२००७ सालमा राणाशासन अन्त्य भयो तर सम्झौतामा। २०१७ सालमा राजा महेन्द्रबाट 'कु' भयो र प्रजातन्त्र गुम्यो। २०४६ सालमा आन्दोलन भयो, पञ्चायत फालियो। तर आन्दोलन सम्झौतामा सकियो। नतिजा, महेन्द्रकै शैलीमा ज्ञानेन्द्रले 'कु' गरे। लोकतन्त्र फर्काउन र गणतन्त्रसम्म पुग्न जनआन्दोलन मात्र नभई 'जनयुद्ध' पनि भयो। यहाँ पटक–पटक आन्दोलन हुन्छ, प्रजातन्त्र/लोकतन्त्र आउँछ। फेरि गुम्छ। आखिर यस्तो किन?
परिर्वतन केका लागि भनेर प्रस्ट सोच र लक्ष्यमा पुग्ने नैतिक प्रतिबद्धताको अभाव छ। लक्ष्य हुनुपर्ने थियो, राजनीतिक परिवर्तनका साथै जनताका उन्नति, कानुनी राज्य, भ्रष्टाचार र घुसखोरीरहित प्रशासनको। साथै, देशको स्वाभिमान बचाउने कार्य हुनुपर्ने थियो। दल र तिनका नेता तथा नातागोता मोटाए। भ्रष्टाचार घट्नुको सट्टा बढ्यो। दण्डहीनता झन्झन् बढ्यो। राष्ट्रले वर्षौंदेखि कमाएको स्वाभिमान क्रमसँगै गुम्यो। अहिले नेपालीको शिर झुकेको छ।
'हात्तीको देखिने दाँत' अर्थात् भारतलाई मात्रै औँल्याएर के फाइदा? 'हात्तीको नदेखिने दाँत' अर्थात् पश्चिमा मुलुकको आर्थिक–धार्मिक–राजनीतिक प्रभावले हामी दबिइसकेका रहेछौँ। भिख माग्नेको कदर भिक्षा दिनेले किन गर्छ र? यो साधु–महात्माको कुरा हैन, जहाँ भिक्षा दिनेले आफूलाई धन्य ठान्छ।
भ्रष्टाचार र घुसखोरीमा हामी उपल्लो दर्जामा छौँ, संसारमै। चेलीबेटी बेचबिखनमा त सायद नं. १ मै छौँ। मुलुकको जनसंख्याका तुलनामा रोजगारीका लागि विदेशिनुपर्ने हाम्रै युुवाहरू सर्वोच्च स्थानमा होलान्। विदेशिनु परेकाको घर फर्काइने लासको संख्या पनि हाम्रो राष्ट्रमै बढी होला। प्रजातन्त्रपछि अधिकांश समय मुलुकको सबै शक्ति आफ्नै हातमा पाएकाहरूले जवाफ दिन सक्छन्, यी प्रश्नहरूको? ६७ वर्षसम्ममा देशमै रोजगार किन दिन सकेनौँ।
आजको हाम्रो हैसियत हामीले नबुझे पनि वा बुझ पचाए पनि विदेशीले राम्रै बुझेका छन्। हामी अहिले उनीहरूको नजरमा उनीहरूकै आर्थिक सहयोगमा मात्र बाँचेका छौँ। र, यो स्थितिबाट माथि उठ्न हामीले प्रयासै गरेनौँ। 'सहयोग' भनेर आएको डलर, चाहे सोझै सरकारलाई वा कुनै न कुनै आइएनजिओ मार्फत शक्तिशाली र खाए–लाएकालाई आउँछ भने त्यो स्थितिबाट बाहिरिनु किन? मुलुकको स्वाभिमानको कसलाई के मतलब रहन्छ, जब हाम्रो माझमै डिभी लटरी पाएका वा पाउने आशा भएका, वा विकसित मुलुकको पिआर पाएका व्यक्ति बढ्दो संख्यामा सरकारमै काम गर्छन्। त्यस्तालाई नेपालको स्वाभिमानको के चासो? यिनको बफादारी त अन्यत्र गइसक्यो। यो राष्ट्र त यिनको ठगी खाने भाँडो मात्र हो।
आज हामी सानोभन्दा सानो काम गर्न पनि विदेशीकै मुख ताक्छौँ। भिख माग्नेको कदर भिक्षा दिनेले किन गर्छ र? यो साधु–महात्माको त कुरा हैन, जहाँ भिक्षा दिनेले आफूलाई धन्य ठान्छ। हामी बाटो, पुल, जल विद्युत्, अस्पताल, एयरपोर्ट, विश्वविद्यालय, भूकम्प पीडितलाई टहरा, जे होस् विदेशीकै सहयोग ताक्छौँ, किन? के हामीसित यीमध्ये कुनै काम गर्न पनि ढुकुटीमा पैसा छैन? राष्ट्रपतिलाई १६ करोडको गाडी, जनता जति खाडी, कहिलेसम्म?
नागरिक र रिपब्लिका दैनिकले रोजैजस्तो भ्रष्टाचार र अनियमितताका डरमर्नु खबर प्रमाणसहित प्रथम पृष्ठमा छापिरहेका छन्। अबर्ौं मात्र हैन, खर्बाैं रुपियाँ हिनामिना भएको प्रमाण पेस गरिएको छ। आयल निगम, साझा प्रकाशन, वन, कर फर्स्योट आयोग, सरकारी टेन्डरमा गडबडी, अनगन्ती प्रमाण छन्, ठगीका। जनार्दन शर्मा र कुलमान घिसिङले जसरी लोडसेडिङ अन्त्यका लागि भ्रष्टाचारविरुद्ध लडे, सारा नेपालीलाई ठूलै राहत दिलाए। यसबाट पाठ सिकेर भ्रष्टाचारबाट लुटिने धनराशि बचाउन सके धेरै विकास हामी आफैँ गर्न सक्ने थियौँ।
यही सिलसिलामा अर्को झनै डरलाग्दो तथ्यांक पेस गरेको छ, नागरिक दैनिकले। हाम्रो राष्ट्र धेरै हदसम्म विदेशीकै रकमले चलेको रहेछ। सिंहदरबारमार्फत कति विदेशी पैसा भित्रिने गरेको छ भनेर दिएको तथ्यांक हेर्दा पत्यार लाग्दैन। मुलुक यतिसम्म बिकेको थाहा थिएन। के हाम्रो मुलुक हाम्रै बागडोरबाट बाहिरिइसक्यो? कतै त्यो 'हात्तीको नदेखिने दाँत'ले अहिलेसम्म मुलुकलाई दबाइसकेको त छैन? हात्तीको देखिने दाँत अर्थात् भारतलाई मात्रै औँल्याएर के फाइदा? धमिरा त अन्तैबाट झनै पसिसकेको देखिन्छ।
केही तुलना गरौँ, इतिहास भइसकेको राणा शासनका र अहिलेका कुरा। हाम्रो स्वाभिमानका लागि के गरेका थिए वा गरेका थिएनन् उनले। मुलुकमा धेरै विकास गरेनन् तिनले, तर त्यसबेला छिमेकी भारत नै कम विकसित थियो। आफू बने, जनता गरिब रहे। यस्तै धेरै कुरामा उनी दोषी छन् र त्यसैले सधैँ गाली पाउँछन्। तर देशको स्वाभिमानमा आँच आउन दिएनन्। कमै भएको विकासमा पनि जे भयो, राष्ट्रकै ढुकुटीबाटै भयो। केही उदाहरणको लागि नेपाल गभर्मेन्ट रेल्वे बन्यो, अमलेखगञ्जदेखि वीरगञ्जसम्म। भारतमै पनि त्यसबेला सबैतिर रेल लाइन थिएनन्। चुरेको पहाडमा आफ्नै पैसा र सीपबाट नेपालीले टनेल बनाए र तराईतर्फको यात्रामा सुविधा भयो। ढुवानीले गर्दा खाद्यान्न महँगो भयो भनेर चन्द्रशमशेरले तत्काल हेटौँडाको धोरसिंबाट टेकुसम्म रोपवे बनाए — यो कार्य त्यसबेला कत्ति पनि सहज थिएन। वीर अस्पताल बन्यो, त्रि–चन्द्र कलेज बन्यो, १९८० सालको महा–भूकम्प पीडितको बसोबासको व्यवस्था भ्रष्टाचारबिना तत्काल भयो। कमाराकमारीको अमलेख भयो। यी कुनै कार्य त्यसबेलाको आर्थिक स्थितिमा कम गाह्रो थिएन तर नेपालले आफ्नै बाहुबल र धनले गरियो। हाम्रो शिर ठाडो थियो। कुनै विदेशीलाई गुहारेनौँ। आफ्नो राज्यको बागडोर अरूलाई दिएनौँ।
राणा शासनपछिका हाम्रा विकासका कार्यक्रम। त्रिभुवन राजपथ बन्यो भारतद्वारा। नौबिसे–मुग्लिङ बन्यो, चिनियाँको निगाहाले। धुलिखेलबाट तराई पुग्ने बाटो जापानीले बनाइदिए। काठमाडौँभित्रैको रिङरोड र भक्तपुरसम्मको चार लेन पनि विदेशीले नै। त्रिभुवन विश्वविद्यालय, वीर अस्पतालको विस्तार र ट्रमा सेन्टर, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भारतले बनायो। भरतपुरको क्यान्सर अस्पताल बन्यो, चिनियाँबाट र कान्तिबाल अस्पताल सोभियत युनियनद्वारा। काठमाडौँभित्र ट्रली बस चल्यो चिनियाँको निगाहामा र अहिले त्यसैको सामनेमा कर्मचारी अस्पताल उसैले बनाइदिनुपर्यो। हाम्रा मूल मूल एयरपोर्ट पनि विदेशीकै सहयोगमा बने। तर स्थिति यस्तोसम्म छ कि यिनले बनाइदिएका संरचनासमेत हामीले ठीकसित मर्मतसम्भार गर्न सकेनौँ र तिनको पूरै फाइदा लिन सकिरहेका छैनौँ। एक जमानामा जंगबहादुरले आफ्नो वीरता र कुटिल राजनीतिमार्फत अंग्रेजबाट गुमेको पश्चिम मधेस फर्काएका थिए, नेपालको विजय भएको थियो। आज त्यही भू–भाग हाम्रा अहिलेका 'वीर'हरूको अदूरदर्शिता, अपरिपक्वता र अहंले नेपालले गुमाउने त हैन भन्ने स्थितिमा छ। के यो गौरवको कुरा हो?
मिडियामा आएका प्रमाणसहितका भ्रष्टाचार–तथ्यांकका आधारमा राज्यले सही कदम चाले हामी आफ्नो विकास आफैँ गर्न सक्नेथियौँ। हाम्रो शिर उच्च हुनेथियो। तर यसो गर्लान् भन्ने आशा छैन। किनभने, भ्रष्टाचार र विदेशी पैसाको पहुँच धेरै माथिल्ला तहसम्म पुगिसकेको छ। तिनलाई छुन सक्ने कसैको ताकत छैन, न कुनै व्यक्तिको न कुनै सम्बन्धित अंगको। अरू विषयमा यिनी झगडा गरे पनि यो विषयमा एक अर्कालाई बचाउन एक हुन्छन्। किनभने, एक ठूला दोषी ठहरिए सबै मुछिने डर छ, उनीहरू सबैलाई।
हाम्रो कर्तव्य अहिले यही हो, जसरी भए पनि मुलुकलाई विदेशीको आर्थिक सहयोगबाट हुने राजनीतिक र सम्भवतः धार्मिक गुलामीबाट जोगाउनु र लोकतन्त्र बचाउनु। यति मात्र गर्न सक्यौँ भने ठूलै उपलब्धि हुनेछ। सबै दल र नेतागण गम्भीर हुन जरुरी छ। जनताले पनि सही व्यक्ति चुनेर चुनावबाटै राजनीतिलाई सफा राख्न सक्नुपर्छ, अनि मात्र लोकतन्त्र दिगो हुन सक्छ।
जब सबै नेपालीको र नेपालको उन्नति हुन्छ। जब विदेशीसित माग्नु पर्दैन। जब भ्रष्टाचार उन्मूलन हुन्छ। जब राजनीति सफा हुन्छ। तब के चाहियो र हामीलाई? हामी स्वतः समृद्ध र स्वाभिमानी नेपाली हुनेछौँ।
प्रकाशित: १९ श्रावण २०७४ ०३:३५ बिहीबार