भूकम्प गएको पनि दुई वर्ष नाघ्यो । २०७२ साल वैशाख १२ र २९ गते र त्यसपछिका पराकम्पनले नेपालभर जनधनको ठूलो हानि नोक्सानी पारेको अहिलेको हाम्रो पुस्ताले बाँचुन्जेल सम्झी नै रहनेछ । नेपाली सभ्यताको गौरवस्वरूप रहेका हाम्रा विश्वसम्पदा क्षेत्रभित्रका सम्पदाले जुन अपार क्षति भोग्नुप¥यो त्यसको कुनै हिसाव नै छैन । विश्व सम्पदा क्षेत्रमा सबैभन्दा ठूलो मार राजधानी सहर काठमाडौंको मुटुमा रहेको हनुमानढोका दरवार क्षेत्रले भोग्नुप¥यो । यस क्षेत्रका प्रायः वास्तुकलाको दृष्टिकोणले महत्वपूर्ण र भव्य सम्पदाहरूले जुन किसिमको हानि नोक्सानी बेहोर्नुप¥यो, त्यसको कल्पनासम्म पनि गर्न गाह्रो पर्छ ।
कुनै पनि जीर्णोद्धार र पुनर्निर्माणका काम भनेको अनुसन्धानको काम पनि हो । त्यसैले यसका लागि धेरै विज्ञ, प्राविधिक र वैज्ञानिक चाहिन्छन् ।
हनुमानढोका दरवार क्षेत्रका स्मारक, भवन, मन्दिर तथा अन्य वास्तुकलाका नमुनाको मूर्त सम्पदाहरूको दृष्टिकोणले मात्र होइन्, अमूर्त सम्पदाहरूको संरक्षण र निरन्तरताका लागि पनि उत्तिकै आवश्यकता र महत्वपूर्ण छन् । यी सबै सम्पदासँग हाम्रो वर्षभर आउने र हामीले मनाउने जात्रा, चाड, पर्व, उत्सव आदि सबै धार्मिक तथा सांस्कृतिक रीतिरिवाज र परम्परा गाँसिएका छन् । भर्खरै मात्र सम्पन्न सेतो मच्छिन्द्रनाथको रथ यात्रा भनौं या चैत दशैंको पर्व र वैशाखमा हुने कुमारको खट जात्रा, गाईजात्रा, कुमारी जात्रा, इन्द्रजात्रा सबै राष्ट्रिय महत्वका जात्रा, उत्सव तथा पर्व यसै हनुमानढोका दरवार क्षेत्र वरपर मनाइने गर्छन् ।
यसरी धेरै महत्व बोकेको काठमाडौं उपत्यकाभित्र आउने जोसुकै स्वदेशी वा विदेशी सबैले एकपटक अवलोकन नगरी नजाने यो सम्पदास्थलको हालतमा दुई वर्षपछि पनि खासै कुनै फरक आएको देखिँदैन । कतै खास जीर्णोद्धार तथा पुनर्निर्माणका कार्य भइरहेका देखिँदैनन् । हुन त केही सानातिना मन्दिर तथा स्मारकको जीर्णोद्धार तथा पुनर्निर्माण भने विदेशी दाताको चन्दाबाट सञ्चालित काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्ट (केभिपिटी) ले गरिरहेका देखिन्छन् । तर हनुमानढोकाको प्रसिद्ध काष्ठमण्डप, नौ तले दरवार र अन्य बुर्जा, गद्दी बैठक, माजु देवल, त्रैलोक्य मोहन नारायण मन्दिर आदि महत्वपूर्ण स्मारक जसरी भूकम्पपछि ध्वस्त अवस्थामा छन् त्यही अवस्थामा अहिले पनि छन् । बडो दुःखको कुरा छ, कुमारी घर र शिव पार्वती मन्दिर जस्ता जनमानसको अति नै भीड लाग्ने स्मारकमा पनि आजसम्म कुनै पनि मर्मत संभार र सवलीकरण गर्ने काम भएका देखिँदैनन् ।
केही दिनअघि (मार्च ३० तारिख) मात्र अमेरिकी राजदूतावासको सांस्कृतिक संरक्षण कोषबाट करिव सात लाख डलर खर्चेर मियामोटो रिलिफ नामक इन्जिनियरिङ संस्थाको प्राविधिक रेखदेखमा पुरातत्व विभागमार्फत गद्दी बैठकको सवलीकरण (जीर्णोद्धार) गर्ने उद्घोष भएको छ । आशा गरौं, चाँडै नै गद्दी बैठकको जीर्णोद्धारको काम सुरु हुँदैछ । तर यो काममा भन्दा माममा बढी खर्च हुने हो कि भन्ने शंका स्थानीयको छ । किनभने यो काममा पनि विशेषज्ञहरू आफँै साइटमा खटी अमानतबाट नगराई ठेकेदार कम्पनीमार्फत गराउन लागेका देखिन्छ । स्थानीयले ठेकेदारीको विरोध गरेका कुरा पुरातत्व विभागले किन बिर्सेको ? प्रश्न उठेको छ । गद्दी बैठकको सवलीकरणका लागि गठित स्टेरिङ कमिटी र टेक्निकल सब कमिटी दुवैमा स्थानीय जानिफकार नहुनुले पनि शंका उब्जेको छ ।
हाम्रा सम्पदा चाहे त्यो मन्दिर होस् वा बौद्ध बिहार, प्राचीन दरवार होस् वा पाटी पौवा, कुनै पनि सम्पदा कुनै ठेकदार वा ठेकदार कम्पनीले बनाएका होइनन् । ती सबै हाम्रा पुर्खा, दक्ष, कुशल र कर्मठ डकर्मी, सिकर्मी, ज्यामी, बुट्टाकर्मी, अवाले सबैले बडो मेहनत गरी दिलोज्यान दिई धेरै समय र पैसा खर्च गरी निर्माण गरेका हुन् । २०६० सालभन्दा पहिले पुरातत्व विभागबाट गरिने कुनै पनि जीर्णोद्धार तथा पुनर्निर्माणको काम ठेकेदारी प्रथाबाट गराइँदैनथ्यो । त्यसबेलाका कर्मचारी आफँै खटिइ अमानतद्वारा गराउँथे । त्यसबखत पनि केही सानातिना काम जीर्णोद्धार तथा मर्मतका अनुभवीलाई भने दिइन्थ्यो ।
हाम्रा स्मारकमा प्रयोग इँटादेखि सम्पूर्ण माटो, काठका सामानको आ–आफ्नै विशिष्टता छन् । विभिन्न समयमा बनेका यी स्मारकमा विभिन्नखाले यस्ता सामग्री प्रयोग गरिएका छन् । ती सबै सामग्रीको राम्ररी लेखाजोखा गरी, नाप, जाँच गरी गुणस्तर हेरी सकेसम्म सोहीबमोजिमका सामान बनाइ जीर्णोद्धार वा पुनर्निर्माण गरिनुपर्छ । हाम्रा स्मारकमा कुनै पनि हालतमा सल्लाको काठ, पाट प्रयोग गरिनुहँुदैन । सकेसम्म अग्राख काठ नै प्रयोग गर्नुपर्छ । किनभने सल्लाको भन्दा अग्राठ काठको आयु बढी हुन्छ । साथै यदि पुराना काठ चाहे त्यो बुट्टेदारी काठ होस् वा अन्य कुनै तिनीहरुलाई पुनः प्रयोग गर्नुअघि रासायनिक प्रक्रियाद्वारा फ्युमिगेसन गरीमात्र प्रयोग गरिनुपर्छ । नत्र भने ती अमूल्य बुट्टेदारी काठ, झ्याल ढोका, टुँडाल चाँडै नै कीरा मकौडाले खाई बिगार्न सकिन्छ । हुन पनि जीर्णोद्धार तथा पुनर्निर्माण गर्दा सकेसम्म हामीले पुरानै काठ र तिनका कलाकृति नै पुनः जडान गर्नुपर्छ ।
नेपालमा प्राचीन सम्पदाको जीर्णोद्धार र पुनर्निर्माण गर्न सक्ने क्षमता भएका, अनुभवी र सबैखालका आवश्यक जनशक्ति र औजार भएका कुनै पनि ठेकदारी कम्पनी छन् जस्तो लाग्दैन । यी कम्पनीमा एक दुई जना इन्जिनियर र ओभरसियर होलान् तर कुनै पनि पुरातात्विक स्मारक जीर्णोद्धार पुनर्निर्माण गर्न इन्जिनियर र ओभरसियरले मात्र पुग्दैन । हामीकहाँ दक्ष डकर्मी, सिकर्मी, बुट्टाकर्मी आदि चाहिने संख्यामा नभए तापनि तिनको खडेरी भने लागेको छैन । तर यी दक्ष प्राविधिक कामदारले काम ठीक ढंगबाट गरेका छन्÷छैनन् भन्ने अनुगमन गर्न कुनै पनि स्मारकमा पुरातत्वविद्, वास्तुकलाविद्, कला इतिहासकार आदि पनि हुनु त्यत्तिकै आवश्यक छ ।
कुनै पनि जीर्णोद्धार र पुनर्निर्माणका काम भनेको अनुसन्धानको काम पनि हो । त्यसैले यसका लागि धेरै विज्ञ, प्राविधिक र वैज्ञानिक चाहिन्छन् । पुनर्निर्माणको काम गर्दा जगैदेखि राम्ररी विवरण राखी छाना छाएर गजुर नहालेसम्म प्रत्येक दिनजसो आइपरेका समस्या कसरी समाधान गरियो भन्ने विवरण राख्नुपर्छ । अनि तिनलाई पुस्तकका रूपमा सुरक्षित गर्नुपर्छ । ताकि भविष्यलाई पनि काम लागोस् ।
हुन त पुरातत्व विभागलाई प्रचलित आर्थिक नियमले ठेक्का दिन बाध्य पारे तापनि ती ऐन नियम भनेका हामी आफैँले आफैँका लागि बनाएका हो । जसलाई आवश्यकताअनुसार संशोधन गर्न नसकिने कारण नै छैन । तसर्थ यस्ता विषयमा आवश्यक संशोधन गर्नैपर्छ । नत्र ठेकेदारी प्रथाले गर्ने त्रुटि सच्याउन असम्भव नै हुन्छ ।
केहीअगाडि वसन्तपुर शिव पार्वती मन्दिरको प्रांगणमा आयोजित अन्तक्र्रियामा पुरातत्व विभागका महानिर्देशकले स्थानीय बासिन्दालाई जुन किसिमका आश्वासन दिएका थिए, सोहीबमोजिम हनुमानढोका दरवार क्षेत्रका स्मारकको हकमा पनि सिंहदरवारको सवलीकरण गर्न अपनाएको विधि अपनाउनुपथ्र्यो । तर त्यो कार्यान्वयन भएन । योमात्र कार्यान्वयन भएमा पनि धेरै समस्या स्वतः समाधान हुनेछ ।
प्रकाशित: १४ वैशाख २०७४ ०३:०६ बिहीबार