तीज लोकभाका, गीत र सङ्गीत मात्र होइन, यसका प्रयोग संस्कारसँग आधारित छन्। संस्कारको पनि आधार भक्ति संस्कारसँग रहेको पाइन्छ। भक्ति संस्कारको आधार सत्यको आफ्नै व्याख्या र महात्म्य हुन्छ। तीज त्यो चाहना, समर्पणको ईश्वरीय महात्म्यको अनुकरण हो जब भगवती पार्वतीको ध्यान र व्रतको अन्तिम शिव प्राप्तिको अवस्था थियो। पार्वतीको शिव पतिका रूपमा प्राप्त गर्ने प्रयास र अनुष्ठानको सुलभ प्रतिलिपि मानव चाड तीजको स्वरूप हो।
समय क्रमसँगै भक्ति स्वभावबाट प्रस्फुटित संस्कार सामाजिक संस्कार भएको छ। समाज र शिक्षाको विकासक्रमसँगै तीज मान्ने पर्वते बाहुन, क्षत्रीबाट अन्य जाति र धर्ममा पनि क्रमशः प्रभावशाली हँुदै गएको पाइन्छ। तीजको आफ्नै विशेषता छन्, जस्तै– दशैं र तिहारको। नेपालीहरुको ठूलोे चाड वडा दशैँ जस्तै तीजले पनि आफ्नो आकार र महत्वलाई दिनानुदिन वृद्धि गर्दै लगेको छ।
सबैले आफ्नो श्रीमान्लाई शिवका रूपमा र सबै श्रीमान्ले श्रीमतीलाई पार्वतीका रूपमा देखून् जसमा प्रेम, समर्पण र सम्मान होस् भन्ने हेतुले यो संस्कार विकास गरिएको पाइन्छ।
हिन्दु धर्ममा तीज भाद्र कृष्ण त्रयोदशीका दिन मनाउने गरिन्छ। यो तिथिको महत्व विभिन्न हिन्दु धर्ममा विभिन्न स्वरूपमा मुखरित भएको पाइन्छ। भारततर्फका हिन्दुहरुले यस तिथिलाई करवाचौथ पर्वका रूपमा मनाउने गर्छन्। नेपालतर्फका हिन्दु पर्वते महिलाले तीजका रूपमा मनाउने गर्छन्। भारत र नेपालमा मनाईने दुवै पर्वको साझा महत्व आफ्नो श्रीमान्को लामो आयु र सुस्वास्थ्यको भगवान शिवसँग गरिने कामना हो। अविवाहित केटीहरुले आफ्नो हुने श्रीमान् भगवान आशुतोष शिव जस्तै होस् र हुने श्रीमान्लाई नदेखे पनि, नभेटे पनि सुस्वास्थ्य र दीर्घायुको कामना गरी मनाउने गर्छन्। अन्य जातजाति, भाषा संस्कृितमा पनि यो तिथिमा विभिन्न प्रकारका चाडवाड मनाइने गरिन्छ।
तीजमा व्रतको आफ्नै महत्व छ। अन्य अवस्था र पर्वमा बस्ने व्रतमा फलाहार, पानी पिउने आदि गर्न पाइने प्रचलन छ। तीजमा फलफूल, पानी पनि सेवन गर्न नहुने हिन्दु मान्यता पाइन्छ। भोजनशून्य अवस्थाको महत्व भगवती पार्वतीको तपस्यासँग जोडिएको छ। भगवती पार्वतीले पतिका रूपमा भगवान शिवलाई प्राप्त गर्न बसेको व्रतमा निराहार व्रत बसेको इतिहास छ। त्यही परम्परा र संस्कारको ईश्वरीय कदर गरी हिन्दु महिलाहरु आफ्नो श्रीमान्लाई प्राणनाथ सम्झी पतिव्रता धर्मको पालना गर्ने वाचासहित तीजको व्रत बस्छन्। तीजको व्रत समापनमा आफ्नो श्रीमान्को सम्झना, भक्तिबाट भोजन गर्ने परम्परा छ। सबैले आफ्नो श्रीमान्लाई शिवका रूपमा र सबै श्रीमान्ले श्रीमतीलाई पार्वतीका रूपमा देखून् जसमा प्रेम, समर्पण र सम्मान होस् भन्ने हेतुले यो संस्कार विकास गरिएको पाइन्छ। तीजका विभिन्न पक्ष र क्षेत्रमा भएको महत्व यसप्रकार हेर्न सकिन्छ :
प्रेम सम्बन्ध र ईश्वरीय स्वरूप : तीजले पति पत्नीको रूपलाई शिव पार्वतीको स्वरूपमा व्याख्या गरेको छ। हरेक पति पत्नी शिव पार्वती हुन्, मानवीय प्राकृतिक प्रेम सम्बन्धलाई संस्कारमार्फत ईश्वरीय महत्व प्रदान गर्नु तीजको महत्व हो।
प्रेम सम्झना : तीजमा महिला माइत जाने, माइतमै श्रीमान् सम्झी व्रत बस्ने प्रचलन महत्वपूर्ण छ किनकि पार्वतीको जस्तै शिवरहित एक्लोपनाको महसुस त्यो अवस्थामा गराउन खोजिएको हो।
बन्धु प्रेम : भाइटीका, दशैंको टीका वन्धु र इष्टमित्रबीचको दही (जमेको) सम्बन्ध हो। तीजमा दाजुभाइ, दिदीबहिनीलाई निम्ता गर्न, लिन जति टाढा भए पनि दिदीबहिनीको घरमा जाने प्रचलन छ। यदि नगएमा त्यो जस्तो ठूलोे चित्तभेदन अवस्था महिलामा हँुदैन। तीजमा भाई लिन आयो/आएन त्यो चेलीको मानसपटलको ठूलोे मर्म र उत्साहको कारण हो।
संगी सम्बन्ध : बाल विवाह हिन्दु धर्मको कमजोरी थियो। वर्तमान अवस्थामा वाल विवाहमा सुधार आएको छ। केही वर्ष उतामात्र सम्झने हो भने चेली रजस्वला हुनुअगाडि विवाह गरी माइती छोडी जान्थिन्। माइतीको सम्झनाको तिर्खा तीजमा भेटिएका संगीहरुसंँगको भेटघाटले मेटिन्थ्यो। तीजले संगी सम्बन्धको असली मर्म समेट्छ।
भक्ति सम्बन्ध : वास्तवमा तीज महिलाको भक्ति स्वभावको वृद्धि गर्ने चाड हो। श्रीमान्का लागि गरिएको व्रत भए तापनि वास्तविक व्रतालुहरुले भगवान आशुतोष शिवको हरक्षण याद र ध्यान गरिरहन्छन्। तीज मात्रमा गहन भक्ति गर्नेले भोलिपल्ट पनि केही भक्ति र सम्झना अवश्य गर्छ। क्रमशः तीज महिलाको भक्ति स्वभावको विकास गर्ने मन्त्रका रूपमा स्थापित भएको पाइन्छ।
त्यागको नमुना : महिलाबाट जीवनदायी पानी तक् श्रीमान्का लागि त्याग गर्न देवीहरु पछि पर्दैनन् भन्ने त्यागको नमुना तीज पर्व हो।
सामाजिक परिचालन : तीजको चाडपर्वमा प्रायः वर्ष दिनमा एक छाक खाना नबनाउने श्रीमान्हरु पनि भान्छामा हुन्छन्। समाजले नयाँ रंग धारण गर्छ। सामाजिक चहलपहलले सिंगो देश नै रंगिन हुन्छ। महिलाका काम पुरुषले गरिदिने हुंँदा महिलाको पूर्ण फुर्सद र कार्य मुक्तिको पर्व पनि तीज हो।
वेशभुषा : वर्ष दिनमा दशैंपछि राम्रा लुगा लगाउने दिन तीज हो। मनको तिर्सना मेटिने गरी महिलाले पुरातन लुगा र गहनामा आधुनिकीकरण गरी लगाउने गर्छन्।
खानपान : तीज पर्वको अघिल्लो दिन र समापनको दिन विशेष खानपानले हरेकको भान्छा मात्र होइन, मध्य रातसम्म घर नै बास्ना आएको हुन्छ। परिकारहरुको संग्रह नै गरिन्छ। रात १२ बजेसम्म खाइरहने, रमाइलो गर्ने चलन छ। व्रत सकिएको दिन विभिन्न प्रकारका अचार, दही, मोही, कर्कलो, फर्सीको तरकारी आदि खाने चलन छ।
बिदा : सरकारी, अर्धसरकारी, विद्यालय, महाविद्यालयसँग सम्बन्धित सबै महिलालाई सरकारले सार्वजनिक बिदाको व्यवस्था गरेको छ।
गीत/संगीत : तीजका गीत केही फरक हुन्छन्। धान रोप्दाको गीत, देउसी भैलोको गीत, रत्यौली खेल्दाको गीतहरुभन्दा तीजका गीत प्रसङ्गअनुसार फरक हुन्छन्। तीज मात्र महिलाहरुको चाड भएकाले प्रायः महिलाले मात्र सामूहिक गीत गाउँछन्। तीजका गीतमा महिलाको पीडादायी घर र सुखी माइतीको विरहलाग्दो कहानी हुन्छ।
प्रकाशित: १६ भाद्र २०७३ ०४:५७ बिहीबार