विचार

खाँचो खेल विशेष प्याकेजको

एघारौं दक्षिण एसियाली खेलकुख (साग)मा पदक जितेर राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडी एवं प्रशिक्षकलाई सम्मान गर्ने कार्य भइरहेको छ। केही पहिले नेपाली सेनाले सागमा पदक जित्ने आफ्ना खेलाडीलाई पुरस्कृत गरेको छ। सेनाले पदक जित्नेलाई मात्र होइन लिफ्ट दुर्घटनाका कारण प्रतिस्पर्धा गर्न नसकेका पदकका दाबेदार जुुडो खेलाडी कालुमान तामाङ्गलाई पनि कदरस्वरूप एक तह बढुवा गरेर खेलाडीको हौसला बढाउने काम पनि गरेको छ।

धेरैजसो, जित्नेलाई सबैले पुरस्कृत गर्छन् तर हार्ने अर्थात् पदक नजित्ने, खेल्नैबाट वन्चित हुने खेलाडीलाई हौसला दिने कार्य कमैले गर्छन्। कतै हामीले पदकको सम्भावना भएका तर प्रयास गर्दागर्दै पनि सफल नभएका खेलाडीलाई निरुत्साहित गर्ने काम त गरिरहेका छैनौ? उनीहरूको मनोबल उठाउने कुनै काम भएको छैन। वास्तवमा यो ठूलो गल्ती हो। खासगरी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव र सम्बन्धित खेलका राष्ट्रिय संघका अध्यक्षले ११ औं सागका पदक जित्न नसकेका खेलाडीलाई यथाशीघ्र बोलाएर हौसला दिने कार्य गर्नुपर्छ।

यसै क्रममा गत सागका स्वर्णपदक विजेता कमल अधिकारीले 'क्लिन एन्ड जर्क' मा 'वासआउट' हुनुपर्‍यो? उनी पदकबाट वंचित भए। के अब कमल अधिकारी एवं उनीजस्तै अन्य खेलाडीलाई बिर्सने त हामीले? कमल र उनीजस्तै अरू खेलाडी तयार पार्न अरू पाँच वर्ष कुर्नुपर्छ। हामीले त नव प्रतिभाशाली खेलाडीलाई, मझौला खेलाडीलाई र 'एलाइट स्पोर्टस मेन' हरूलाई संगसँगै अगाडि बढाउनुपर्छ। के कारणले हाम्रा खेलाडीले एघाराँैं सागमा राम्रो खेल देखाउन सकेनन्? सो बारेमा समीक्षा र मूल्यांकन हुन बाँकी छ। खेल सकिएपछि गरिने समीक्षा र मूल्यांकनलाई अध्ययन गरेर अब हामीले खेलाडीका लागि नयाँ रणनीति, नयाँ योजना बनाउनु आवश्यक छ। साथै पदक जितेका खेलाडीलाई अझ अगाडि बढाउन उनको खेलको स्तर वृद्धि गर्न धेरै कार्यहरू गर्न बाँकी छ।

तेक्वान्डोका दीपक बिष्टका सन्दर्भमा पनि सरकारले परिषदमार्फत विशेष खेलकुद प्याकेजको नीतिगत घोषणा गर्नुपर्ने देखिएको छ। कुनै पनि खेलाडीले एक वा दुईपटक स्वर्ण पदक जित्नु अनौठो होइन तर तीन वा चारपटक लगातार स्वर्ण पदक जित्ने कार्य असाधारण खेलाडीबाटमात्र सम्भव हुन्छ। असाधारण खेलाडी हुन आत्मविश्वास, धैर्य, अभिप्रेरणा, उच्च मनोबल र सधैं सकारात्मक सोचाइ हुनुपर्छ। असाधारण खेलाडी बन्न खोज्छु भनेरमात्र पनि हुँदैन। कडाभन्दा कडा प्रशिक्षण धान्न सक्ने शारीरिक क्षमता हुनुपर्छ । त्यसमाथि परिवार, साथीभाइ, प्रशिक्षक, व्यवस्थापक, राष्ट्रिय संघआदिको सकरात्मक भूमिका हुनुपर्छ। अतः यस्ता असाधारण खेलाडीका लागि सरकारले विशेष खेदकुद सहयोग ( स्पेशल स्पोर्टस् प्याकेज) कार्यक्रम नीतिगत रूपबाटै सार्वजानिक गर्नुपर्छ। उक्त विशेष सहयोगभित्र खेलाडीका लागि घर, मोटर, नोकरी, आफू तथा परिवारका लागि बिमा सुविधा, निःशुल्क शिक्षा र स्वास्थ्यका प्रावधान समावेश हुनुपर्छ। तर विगतमा झैं ख्याल ठट्टाकारूपमा सार्वजनिक हुनुहुँदैन। यसैले मन्त्रिपरिषदबाट नीतिगत रूपबाटै परित गरेर सार्वजनिक गर्नु आवश्यक छ।

अहिले विशेष खेलकुद सहयोग कार्यक्रम घोषणा गर्न सरकारलाई ठूलो अवसर प्राप्त भएको छ। अतः सरकारले यसमा ढिला नगरीकन हाललाई कम्तीमा तीनवटा स्वर्ण पदक जित्ने खेलाडीका लागिमात्र यो प्याकेज घोषणा गर्नसक्छ। सरकारले यथा समयमै विशेष सहयोग प्याकेज घोषणा गरेमा धेरैैं खेलाडी अभिप्रेरित हुनेछन् र खेलै आफ्नो भविष्य उज्यालो हुने देख्नेेछन्। विद्यालय, कलेज, विश्वविद्यालयमा खेलकुद गतिविधि बढ्नेछ। गाउँगाउँबाट प्रतिभाशाली खेलाडीहरू प्रकट हुनेेछन्। मुलुकमा खेलकुदमैत्री वातावरण निर्माण हुनेछ। यसैले सरकारले खेलकुद सहयोग विशेष प्याकेज घोषणा गर्न डिलो नगर्नु उत्तम हुनेछ।

 

प्रकाशित: १० चैत्र २०६६ २१:३० मंगलबार