विचार

वास्तविक तीज

व्रत बस्नेमात्र हैन, राम्रो खाने र राम्रो लाउने पर्व पनि हो तीज। कि त दशैंमा राम्रो र नयाँ लुगा लगाउँछन् नेपालीले कि त तीजमा। यहाँ नेपाली भन्नाले ती निमुखा बुझिन्छन् जो टन्न खान र राम्रो देखिने लगाउनकै लागि तीज जस्ता पर्व पर्खन विवश छन्। त्यसैले त यस्ता पर्व खाली आउने र जानेसँग मात्र सम्बन्धित छैनन्, नेपालीको पीडा र दरिद्रतालाई थोरै समय भए पनि सान्त्वना दिलाउने सवालसँग गाँसिएका छन्।

सन्दर्भ हो– हरुवाचरुवाको। जो जन्मेदेखि नै मालिकको घरमा खेती गरिदिने र वस्तुभाउ चराउनेको छोराछोरीका रूपमा चिनिन्छन्, जो त्यतिबेलैदेखि आफ्नो हैन, 'अर्काको' विशेषण भिरेर आउँछन्, तिनलाई खोइ तीज? जो दिनरात काम गरेन भने भोकै बस्नुपर्छ, जसको यही कारण ताउलो जल्दैन, उसले कसरी मनाउने तीज? कहाँबाट ल्याउने ताउलोमा हाल्ने जाउलो? तर हामी यस्तो वास्तविकतापटि्ट ठ्याम्मै ध्यान दिन्नौँ। अनि सबै नेपालीले महिना दिनअघिदेखि दर खाएको प्रचार गर्छौं र आत्मरतिमा रमाउँछौँ। के महिना दिनदेखि दर खान पाउने भाग्यमानीमा यिनीहरु पनि पर्छन्?

सन्दर्भ हो– हलीको। जो वर्षौंदेखि मालिकको घरमा जन्मे र त्यहीँ हुर्के। जसको न पढाइ चल्यो न त विवेक नै। भित्री वा बाहिरी दुवै संसार मालिककै घर हो भन्न बाध्य पारिएका यी बबुरालाई कहिल्यै तीज आएन। हो, यिनले पनि तीज सुने, तीज देखे, तर महसुस गर्न भने पाएनन्। दर यिनीहरुको पेटमा आजको मितिसम्म परेको छैन। तर हामी निष्पि्कक्री प्रचार गरिरहेका छौँ कि दुनियाँले कैयौं दिनदेखि दर खाइरहेका छन्। आखिर किन हुन्छ हँ कुप्रचार? यो देशमा दरको मुखै नदेखी मृत्यु वरण गर्नेहरु हजार हैन, लाखौँको संख्यामा छ भन्ने किन बुझ्न चाहन्नौँ हामी?

पर्व कसैको निजी हुनै सक्दैन। यो राष्ट्रिय/क्षेत्रीय संस्कार र संस्कृति हो। त्यसैले यसको अपनत्व सबै समुदायले ग्रहण गरेका हुन्छन् तर विडम्बना, नेपालमा पर्वले पनि विभेद गरिरहेको छ। त्यही पर्व धनीकहाँमात्र उल्लासमय हुन्छ, त्यही पर्व हुनेखानेको घरमा मात्र रमाउँछ। उसले पनि गरिबको दैलो नटेकेपछि कसरी मनाउन मुसहर र हलीले तीज? उसले जानै नमानेपछि कसरी लिउन् भूमिहीन र खेतालाले पर्वको स्वाद? उसले हेर्दै नहेरेपछि कसरी देखून् र महसुस गरुन् हुँदा खानेहरुले पर्व? अनि कसरी रमाउन सक्छन् उनीहरु पर्वका बेला?

त्यसैले अहिले मनाउने गरिएको तीज होस् वा अन्य पर्व, वास्तवमा आएकै छैन। आएको भए किन सबै नेपालीले मनाउन पाएनन्? किन सबैले मनाउने बनाउन सकिएन? त्यसैले जबसम्म सबैले यसप्रति अपनत्व ग्रहण गर्न सक्दैनन् तबसम्म यो सर्वग्राह्य हुनै सक्दैन। यही कारण हो कि पर्वहरु पनि विभेदधारी हुन्छन् भन्ने मान्यता सही ठहरिएको। हैन भने किन सबैको दैलो समान हुँदैन उसका लागि? किन पक्षपाती बन्छ ऊ सधैँ? जबसम्म यी प्रश्नको उत्तर एक एक गरी आउँदैन, तबसम्म वास्तविक तीज आएको मानिने छैन। यो पक्का हो। 

प्रकाशित: १९ भाद्र २०७३ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App