विचार

भारी मन, गह्रुङ्गो झोला र स्कुल

ठूलो झोला, धेरै किताब, घाँटीमा टाइ दाम्लो, ठेलमठेल बसको यात्रा संस्थागत विद्यालयका विद्यार्थीका नित्य दैनिकी नै हुन्। हाम्रा सुविधा सम्पन्न विद्यालयमा कलिला बालबच्चालाई स्कुल जाँदाको पहिलो दिनमै झोलामा पिउने पानीको बोटल बोक्न सिकाइन्छ। धेरै किताब, लामो समयसम्म विद्यालयको बसाइ र कडा अनुशासन विद्यार्थीको सिकाइ प्रक्रियाका लागि बाधक बन्दछन्। देखासिकीका भरमा विद्यार्थीलाई स्मार्ट र आधुनिक देखाउने बहानामा ठूलो झोला, उमेरसँग नमिल्ने किसिमका पाठ्यपुस्तक र राम्रो बानीका रूपमा चित्रण गरेर बालबच्चालाई पिउने पानीसमेत बोक्न बाध्य बनाउने प्रवृत्ति नेपाली समाजमा बढ्दै गएको छ। बालबालिकाको विकास र सिकाइमा जोड दिने अनि सुविधा सम्पन्न भनेर प्रचार गरी चर्को शुल्क असुल्ने विद्यालयले विद्यालयमै बालबालिकालाई पर्याप्त मात्रामा स्वच्छ पिउने पानीको व्यवस्था गर्नुपर्दछ। तर यथार्थ त्यस्तो छैन। बालबच्चालाई घरबाट खाजा र पानीको व्यवस्था गरी विद्यालय पठाउनुपर्ने अवस्थामा धेरै अभिभावकहरू छन्।  

केही उच्चस्तरका वा महँगा विद्यालयले खाजा र खाना विद्यालयमा उपलब्ध गराए पनि पानी भने बच्चालाई नै बोक्न लगाएको देखिन्छ। विद्यालयले स्वस्थ पानीको व्यवस्था गर्दा लगानी बढ्ने तर सबै विद्यार्थीले आ–आफ्ना काम आफैँ गरेमा समस्या नै सिर्जना नहुने भन्ने केही विद्यालयको आदर्श र व्यापारवादी तर्क पनि देखिन्छ। त्यसो त अभिभावकले पनि बच्चाका लागि केही गर्नुपर्‍यो नि भन्ने जवाफ समेत केही विद्यालयबाट पाइने गरेको छ। विद्यालयले अनेक किसिमका कुरा जोडेर पन्छिन खोजे पनि बालबालिकालाई उपयुक्त किसिमको वातावरण, शौचालय र कम्तीमा स्वच्छ पिउने पानीको व्यवस्था गर्नु विद्यालयको कर्तव्य हो। कलिला बालबच्चालाई पानीको बोटल समेत थपेर गहु्रँगो भारी बोकाउनु उनीहरूमाथिको अन्याय र अत्याचार हो।  

चाहे सामुदायिक होस् वा संस्थागत जुनसुकै प्रकृतिको विद्यालय भए पनि शौचालय र स्वच्छ पिउने पानीको व्यवस्था विद्यालयका अति आवश्यक पूर्वसर्त हुन्। शौचालय र पिउने पानीको व्यवस्था नै नभएका विद्यालयमा आधुनिकताका नाममा अरू जेसुकै सुविधा थपिए पनि तिनीहरूले बालबालिकाको सिकाइ र गुणस्तरीय जीवनमा तात्विक प्रभाव पार्न सक्दैनन्। सामुदायिक विद्यालयमा पिउने पानीको अभाव छ भने स्थानीय तहले आफ्नो अधिकार क्षेत्र ग्रहण गरी स्वच्छ पिउने पानीको व्यवस्था गर्नै पर्दछ। निजी विद्यालयका सन्दर्भमा यदि उनीहरू पिउने पानीसम्म बालबालिकालाई उपलब्ध गराउन सक्दैनन् भने विद्यालय खोल्ने कामबाट पछि हट्नु नै उपयुक्त हुन्छ। लगानीका अनेक क्षेत्रहरू विद्यमान रहेको अवस्थामा विद्यालय वा शिक्षा क्षेत्रमा नै लगानी गर्नुपर्दछ भन्ने छैन। बजेट र पूर्वाधारका विभिन्न कुरालाई अगाडि सारेर सामुदायिक विद्यालयहरू पन्छिने अनि विद्यार्थीबाट राम्रो शुल्क असुल्ने संस्थागत विद्यालय पनि गैरजिम्मेवार बन्ने प्रवृत्तिमाथि लगाम लगाउनु अति आवश्यक छ।  

बच्चाका दृष्टिकोणबाट हेर्दा खेलेर सिक्ने उमेरमा विद्यालयमा प्रवेश गर्नु उनीहरूका लागि रमाइलो विषय होइन। कलिलो उमेरमा विद्यालय जाने र त्यहाँ अनुशासनका नाममा लादिएका नियमहरूभित्र सङ्कुचित भएर बस्नुपर्ने अवस्थाले उनीहरूमा मानसिक बोझ र तनाव सिर्जना गरेको हुन्छ। धेरै किताब कापी अनि खाजा र पानी बोक्दा उनीहरूको झोला निकै गरुङ्गो बनेको हुन्छ। विद्यार्थीको झोलाको वजन र यसले बालबच्चाको वृद्धि र विकासमा पार्ने प्रतिकूल प्रभावका बारेमा अभिभावकहरू अनभिज्ञ देखिन्छन्।

विद्यालय जाँदा गरुङ्गो झोला बोकेर हिँडेका विद्यार्थी विद्यालयबाट फर्कने बेलामा पनि गुणस्तर र स्तरीय शिक्षाका नाममा दिइने गरेका गृहकार्यका भारीले थिचिएका हुन्छन्। खेलकुद, नृत्य र अन्य मनोरञ्जनात्मक कार्यक्रमका लागि समेत समय छुट्याए पनि विद्यार्थीहरूले स्वच्छन्दरूपमा आफूलाई अभिव्यक्त गर्न पाएका हुँदैनन्। अङ्ग्रेजी भाषा अभिभावकलाई विद्यालयतर्फ आकर्षण गर्ने माध्यम बन्ने गरेको छ। आजकल विद्यार्थीलाई नियन्त्रण गर्ने साधनसमेत अङ्ग्रेजी बन्न थालेको देखिन्छ। पूर्व प्राथमिक विद्यालयका बालबच्चालाई अङ्ग्रेजीमै बोल्न बाध्य पार्ने अन्य भाषा प्रयोग गरे दण्ड सजाय गर्ने प्रवृत्तिले बच्चाको भाषिक सिप सिकाइमा ठूलै समस्या ल्याउन थालेको छ। यसले मनोसामाजिक समस्याहरू पनि बढाउँदै गएको छ। विद्यालयमा अङ्ग्रेजीमै बोल्नुपर्ने बाध्यता अर्कोतिर घरमा पनि व्यस्त अभिभावकले समय नदिँदा उनीहरूको उपयुक्त सामाजिकीकरण हुन पाउँदैन।  

घर पुगेर झोला बिसाउनासाथ विद्यालयले दिएको तनावले उनीहरूको मन आत्तिन थाल्छ। साथीभाइ, इष्टमित्र र घर-परिवारसँग अन्तरक्रिया गर्ने फुर्सदसमेत बालबच्चाले पाउन छोडेका छन्। घर पुग्नासाथ गृहकार्यको झमेलामा फस्ने गरेका बालबालिका आफ्नो जीवन नै विद्यालय र घरमा मात्र सीमित रहेको देख्न थाल्छन्। अझ शिक्षित र उच्चस्तरका भनिएका परिवारका बालबालिका होम ट्युसनको समेत सिकार हुने गरेका छन्। घर पुग्दानपुग्दै होम ट्युसनमा सहभागी हुनुपर्दा उनीहरू पढाइलेखाइलाई झनै अरूचिकर सजायका रूपमा लिन थाल्छन्। यी सबै गतिविधिले समग्रमा बालबालिकाको पठनपाठनप्रतिको रुचि कम हुँदै गएको छ। यति मात्र होइन, पठन संस्कृतिमै विचलन आउन थालेको छ। पढेर रमाइलो गर्ने र रमाइलोका लागि पढ्ने वातावरण सिर्जना नहुन्जेलसम्म अभिभावकका तर्फबाट गरिएका प्रयासहरू बालुवामा पानी बन्ने निश्चित छ।

बालबालिकाले विद्यालय जाँदा कतिसम्म गह्रुङ्गो झोला बोक्ने भन्ने कुराको कुनै मापदण्ड भेटिँदैन। त्यसो त अभिभावकहरूले पनि यस विषयमा सरोकार राखेको पाइँदैन। बरु दुईवटा झोला बनाएर अभिभावकले नै स्कुल बससम्म पुर्‍याइदिने व्यवस्था गर्ने अभिभावकहरू पनि भेटिन थालेका छन्। बिहान बस चढ्ने स्टेसनसम्म पुराइदिने अनि साँझ बसबाट ओर्लिएपछि घरसम्म झोला ल्याउने मानिसको व्यवस्था गर्न सक्ने अभिभावकले यति ठूलो झोला बोक्नुको औचित्य के हो भन्नेबारेमा चासो र चिन्ता नराख्नु उदेकलाग्दो विषय हो।  

साना बालबच्चालाई पनि ८ देखि १० घण्टासम्म विद्यालयमा राख्ने प्रवृत्ति पछिल्लो समय मौलाउँदै गएको छ। बाल मनोविज्ञानलाई ध्यान दिएर सिकाइ क्रियाकलापलाई नै केन्द्रमा राख्ने भनिएका विद्यालयहरूसमेत अहिले विस्तारै बालबच्चा मैत्रीभन्दा अभिभावकमैत्री बन्न पुगेका छन्। अभिभावकले अफिस जानु भन्दा अगाडि बच्चालाई विद्यालय पठाउने र आफू अफिसबाट फर्केपछि मात्र बच्चा घरमा आओस् भन्ने चाहना राख्ने भएकाले माथिल्लो तहका भन्दा पूर्व प्राथमिक र प्राथमिक तहका बालबच्चाहरू लामो समयसम्म विद्यालयमा बस्न विवश भएका छन्। दिनभरको पट्यारलाग्दो विद्यालय बसाइ, अभिभावकसँग टाढिनुपर्दाको अत्यास, विद्यालय प्रवेशपछि खोसिएको स्वतन्त्रता र प्राकृतिक वातावरणको अभावले बालबालिकाहरू मनोसामाजिक समस्याले ग्रस्त हुन थालेका छन्।  

अनावश्यक कुरामा झर्किने, आदर सत्कार गर्नुपर्ने व्यक्तिलाई सत्कार नगर्ने र निराश भएर बस्ने प्रवृत्ति बालबालिकामा बढ्दै गएको छ। बिहानदेखि साँझसम्म विद्यालयको बसाइले बालबालिकामा सामाजिक सिप, पारिवारिक र प्राकृतिक वातावरणको अनुभव लिनबाट पछि परेका छन्। यस दिशामा न त स्थानीय तहले ध्यान दिएको छ न त सम्बन्धित अभिभावकहरू नै सचेत हुन सकेका छन्। बरु कामकाजी अभिभावक बालबालिकाको शिक्षामा जति पनि पैसा खर्च गर्ने तर समय दिन नसक्ने अवस्थामा देखिन्छन्।  

जतिखेर बालबच्चालाई अभिभावकको समय आवश्यक पर्दछ त्यतिखेर समय दिन नसक्ने अभिभावकले तिनै बालबालिकाबाट वृद्धावस्थामा आफूहरूको समेत रेखदेखको अपेक्षा गर्नु कदापि सुहाउने कुरा होइन। लामो समयसम्म विद्यालयमा राख्दैन वा ठूला झोला बोकाउँदैमा विद्यार्थीको सिकाइमा गुणस्तर आउने होइन। बरु यसले उनीहरूको वृद्धि र विकासमा नकारात्मक प्रभाव पार्दछ। अन्तर्राष्ट्रिय मान्यताअनुसार बालबच्चालाई उनीहरूको वजनको १०% भन्दा गहु्रङ्गो झोला बोकाउन पाइँदैन।  

छिमेकी राष्ट्र भारतमा समेत दिल्ली सरकारले निर्देशिका नै जारी गरी दुई कक्षासम्म गृहकार्य नै दिन नपाउने, पूर्व प्राथमिक विद्यालयमा स्कुल ब्याग र किताब राख्न नपाइने व्यवस्था गरेको छ। १–२ कक्षाका बालबालिकालाई एउटा मात्र कापीको व्यवस्था गर्नुपर्ने निर्देशन जारी गरेको दिल्ली सरकारले खानेपानी स्कुलमै उपलब्ध गराउनुपर्ने निर्देशन दिई विद्यालयलाई बालमैत्री बनाउन सहयोग पुर्‍याएको छ। हाम्रो सन्दर्भमा भने यससम्बन्धी कुनै व्यवस्था नरहेकाले अझ संस्थागत विद्यालयमा विद्यालय र अभिभावक सहमत भएको खण्डमा जति पनि शुल्क उठाउन सक्ने अवस्थाले बालबालिकाहरू झनै थिचोमिचोमा परेका छन्।

बालबालिकामा गरिएको लगानी वास्तविक भावी नेपालका लागि लगानी हो। यस विषयमा कोही पनि दुई मत हुन सकिँदैन। लगानी कुनरूपमा भएको छ भन्ने कुरामा भने सजगता अपनाउनुपर्दछ। लगानीले बालबालिकालाई हित गरेको छ भने अवश्य यसलाई राम्रो भन्न सकिन्छ। तर बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पर्ने किसिमले लगानी गरिएको छ भने बालबालिकाका लागि त्यो अवसर होइन समस्याको कारक बन्न पुग्दछ। विद्यालयमा बालबालिकाले गरेर सिक्ने तथा सामाजिकीकरण प्रक्रियामा सहभागी हुने अवसर पाउनुपर्दछ। व्यवहार कुशल सिपको विकास गर्नका लागि विभिन्न किसिमका क्रियाकलापमा बालबच्चालाई सहभागी गराउनुपर्दछ। बालसुलभ प्रवृत्तिलाई तिरस्कार नगरी उमेर अनुकूलका सिकाइ क्रियाकलापमा संलग्न गराउनु आजको आवश्यकता हो। आत्मसंयम, आवेग र संवेगहरूको व्यवस्थापन, समायोजन र सहकार्यमा संलग्न हुन प्रेरित गर्नु हरेक विद्यालयको कर्तव्य पनि हो। यसका लागि विद्यालयका कक्षाकोठा सैद्धान्तिक कुरा पढाउने ठाउँ मात्र नबनेर व्यावहारिक र व्यवहार कुशल सिपहरू सिकाउने स्थलका रूपमा रहनुपर्दछ। 

प्रकाशित: १५ पुस २०७९ ००:१८ शुक्रबार