देखिएकाभन्दा छेकिएका शत्रु बढी घातक हुन्छन्। सरकारी भेषमा हुन् वा नकच्चरो-निर्वस्त्र ‘आवरण’ मा, उनीहरू स्वराष्ट्रको होइन, अरूकै सेवामा दत्तचित्त रहन्छन्।
झण्डै बीस वर्ष पहिलेको कुरा हो। म एउटा राष्ट्रिय दैनिकको प्रधानसम्पादक थिएँ। राजकाजका कतिपय सूचना पाइरहन्थे। जुन छाप्न मिल्दैनथ्यो। चर्चा, छलफल र बहस गर्न पनि मिल्दैनथ्यो।
काठमाडौँमा कार्यरत केही कूटनीतिज्ञहरूले जलपान र भोजमा बोलाउने गर्थे। कूटनीतिक शिष्टाचारका कारणले पनि सदैव उनीहरूको आग्रह टार्न सकिने अवस्था थिएन। मित्रवत् व्यवहार गर्ने एकजना राजदूतले फोनमा भने-मेरो निवासमा रात्रिभोजमा तपाईँ आउनुभएमा खुसी हुने थिएँ।
मैले विनम्रतापूर्वक सोधेँ-अरू पत्रकार, लेखक र सम्पादकहरू पनि आउनुहोला, होइन? ‘होइन, तपाईँ र म मात्रै हो’-जवाफ आयो।
मैले आफू शुद्ध शाकाहारी भएको बताएँ। उनले भने-कुनै समस्या छैन। म पर्खेर बस्छु।
उनले भान्सामै लिएर गए। पत्नीसँग परिचय गराए। मैले मेरो सवारी चालकलाई केही खर्च दिएर होटलमा खाएर आउनुहोला भनेर पठाएँ।
राजदूतले तरकारी काटे। उनकी पत्नीले पकाउन थालिन्। मैले गाजर, मुला, टमाटर काटेँ, सलादका निम्ति। अत्यन्त निकट बन्न खोजिरहेका थिए, राजदूत महोदय।
खाना खाएपछि उनले तीन/चारवटा पुस्तक उपहार दिए। अर्को एउटा पुस्तक दक्षिण एसियाको कूटनीतिक षडयन्त्रबारे थियो।
राजदूतले भने-यो पुस्तक नेपालीमा अनुवाद गर्नुपर्नेछ। धेरैले तपाईँको नाम लिए। तपाईँको अनुवाद मीठो हुन्छ भन्छन्। तीन लाख रुपियाँ खर्च छुट्याएको छु, यसका निम्ति।
सर्सर्ती हेरेपछि मैले भनेँ-‘सात महिना जति लाग्न सक्छ, यसका लागि। मैले अर्को पुस्तक सम्पादन गरिरहेको छु।’ उनले सहमति जनाए। तीन चार दिनमै एक लाख पचास हजार रुपियाँ पेस्की दिने भए।
‘अर्को एउटा सानो दुःख दिन चाहन्छु। बजेट धेरै छैन। मासिक साठी हजार रुपियाँ मात्र छ तर त्यो काम चार/पाँच वर्षसम्म गरिदिनुहोला’-राजदूत बोले।
उनले व्याख्या गरे-तपाईँ जुन पदमा हुनुहुन्छ, त्यो सूचना केन्द्र नै हो। नेपालका विशिष्ट व्यक्तिहरू भेटिरहनु हुन्छ। अखबार पढ्नुहुन्छ। टेलिभिजन हेर्नुहुन्छ। रेडियो सुन्नुहुन्छ। तसर्थ, साँझपख पाँच/सात सय शब्दको विश्लेषण मलाई इमेल गरिदिनुभएमा आभारी हुने थिएँ।
म झस्किएँ। पुस्तक अनुवादको कुरा व्यावसायिक (प्रोफेसनल) थियो तर पछिल्लो प्रस्ताव मान्न म तयार भइनँ। राजा, प्रधानमन्त्री, मन्त्री, प्रधानसेनापतिदेखि लिएर नेपालका महत्त्वपूर्ण व्यक्तिले व्यक्त गरेका विचार म विदेशीलाई कसरी सुनाउन सक्थेँ र? मेरो अन्तरआत्माले स्वीकृति दिएन। मासिक बीस हजार रुपियाँ तलवमा गुजारा गरिरहेको प्रधानसम्पादकका लागि ‘मासिक साठी हजार रुपियाँ’ पक्कै आकर्षक ‘अफर’ थियो।
चार वर्ष मात्रै त्यो काम गरेको भए राजधानीमा एउटा घर र एउटा कार जोड्न गाह्रो थिएन। डेरामै जीवनयापन गरिरहेको अवस्थामा खर्चको व्यवस्थापन गर्न नसक्दा मेरै प्रियजनहरू मलाई धन कमाउन नसक्ने लाछी भनिरहेका थिए।
राजदूतको प्रस्तावले म अलि क्रुद्ध भए पनि क्रोध लुकाउँदै भने-तपाईँले मबाट जे अपेक्षा गरिरहनुभएको छ, त्यो हुन सक्दैन। नारायणहिटी राजदरवार वा सिंहदरवारमा लगेर मलाई फूल गोड्ने काममा लगाइयो भने त्यो गरुँला तर कुनै पनि विदेशीलाई सूचना, विश्लेषण र विवेचना जस्ता सेवा उपलब्ध गराउन मेरो नैतिकताले दिँदैन।
राजदूत अलि खिन्न भए। मैले सहज हुन खोज्दै भने-‘हाम्रो सम्बन्ध यथावत रहन्छ। नेपालमा यस्ता पनि पत्रकार छन् भनेर तपाईले पक्कै सम्झनु हुनेछ।’ त्यसपछि मैले पुस्तक अनुवाद गर्ने कुरा पनि स्वीकार गरिनँ।
नेपालका कतिपय प्राध्यापक, लेखक, बुद्धिजीवी, उच्चपदस्थ नेता, कर्मचारी आदिलाई दानापानी खुवाएर आफ्नो बनाउन विदेशीले प्रयत्न गर्छन्। राष्ट्रका अदृश्य शत्रु बनाउँछन्। सो घटना मेरा लागि एउटा पाठ थियो।
भित्री शत्रु, बहुरूपी, रहस्यमय पात्र, अज्ञात शत्रु, लुकेको शत्रु आदि अनेक शब्दले गुप्तचरहरूलाई चिनिन्छ। नेपाली सेनाका एकजना जर्नेलले माओवादी विद्रोहीलाई सेनाका सयकडौँ पोशाक दिएर गुप्त सहयोग गरेको कुरा मलाई एकजना मेजर जनरलले सुनाएका थिए।
राजा वीरेन्द्रका प्रमुख सुरक्षा अधिकृत बनेर सेवा गरेका एकजना सैनिक अधिकृले विदेशी गुप्तचर संस्थालाई सूचना बेच्ने गरेको पनि उनैले सुनाए। त्यस्ता अदृश्य शत्रुहरू आज झन धेरै छन्। किनभने नेपालका गुप्त सूचना प्राप्त गर्न विदेशीहरूबीचमै प्रतिस्पर्धा देखिन्छ।
प्रकाशचन्द्र टण्डन नामका भारतीय पत्रकारलाई राजा महेन्द्रले २०१८ सालमा ‘नेपालबाट तुरुन्त जाउ’ भनेर निकाला गरेका थिए। लाजिम्पाटको एउटा होटलमा मेरै उमेरका एकजना भारतीय पत्रकारसँग केही वर्ष पहिले भेट भयो। उनी संयोगले टण्डन थरकै थिए। मैले ठट्टा गर्दै भनेँ-झण्डै साठी वर्षपहिले नेपालबाट एकजना टण्डन लखेटिएका थिए, तपाईँ उनकै नातेदार त होइन होला नि!
उनले भने-‘म प्रकाशचन्द्र (पिसी) कै छोरा हुँ।’ हामी दुवै हाँस्यौ। उनले भने-मेरी आमाले भन्नुहुन्थ्यो, नेपालको विदेश मन्त्रालयले २४ घण्टाभित्र नेपालबाट फर्किनू भन्ने उर्दी जारी गरेपछि मेरा चिसा थाङ्नाहरू पनि पोको पारेर बुबाआमा भाग्नुभएछ। राजा महेन्द्र त खतरनाक राजा थिए रे।
पिसीले राजा महेन्द्रलाई ‘चीनपरस्त’ भनेर लेखेका रहेछन्, प्रेस ट्रस्ट अफ इन्डियाको समाचारमा। महेन्द्र रिसले आगो भएछन्। नेपालमा बसेर नेपाल र नेपालीविरुद्ध जथाभावी बोल्ने-लेख्ने विदेशीलाई उनी देश निकाला गर्थे। किनभने ऊबेला नेपालको शासनमा विदेशीको हुकुम चल्दैनथ्यो। बिपीलगायत धेरैको कथन छ-राजा महेन्द्रले थाहा नपाएका कुरा शायद थोरै थिए।
बिपी प्रधानमन्त्री छँदा ‘सभामुखलाई लिएर आउनू’ भनेर महेन्द्रले एकजना कर्णेललाई पठाएछन्। उनको निवास, नातेदार, साथीहरूका घर केही फेला नपारेपछि कर्णेलले त्यो जाहेर गरे। महेन्द्रले भनेछन्-‘नरदेवी मन्दिरछेउमा मैचाको भट्टीमा जान्छन् भन्ने सुनेको छु, त्यहाँबाट लिएर आउनू।’
नभन्दै, मदिराप्रेमी ब्राह्मण त्यहाँ भेटिए। कांग्रेसका पूर्वमहामन्त्री श्रीभद्र शर्मा भन्नुहुन्थ्यो-वनारसको कुन कुन प्रेसमा नेपाली कांग्रेसले ऊबेला पर्चा छाप्छ भन्ने पनि सूचना थियो, महेन्द्रलाई।
अंग्रेजीमा कथन छ-‘सज्जन हजार शत्रु भन्दा एउटा मूर्ख शत्रु घातक हुन्छ।’ हुन पनि हो, त्यस्तो शत्रु विनासकारी हुन्छ। दश वर्षे द्वन्द्वका बेला हजारौँ नेपालीको हत्या गर्ने, कैयन् बैंक लुट्ने, लाखौँ मानिसलाई उठिबास गराउनेहरू सज्जन होइनन्। दुर्जनहरूले दुर्जनको प्रशंसा गरे पनि बितेका तेह्र चौध वर्षको अवस्था हेर्दा दुर्जनपन्थीहरूको मोहभंग हुँदै गएको छ।
‘ओडिसी’ ग्रन्थमा ट्रोजन हर्सको कथा आउँछ। ग्रिकहरूले युद्धमा पश्चिम अनातोलियामा ट्रोयका जनतालाई जितेको रोचक कथा हो, यो मिथकमय कथा। स्पार्टा देशकी सुन्दरी महारानी हेलेनलाई हरण गर्न ट्रोजन युवराज पेरिसले रणनीति बनाउँछन्। केही सैनिकलाई काठको विशाल ‘घोडा’ बनाएर लुकाएर लगिन्छ। अहिलेको युगमा ट्रोजन हर्स युद्ध-रणनीतिको ‘मेटाफर’ (रूपक) मानिन्छ। चिनियाँहरू ‘परिणाम प्राप्त भएपछि मात्र प्रचार गर्नू’ भन्छन्। नयाँ इनारमा पानी आएपछि मात्र पुरानो इनार पुर्नू भनेका छन्, ज्ञानीजनले।
छद्मयुद्धका खेलाडी हुन, छद्मशत्रुहरू। मित्र, उच्चस्तरका कर्मचारी, सूचना संग्रह गर्नेहरू, परोपकारी, समाजसेवी, राजनीतिज्ञ आदिका भेषमा नेपालमा राष्ट्र द्रोह नै पेसा बनाउनेहरू धेरै छन्। तसर्थ, अदृश्य शत्रुहरू कहाँ, कसरी, किन काम गर्छन् भन्ने गहिरो विश्लेषण नगरिएसम्म अत्याधुनिक हतियारले युद्ध जित्न सकिँदैन भन्ने युद्धविद्हरूको तर्क छ।
‘मिलिटरी ट्याक्टिस’ अध्ययन गरेकाहरूको भनाइ छ-‘धेरै शत्रुलाई एकै ठाउँमा मार्न सकियोस् भनेर ‘किलिङ जोन’ भन्ने व्यूह रचना गरिन्छ। यसमा गुप्त योजना, कमन सेन्स, प्रविधि, अठोट, एम्बुस, सूचना संकलन र त्यसको विश्लेषण लगायतका विषय बुझेका ज्ञाताहरू आवश्यक पर्छ। शुक्राचार्यकृत शुक्रनीति र सुनजुकृत ‘युद्धकला’ जस्ता ग्रन्थमा यसको विशद चर्चा छ। दश वर्ष चलेको प्रायोजित सशस्त्र विद्रोह आतंकवाद हो कि राजनीतिक समस्या हो भन्ने टुंगो लगाउन नसक्दा राष्ट्रमा अदृश्य शत्रु बढे।
प्राच्य दर्शनका ज्ञाताहरू भन्छन्- ‘विचार नै परम बलशाली हुन्छ।’
कुनै योजना, क्षमता, योग्यता, अठोट, ज्ञान र साहस नभए पनि मानिस उच्च पदमा पुग्न सक्छ तर ऊ इतिहासमा अमर हुँदैन। जस्तो, नेपालका धेरै राजस्वजीवीहरू घूस, छलकपट, चाकडी, भनसुन वा घोकन्ते विद्याको भर्याङ चढेर माथिमाथि पुगे तर सम्झन लायक काम गरेनन्। लोकसेवा आयोगको अनुहार नदेखेका अलोकप्रसादहरू हुन् वा शत्रु देख्दा झडापखाला लाग्ने वीरबहादुर, उनीहरूको भर पर्दा राष्ट्रमा अदृश्य शत्रु बढे, बढिरहेकै छन्।
राष्ट्रको रक्षा गर्ने हो भने नेपालले इजरायलकै मोडल अपनाउनु आवश्यक देखिन्छ। शत्रुले इजरायललाई हेप्न खोजेमा उसले ठूलो मूल्य चुकाउनुपर्छ। कसैले राष्ट्रघात गर्छ भने त्यस्तालाई इजरायलमा मानव अधिकार, स्वतन्त्रता र डेमोक्रेसीको खास्टो ओढाएर लुकाइँदैन।
प्रकाशित: ५ फाल्गुन २०७९ ००:०५ शुक्रबार