु र पार्टीका कार्यकर्ताहरूमार्फत चुनावी सन्देशहरू पु¥याउनु र त्यसैमा विश्वस्त रहनु धेरै नेताहरूका लागि घातक सिद्ध भएको छ । व्यापक रूपमा मिडियामा आएका कुराहरूलाई आधार मान्ने हो भने मतदातालाई उम्मेदवारले सहयोगस्वरूप दिन खोजेको पैसा पनि बीचमा रहेको कार्यकर्तासम्म मात्रै पुगेको देखिन्छ । ती बिचौलियाको प्रतिवेदनले सबै मतदाता हाम्रा पक्षमा आइसके भने तर मतदाता र उम्मेदवारबीच भेटघाट नै हुन सकेन । महेन्द्रनगरको प्रख्यात होटल ओपेरामा मतदाताको नाममा महिनाँै मीठो मसिनो खाँदै डेरा जमाएका कार्यकर्ताहरूका लागि सुखद नै रहेको हुनुपर्छ, यो एक महिना तर लेखकका लागि घातक भयो ।
कञ्चनपुरको राजनीतिमा क्षेत्रीयताले पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । विगतका आम तथा स्थानीय चुनावहरू, बस व्यवसायी, उद्योग व्यवसायी आदिका चुनावमा पनि खास गरी बैतडीबाट बसाइँ सरी आएका र डँडेल्धुराबाट बसाइँ सरी आएका बीच मत बाँडिने स्थिति छ । क्षेत्रीय भावनाले बढी प्रभावित भएका उदाहरण छन् । यसपटक दुवै उम्मेदवार बैतडीबाट बसाइँ सरेका हँुदा विगतमा जस्तो बैतडी र डँडेल्धुरा भन्ने सेन्टिमेन्टले त्यति काम नगरे पनि दुई जनाबीचको नजिकको नाताका कारण आफन्तहरू पनि बाँडिए । दार्चुलाबाट बसाइँ सरी आएकाहरूको सेन्टिमेन्ट भट्टले पाएको कुरा लेखक पक्षले चाल पाएन ।
पुख्र्यौली पेसा लेखनदास भएको परिवारका सदस्य कानुन व्यवसायी रमेश लेखकले कमजोर व्यवस्थापन, आफू कहिल्यै नहार्ने उम्मेदवार हो भन्ने दम्भ, विगत १८ वर्षदेखि सो क्षेत्रको प्रतिनिधि भएर नागरिकलाई देखाउन मिल्ने ठोस विकास निर्माणको काम नगरेकाले पराजय बेहोरे । मतदातालाई चिन्न नसक्दा तेस्रो पटक जित्ने तमसुक आफ्ना नाममा लेख्न सकेनन् र उदाए दीपकप्रकाश भट्ट ।

प्रकाशित: ११ पुस २०७४ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App