विचार

प्रविधिले चलाख बनायो कि वज्रस्वाँठ?

प्रविधिको विकास हुनुअघिको मान्छेको जीवन र अहिलेका मान्छेको जीवनबीच तुलना गर्ने हो भने हामीलाई सपना जस्तो लाग्न सक्छ। विशेषगरी पछिल्लो समयमा विकसित सूचना प्रविधिले मान्छेलाई कल्पनाको संसारसँग नजिक पुर्‍याइदिएको छ। एउटा सामान्य उदाहरणको रूपमा हुलाकलाई लिउँ। एक ठाउँको मान्छेले अर्को ठाउँको मान्छेलाई कुनै खबर पठाउने माध्यम थियो हुलाक। एक ठाउँको चिठी अर्को ठाउँमा पुर्‍याउँथ्यो हुलाकले। महिनौँ दिनपछि हात परेको चिठीले पनि मान्छेलाई कति धेरै खुसी र आनन्द प्रदान गर्थ्यो। मान्छेले आफन्तको सन्चो/बिसन्चोको खबर पाउँथे। भन्नु र सुन्नुपर्ने कुरा थाहा पाउँथे। सञ्चारको काम गर्थ्यो हुलाकले। तर अधिर भएर हुलाकीको बाटो हेर्नुपर्थ्यो मान्छेले खबर थाहा पाउनलाई।

अहिले भने समय बदलिएको छ। एक क्लिकको भरमा एक ठाउँको खबर अर्को ठाउँको मान्छेसम्म पुगिसक्छ। अझ आमनेसामने उभिएझैँ एकले अर्कोलाई हेर्दै अघाउँजी भलाकुसारी पनि गर्न सकिन्छ। यस्तो सुविधा दिएको छ सूचना प्रविधिको विकासले। सूचना प्रविधिको विकासले मान्छेको जीवनलाई सहज बनाइदिएको यो त एउटा उदाहरण मात्रै हो। साँच्चै नै धेरै कुरामा मान्छेको जीवनलाई सहज बनाइदिएको छ सूचना प्रविधिले। अझ सस्तो र सर्वसुलभ पनि बनाइदिएको छ। मान्छेलाई थप सभ्य, आधुनिक र अद्यावधिक बन्ने सुनौलो अवसर दिएको छ सूचना प्रविधिको विकासले।

अबका दिनमा मान्छेले प्रविधिबिनाको जीवनको कल्पना पनि गर्न सक्दैन। सूचना प्रविधिबिना मान्छेको जीवन नै ठप्प हुन्छ। निष्क्रिय हुन्छ। हातमा मोबाइल र साथमा ल्यापटप नहुँदाको जीवन मान्छेका लागि कष्टकर र असहज हुन्छ। मान्छेको जीवन र जीवनशैलीलाई अत्यन्तै सहज, सरल र सन्निकट बनाइदिने मुख्य साधन मोबाइल र ल्यापटप नै हुन्। यी दुवै साधन मान्छेका लागि आफ्नै शरीरको इन्द्रिय जस्तै भइसकेका छन्। मोबाइल र ल्यापटप मान्छेको शरीरका मुख्य इन्द्रियहरूका एकअर्काका परिपूरक नै भइसकेका छन्। यी दुई साधनको अभावमा मान्छेको शरीरका इन्द्रियहरू नै निष्क्रिय हुने अवस्था अहिलेको यथार्थ हो।

एकदिन मोबाइल र ल्यापटप साथमा भएन भने मान्छेको जीवन कस्तो हुन्छ होला ? सम्भवतः कल्पना मात्रैले पनि कहाली लाग्छ। अर्थात् मोबाइल र ल्यापटप नभए मान्छेको जीवन नै ठप्प हुन्छ र धेरै कुराको क्षति वा नोक्सानी हुन्छ। त्यसैले सूचना प्रविधि अहिलेका मान्छेका लागि अत्यावश्यक साधन भएको छ।

मान्छेको जीवनलाई सहज, सरल र सन्निकट बनाइदिने सूचना प्रविधिले मान्छेलाई नै चलाख बनाइदिएको छ। सूचना प्रविधिसँग भिजेका मान्छे साँच्चै स्मार्ट लाग्छन्। तिनको कार्यशैली नै स्मार्ट हुन्छन्। त्यस्तो कार्यशैलीबाट प्राप्त हुने नतिजा पनि स्मार्ट नै हुन्छन्। त्यसैले स्मार्ट बन्नकै लागि मान्छे सूचना प्रविधिको प्रयोगमा लालायित छन्। तर यहीँछेउ एउटा प्रश्न उब्जिन्छ, के सूचना प्रविधिले मान्छेलाई स्मार्ट मात्रै बनाएको छ कि वज्रस्वाँठ पनि? उत्तर दुवै खाले आउँछ।

हो, सूचना प्रविधिले मान्छेलाई पक्कै स्मार्ट बनाएको छ। यसमा कुनै सन्देह नै छैन। तर सूचना प्रविधिले मान्छेलाई वज्रस्वाँठ पनि बनाएको छ। बौद्धिक सुकुलगुन्डा बनाएको छ। यो पनि सत्य हो। अब प्रश्न उठ्न सक्छ, कसरी?

मान्छेको दिमागमा विचार, कल्पना र सिर्जना हुन्छ। अर्थात् मान्छेको दिमाग विचारशील हुन्छ, कल्पनाशील हुन्छ र सिर्जनशील पनि हुन्छ। मान्छेको दिमागको विचार, कल्पना र सिर्जनाले नै संसारमा नयाँ नयाँ आविष्कार भएका हुन् र नयाँ नयाँ सिर्जना भएका हुन्, जस्तै-साहित्य, कला, सङ्गीत इत्यादि। मान्छेको दिमागको विचार र कल्पनाशक्तिकै कारण अकल्पनीय भौतिक विकास पनि भएकै हो। पछिल्लो समय निकै रफ्तारमा भइरहेको सूचना प्रविधिको विकास पनि त्यही दिमागको विचार, कल्पनाशीलता र सिर्जनाशीलताकै उपज हुन्।

थोरै दिमागको विचार, कल्पना र सिर्जनाले उत्पादन गरेका प्रविधिका वस्तुलाई आधुनिक बजारशास्त्रले धेरै उपभोक्ता अर्थात् विश्वभरि नै यति छिटो र यति प्रभावशाली ढङ्गले विस्तार गरिदियो कि उपभोक्ताको संख्या ह्वात्तै बढ्यो। उपभोक्ताको संख्या यसरी ह्वात्तै बढ्नु पछाडि कारण पनि छन्। मुख्य कारण त त्यस्तो उत्पादनले मान्छेको जीवनशैलीलाई सहज र सरल बनाइदियो। जे गर्न पनि सजिलो बनाइदियो केही त्यस्ता वस्तु अथवा साधनले। जस्तै-मोबाइल र ल्यापटप। यी दुई साधनले मान्छेको जीवनशैली र उसको कार्यशैलीलाई नै अत्यन्तै सहज र सरल बनाइदिएको छ र उसको आर्थिक तथा सामाजिक क्रियाकलापलाई समेत सरल बनाइदिएको छ। त्यसैले संसारभरि नै यी दुई साधनका उपभोक्ता अर्थात् प्रयोगकर्ताको संख्या अकल्पनीयरूपमा बढेको हो।

सोचनीय कुरा के हो भने संसारभरि नै विचार, कल्पना र सिर्जनाशीलताका उपभोक्ता मात्रै बढे, स्वयं आफैँ विचार गर्ने, कल्पना गर्ने, सिर्जना गर्ने र नयाँ प्रतिपादन गर्नेहरू बढ्न सकेनन् अथवा बढ्न चाहेनन्। मोबाइल र ल्यापटप यस्ता साधन हुन्, जसले मान्छेलाई आफ्नै दिमागले सोच्ने, विचार गर्ने, कल्पना गर्ने र सिर्जना गर्ने अवसर दिँदैनन्। यी साधनले मान्छेलाई खालि उपयोग गर्न मात्रै प्रेरित गर्छन् र उत्साहित गर्छन्।

यस अर्थमा संसारभरिका मान्छे सीमित कम्पनीका दास बन्न पुगेका छन्। सीमित उत्पादकका उपभोक्ता मात्रै बन्न पुगेका छन्। गुगलका जन्मदाता सर्ज ब्रिन र लारी पेज हुन् अथवा फेसबुकका जन्मदाता मार्क जुकरवर्ग हुन् अथवा ट्विटरका एलन मस्क, यिनीहरूकै मुठ्ठीमा छ अहिलेको संसार। अरू धेरै कुरा छोडौँ, गुगल, फेसबुक र ट्विटर मात्रै नभए के हुन्छ यो संसार? एकदिन संसारभर इन्टरनेट नचले के हुन्छ होला? हामी कल्पना पनि गर्न नसक्ने अवस्थामा पुगिसकेका छौँ। 

प्रकाशित: १५ फाल्गुन २०७९ ००:२६ सोमबार

प्रविधिको विकास विकसित सूचना प्रविधि