विचार

अत्याचारविरुद्ध जबरजस्त एउटा मान्छे

सन्दर्भ बलदेव रामको छैटौँ स्मृति दिवस

केही वर्षयता माइतीघर आन्दोलनको मूल थलो बनेको छ। कुनै विषयमा विरोध गर्नेदेखि संरचनागत अन्यायका विषयमा आवाज उठाउन यहाँ विभिन्न समूह एवं संगठनले धर्ना, भेला, नाराबाजी अनशन आदि गर्दै आएका छन्। आक्कलझुक्कल हँुदै आएका यस्ता गतिविधि बाक्लिँदै गएका छन्। यस वर्ष खेतीपातीको मौसममा समेत आन्दोलन रोकिएन। यहाँ बाँके नेपालगन्जकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्यायको माग गर्दै रुबी खानको समूह लामो समय अनशन बसेको थियो। मिटरब्याजी र लघुवित्तपीडितहरूको आन्दोलन अझै जारी छ। नागरिकता पाउन नसकेका युवाहरूको आन्दोलन पनि यहीँ केन्द्रित थियो। यहाँ भएका आन्दोलन एवं विरोधका कार्यक्रमको सूची बनाइसाध्य छैन।  

जुनसुकै विषयमा नागरिक किन काठमाडौँ आउन बाध्य भएका हुन्? के यस्ता आन्दोलनको आवाज सरकारले साँच्चै सुनेको छ? यी आन्दोलनको आधार के÷कस्तो छ? तिनीहरूको संगठनको स्थिति कस्तो छ? सञ्चारमाध्यमको पहुँच सहज भएको अहिलेको अवस्थामा के समस्याको ध्यानाकर्षण गराउन माइतीघर नै आउनुपर्छ? सरकार स्वंयले विभिन्न अन्यायका विषयमा अध्ययन गरेर आन्दोलनपूर्व सचेत कदम उठाउन सक्दैन? जस्तो– मिटरब्याजी समस्याको विषयमा आन्दोलनपछि मात्र सरकारले कानुन बनायो। के यो समस्याबारे सरकार जानकारीबिहीन थियो त? के नागरिकका हरेक अन्यायका विषयमा कानुन बनाउन दबाब दिन फेरि नागरिक ऋण गरीगरी आएर माइतीघरमा नै खाना पकाएर खाने, त्यहीँ सुत्ने गर्नुपर्ने हो? आदि विभिन्न विषयमा गहिरो अध्ययन र समीक्षा पुगेको छैन।  

सिनो बहिष्कार आन्दोलनको सफलताले चमार जातिको जीवनस्तर केही न केही फेरिँदै गएको छ। बलदेव रामले उठाएका दलितको आत्मसम्मान, भूमि अधिकार, शिक्षा र रोजगारीलगायत आवाजको प्रभाव पर्दै गएको छ।  

कामको सिलसिलामा माइतीघरको बाटो भएर हिँड्दा त्यहाँका आन्दोलनकारी देख्दा २०६७ चैतमा राष्ट्रिय भूमि अधिकार मञ्चको नेतृत्वमा भएको आन्दोलनको सम्झना हुन्छ। त्यतिखेर देशभरबाट सयौँ भूमिहीन काठमाडौँ आएर खुलामञ्चमा धर्ना बसेका थिए। राजनीतिक पार्टी कार्यालयमा गएर धर्ना र नारावाजी गर्दै भूमि अधिकारको आवाज सशक्त बनाएका थिए। ग्रामीण भेगका, भूमिहीन श्रमिक र जोताहा किसान आफैँ कृषि औजारसहित आन्दोलनमा आएका यो घटना अलि फरक प्रकृतिको थियो। उनीहरू आफ्ना लागि घरैबाट सातु, चामल, तरकारी र बर्को बोकर आएका थिए। राजनीतिक दलबाहेकका अगुवाइमा भएको यो आन्दोलनको पृष्ठभूमि र प्रभावबारे पनि खासै अध्ययन हुन सकेको छैन। यो आन्दोलनको नेतृत्व राष्ट्रिय भूमि अधिकार मञ्चको तत्कालीन अध्यक्षको हैसियतले बलदेव रामले गर्नुभएको थियो। उनै बलदेव रामको आज (साउन १७ गते) छैटौँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।  

बलदेव राम बाल्यकालदेखि नै तल्सिङले मोहीमाथि गरेको अन्यायको साक्षी थिए। दलितलाई गरिने विभेद र थिचोमिचो चर्को थियो। उनी जन्मेको गाउँ र वरपरका जिल्लामा समेत चमार समुदायमाथि चर्को शोषण र अन्याय थियो। उनीहरू सिनो फाल्न बाध्य बनाइएका थिए। पछि उनैको नेतृत्वमा सिनो बहिष्कार आन्दोलन भएको थियो। र उक्त आन्दोलन अनेक संकट झेल्दै सफल भएको थियो। उनै बलदेव राम दलित भूमिहीनता अन्त्य गर्ने उद्देश्यले भूमि अधिकार आन्दोलनमा जोडिँदै उक्त आन्दोलनको नेतृत्व गर्न पुगेका थिए।  

गहिरोसँग जरा गाडेर बसेको अन्यायलाई सम्बोधन गर्न सामाजिक आन्दोलन नै महत्वपूर्ण उपाय हो। संसारभरको अनुभवले सावित गरेको विषय हो यो। सामाजिक आन्दोलन बलियो नभएको समाजमा नीति तथा कानुन पनि किनारामा पारिएका नागरिकको पक्षमा लागु हुन सक्दैन। सामाजिक आन्दोलनको लक्ष्य प्राप्तिका लागि समय लाग्न सक्छ। यसो भएकाले खास योजना बनाएर मात्र आन्दोलन अगाडि बढाउनुपर्दछ। तर यो नै सर्वव्यापी र अनिवार्य भने होइन। कहिलेकाहीँ अप्रत्याशितरूपमा सिर्जना भएको भेला वा प्रदर्शनले दीर्घकालीन आन्दोलनका रूप पनि लिएका उदाहरण छन्। नेपाल र संसारभरकै अनुभवबाट असमानता तथा अन्याय अन्त्य गर्न सामाजिक आन्दोलनको भूमिका अतुलनीय छ। र उत्पीडनमा परेका नागरिक स्वंयले निर्माण गर्ने यस्तो आन्दोलनका कारण शक्ति संरचनामा परिवर्तन सम्भव छ।  

सामाजिक आन्दोलन बलियो नभएको समाजमा नीति तथा कानुन पनि किनारामा पारिएका नागरिकको पक्षमा लागु हुन सक्दैन। सामाजिक आन्दोलनको लक्ष्य प्राप्तिका लागि समय लाग्न सक्छ। यसो भएकाले खास योजना बनाएर मात्र आन्दोलन अगाडि बढाउनु पर्दछ।  

सिनो बहिष्कार र भूमि अधिकार आन्दोलनको सफल नेतृत्व गर्नुभएका बलदेव राम उत्पीडनमा परेकाहरूको संगठनमा जोड दिन्थे। सवालमा सामूहिकरूपमा छलफल, मुद्दाहरूको विश्लेषण, परिवर्तनको मुद्दा निर्माण र आन्दोलनबाट नै नेतृत्वको विकास आवश्यक हुन्छ भन्नेमा प्रष्ट थिए। सीमित व्यक्तिहरूले मात्र हालीमुहाली नगरुन् भन्ने उद्देश्यले सामूहिक स्वरूपको नेतृत्वमा उनको जोड हुन्थ्यो।  

व्यवस्थित र व्यापक संगठनसहितको सामाजिक आन्दोलनविना गरिव एवं भूमिहीन अथवा उत्पीडनमा परेका नागरिकको हैसियतमा खास परिवर्तन सम्भव छैन। तर यस्तो सामाजिक आन्दोलनहरू कमजोर बन्दै गएको छ। समुदायको सशक्तीकरणको उद्देश्य बोकेर खडा भएका सामाजिक संस्थाहरू पनि सामान्य सचेतीकरण र आयमूलक कार्यमा अल्झिएका छन्। यतिखेर शक्ति निर्माण, जनसशक्तीकरण र अभियान एवं आन्दोलनमुखी कार्यमा कमी छ। यो मुलुक र खासगरी सीमान्तकृत समुदायका लागि ठूलो नोक्सानी हो।  

न्यायपूर्ण सामाजिक शक्ति सम्बन्धमा मात्र सामाजिक न्याय हुन्छ। अन्यायपूर्ण शक्ति सम्बन्ध भएको समाजमा सामाजिक अन्यायले ठाउँ पाउँछ। सामाजिक आन्दोलन बलियो नभई सामाजिक न्याय पाउने अवस्था छैन। अन्यायपूर्ण शक्ति सम्बन्धलाई प्रश्न उठाउने, अन्यायमा परेका पीडितलाई सचेत बनाउन बलियो सामाजिक आन्दोलनको आवश्यकता छ। प्रभावकारी सामाजिक आन्दोलनका लागि उत्पीडनमा परेका हरेक वर्गको आलोचनात्मक चेत फराकिलो हुँदै जान आवश्यक छ। र यसका लागि सामाजिक न्यायकर्मीको इमानदारीपूर्ण साथ चाहिन्छ। यसो भयो भने मात्र तिनै तहका सरकारलाई सामाजिक न्यायको प्रत्याभूतिमा ठोस कदम उठाउन केही न केही रूपमा बाध्य पार्न सकिन्छ। उनको संगतले सिकाएको ज्ञानले यही भन्छ।  

सिनो बहिष्कार आन्दोलनको सफलताले चमार जातिको जीवनस्तर केही न केही फेरिँदै गएको छ। बलदेव रामले दलितको आत्मसम्मान, शिक्षातर्फ आकर्षण र रोजगारीलगायत विषयमा उठाएका आवाजको प्रभाव पर्दै गएको छ।  

सिरहा र सप्तरीका डोम र चमारलाई कथित दलितका रूपमा हेरिन्थ्यो। कसैको घरमा रहेको पशु मरेमा उनीहरूले नै त्यसलाई फाल्नुपर्ने वा काटेर खानुपर्ने परम्परा रहिआएको थियो। चमार र डोमले सिनो फाल्नुपर्ने बाध्यता मात्रै थिएन, सोही कारणले उनीहरू अपमानितसमेत हुनुपरेको थियो। आन्दोलनपछिका केही वर्षमा अवस्था सुध्रियो। चमार, मुसहर र डोम समुदायका मानिस अघि आए। सिनो बहिष्कार आन्दोलनको सफलतापछि तराईमा दलित, त्यसमा पनि मुसहरहरूले जग्गा नपाएको विषयलाई सवाल बनाउन थालियो। जो मालिकका लागि मालिककै जग्गामा बसेर काम गर्छन्।

मालिकले लखेटेको दिन त्यहाँबाट जानुपर्ने बाध्यता छ। सोही सवाल भूमि अधिकार आन्दोलनको विषय बन्यो। बलदेव रामलगायत चमार जातिका अगुवाहरूले बहिष्करणको आन्दोलन चलाएपछि धेरैले त्यसलाई राम्रो भने। तर कथित उपल्लो जात बताउनेहरूले सिनो नफालेको भन्दै स्थानीयस्तरमा चमार जातिलाई बाटोघाटो हिँड्न नदिने, कामबाट हटाउनेलगायत कार्य गर्दै चमार जातिलाई सामाजिकरूपमा नाकाबन्दी गरेका थिए। तर आफ्नो मुद्दामा अडिग बलदेवले हरेस खाएनन्। उनले सिनो बहिष्करणको आन्दोलनलाई निरन्तरता दिए। भूमि अधिकार आन्दोलन र संगठनलाई देशव्यापी बनाउन पनि उनको भूमिका अतुलनीय छ। भूमि अधिकार आन्दोलनबाट पनि केही न केही सकारात्मक परिणाम देखिएका छन्। यद्यपि यसतर्फ धेरै गर्न बाँकी छ। यिनै बलदेव रामको सपना र उनको चाहनालाई पूरा गर्न भूमि अधिकारबाट वञ्चित देशभरका शोषित, पीडित र न्यायकर्मीहरूले आन्दोलनलाई पुनर्गठन गर्ने प्रण गरेमा आजको स्मृति दिवस पक्कै सार्थक हुनेछ।  

प्रकाशित: १७ श्रावण २०८० ००:४४ बुधबार

सन्दर्भ बलदेव रामको छैटौँ स्मृति दिवस अत्याचारविरुद्ध जबरजस्त एउटा मान्छे