राष्ट्रिय जनगणना २०७८ ले अक्सर विदेशमा बसोबास गर्ने नेपालीको सङ्ख्या २१ लाख ९० हजार ५ सय ९२ जना उल्लेख गरेको छ। १० वर्षअघिको जनगणनामा यो सङ्ख्या १९ लाख २१ हजार ४ सय ९४ थियो। यो तथ्याङ्क हेर्दा १० वर्षमा विदेशमा बस्ने नेपालीको सङ्ख्या २लाख ६९ हजार ९८ जना बढे। यसरी हेर्दा विदेशिने नेपाली प्रतिवर्ष २६ हजार ९ सय ९, प्रतिमहिना २ हजार २ सय ४२ र प्रतिदिन ७४ जना देखिन्छ।
अलापिएको राग
‘काम गर्ने जनशक्ति विदेशिए। गाउँहरू रित्तिएकाले किसानी कर्म थला प¥यो। यही कारण खाने अनाज जति भारतलगायतका मुलुकबाट ल्याउनु प¥यो’– अहिले धेरै सर्वसाधारणदेखि विद्वान्सम्मले गर्ने गरेका विलाप यही हो। यति मात्र हैन, अहिले त जेसुकै बिग्रे/भत्के पनि त्यसको कारण अन्ततः ‘सबै वैदेशिक रोजगारीमा गएकाले हो’ भन्ने बनिबनाउ निष्कर्ष निकाल्न थालिएको छ।
के गाउँहरू रित्तिएका मानिस विदेश गएरै हो त? केही तथ्याङ्क हेरौँ। तेहृथुममा १० वर्षअघि १ लाख १ हजार ५ सय ७७ जना थिए। अहिले यो सङ्ख्या घटेर ८८ हजार ५ सय ७७ मा ओर्लेको छ। यसरी हेर्दा यो जिल्लामा १२ हजार ८ सय ४६ जना घटे। तर यो जिल्लाबाट विदेश गएकाको सङ्ख्या भने मात्र ५ हजार ७ सय ७२ छ। जिल्लामा पनि नरहेका विदेश पनि नगएका ७ हजार ७४ जना खोइ त?
त्यसैगरी सिन्धुपाल्चोकमा १० वर्षअघि २ लाख ८७ हजार ७ सय ९८ जना रहेकामा अहिले २ लाख ६२ हजार ६ सय २४ जना मात्र छन्। अर्थात् यो जिल्लामा १० वर्षअघिभन्दा अहिले २५ हजार १ सय ७४ जना घटे। जबकि यस जिल्लाबाट विदेश गएकाको सङ्ख्या मात्र १७ हजार ५ सय ३२ छ। ७ हजार ६ सय ४२ जना खोइ त?
कुन देशमा काम गर्न गयो, जानुहुन्थ्यो कि हुन्नथ्यो भन्ने विषय महत्वको हुँदै होइन। मुख्य चुरो त्यहाँ प्राप्त सिप र पुँजी आफ्नो मुलुकमा, त्यो पनि सही ठाउँमा प्रयोग भयो कि भएन भन्ने हो।
राष्ट्रिय जनगणना २०७८ ले यी जिल्लासमेत ३४ वटामा जनसङ्ख्या घटेको उल्लेख गरेको छ। तर यसरी घटेको जनसङ्ख्यालाई ‘सबै विदेश गएकाले’ भनिँदै आएको छ। माथि उल्लिखित दुई वटा जिल्लाको तथ्याङ्क नै काफी छ कि गाउँ र जिल्ला रित्तिन थालेका वैदेशिक रोजगारीप्रतिको मोहले मात्र होइन्। नेताहरू सहरमै रमाउन थालेपछि गाउँ बिर्से। जिल्ला बिर्से। उनीहरूले बिर्सेसँगै यी ठाउँ विकासका सबैखाले अवसरबाट वञ्चित भए। त्यसैले बस्न लायक भएन। फलस्वरूप मानिस सहर र सुगम ठाउँमा बसाइ सरे।
२०२८ सालमा नेपालको कुल जनसङ्ख्याको ४ प्रतिशत मात्रै सहरमा बस्थे भने यो प्रतिशत २०६८ मा १७ मा उक्ल्यो। अहिले आएर ६६.०८ पुगेको छ। यसरी हेर्दा गाउँबाट तीव्ररूपमा सहर र तुलनात्मकरूपमा सहरमा बस्नेहरू वृद्धि भइरहेका छन्। त्यसैले गाउँ र जिल्ला रित्तिएका वैदेशिक रोजगारमा जानेहरूले गर्दा मात्र हैन अर्थात अहिलेकै ‘विकास मोडेल’ जारी रहने हो भने वैदेशिक रोजगारीमा पूर्णतः प्रतिबन्ध लगाए पनि गाउँ रित्तिन छाड्ने छैनन्। तर यो पाटोप्रति विमर्श छिर्नै सकेको छैन।
के विदेशिनु अभिशाप हो?
संयुक्त राष्ट्र सङ्घको एक तथ्याङ्कअनुसार विश्वभर प्रवासी कामदारको सङ्ख्या १५ करोडभन्दा बढी छ। विश्व ब्याङ्कले सन् २०१६ मा आप्रवासी कामदारहरूले आफ्नो मुलुकमा रेमिट्यान्सबापत ४२९ डलर भन्दा बढी पठाएका उल्लेख गरेको छ जुन रकम यी देशलाई धनी राष्ट्रहरूले उपलब्ध गराएका सहयोगको ३ गुणा बढी हो।
जर्मनीमा काम गर्न गएर फर्केका टर्कीका नागरिकमध्ये ५१ प्रतिशतले आफ्नै व्यवसाय स्थापना गरेका थिए। त्यसैगरी ताइवानस्थित सिन्चु इन्डस्ट्रियल पार्कमा रहेकामध्ये आधाजसो ऊर्जा कम्पनीहरू अमेरिकाबाट फर्केकाले स्थापना गरेका थिए। यसरी विदेशबाट फर्केकाले आफ्नो मुलुकमा गरेका लगानीले मुलुकको अर्थतन्त्रमा कायापलट भएका उदाहरण पनि पढ्न पाइन्छ।
नेपालकै कुरा गर्ने हो भने पछिल्लो १४ वर्षमा ८४ खर्ब ६६ अर्ब रुपियाँ रेमिट्यान्सका रूपमा भित्रिएको छ।
रोजगार बोर्डको सचिवालयका अनुसार पछिल्लो पाँच आर्थिक वर्षमा मात्र करिब ५० खर्ब रुपियाँ रेमिट्यान्स भित्रियो। के यो नेपालका लागि चानचुने पैसा हो ? आज प्रत्येक नेपालीको समृद्धिको ग्राफ उक्ल्याउन यो तथ्याङ्क मूल आधार बनेको छैन ? यो रकम छोपिदिएर एकछिन सोचौँ त, योबिना नेपालीको स्थिति के हुन्थ्यो?
त्यसैले कुन देशमा काम गर्न गयो, जानहुन्थ्यो कि हुन्नथ्यो भन्ने विषय महत्वको हुँदै होइन। मुख्य चुरो कुरो त्यहाँ प्राप्त सिप र पुँजी आफ्नो मुलुकमा, त्यो पनि सही ठाउँमा प्रयोग भयो कि भएन भन्ने हो।
खासमा वैदेशिक रोजगार आजको ‘ग्लोबल भिलेज’को अवधारणाअनुसार एउटा ठूलो अवसर पनि हो। मानिस जहाँ कमाउन सक्छ, रमाउन सक्छ र आफूलाई जमाउन सक्छ त्यहीँ पुग्ने हो। अनि त्यहाँको सिप र पैसा बोकेर मातृभूमि फर्कने र यहाँको माटोको गुन तिर्ने हो। सोझो अर्थमा भन्दा मानव पुँजीलाई सक्दो उपयोग गर्ने हो, निषेध हैन।
तथ्याङ्कप्रति एकपाखे बुझाइ
वैदेशिक रोजगार विभागका अनुसार गत भदौमा मात्र ७६ हजार ४ सय ३ जना वैदेशिक रोजगारीका लागि गए। हामी यही तथ्याङ्कका आधारमा भन्छौँ–प्रतिदिन २ हजार ४ सय ६५ जना विदेश जान्छन् काम गर्न। प्रतिदिन यति धेरै सङ्ख्यामा मानिस बाहिरिने हो भने १ वर्षमा ९ लाख १६ हजार ८ सय ३६ जना र १० वर्षमा ९१ लाख ६८ हजार ३ सय ६० जना विदेशमा रहनुपर्ने हो। तर जनगणनाले त विगत १० वर्षमा विदेशमा रहनेको सङ्ख्या २ लाख ६९ हजार ९८ जना मात्र बढेको देखायो। त्यसैले सबै पक्षको गहन अध्ययनबिना तथ्याङ्कको एकोहोरो भाग÷गुणनले पनि समस्या भयाबह देखाउन मात्र मद्दत गरेको देखिन्छ।
कुन देशमा काम गर्न गयो, जानुहुन्थ्यो कि हुन्नथ्यो भन्ने विषय महत्वको हुँदै होइन। मुख्य चुरो त्यहाँ प्राप्त सिप र पुँजी आफ्नो मुलुकमा, त्यो पनि सही ठाउँमा प्रयोग भयो कि भएन भन्ने हो।
खासमा श्रम स्वीकृति लिने सबैजना कामका लागि जान्छन् नै भन्ने हुँदैन। अनि जति गएका छन् ती सबै उतै बस्छन् भन्नठान्नु पनि अर्को भ्रम हो। श्रम स्वीकृति नवीकरण गरेकालाई समेत जोडजाड पारेर प्रस्तुत गरिने तथ्याङ्कले पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढी देखिएको हो। त्यसैले तथ्याङ्कलाई बहुआयामिक दृष्टिकोणबाट नहेरिँदा पनि नेपालबाट युवाहरू रित्तिन लागेको, जमिन बाँझो रहन थालेको, सबै क्षेत्र बर्बाद भयो भन्ने जस्ता गलत भाष्यहरू खडा गरेर वैदेशिक रोजगारीलाई ठूलै अपराधका रूपमा परिणत गर्ने भरमग्दुर प्रयास भइरहेको देखिन्छ। जुन हाम्रो जस्तो रेमिट्यान्सकै आधारमा बाँचेको मुलुकका लागि ठूलो दुर्भाग्य बन्न सक्छ।
अन्त्यमा पंक्तिकार विभिन्न समयमा मलेसिया र बङ्गलादेशबाट फर्किँदा ती विमानमा ९० प्रतिशत भन्दा बढी नेपाली थिए। तीमध्ये केहीसँग कुरा पनि गरेँ। अपवादबाहेक सबैजसो वैदेशिक रोजगारीबाट फर्केकाहरू थिए। कोही बिदा मनाउन आएका थिए भने कोहीचाहिँ अब नफर्किने गरी। त्यसपछि लाग्यो, यसरी नेपाल आउने विमानहरू पनि वैदेशिक रोजगारवालाकै कारण भरिभराउन हुने रहेछन्।
के हामीले यो पक्ष कहिल्यै हेरेका छौँ? एकपटक गएको मानिस सधैँ गएका गयै हुन्छ? दिनको यतिजना वैदेशिक रोजगारका लागि जान्छन् भनेर हिसाब राख्नेले फर्कनेको पनि राख्नु पर्दैन? फर्केकामध्ये कति यतै बसे भन्ने तथ्याङ्क खोइ? कतिपयले विदेशमा कमाएको सिप र आम्दानी मातृभूमिमा लगाएको खबर खोइ? त्यसैले कसैले आफ्नो स्वार्थका लागि मात्र खडा गरेको भाष्यका पछि नदौडने कि?
प्रकाशित: २ कार्तिक २०८० २३:५९ बिहीबार