विचार

नक्कली प्रमाणपत्रधारीविरूद्ध दरिलो प्रहार

आखिर जे भइरहेको थियो, त्यो खुल्यो। चोर बाटो अपनाएर डाक्टर र पाइलट बनेकाहरू ढिलै भए पनि कारबाहीको दायरामा ल्याइए। नक्कली प्रमाणपत्रको बलमा आकर्षक पेशामा पुग्न खोज्ने, प्रतिष्ठित बन्न खोज्ने प्रवृत्तिले देशमा नयाँ विकृतिले जरा गाडिरहेथ्यो। यसमाथि प्रहार भएको छ। जरा उखेल्ने पहल थालिएको छ। संगठित अपराधकै शैलीमा मौलाएको नक्कली प्रमाणपत्र, उच्च शिक्षा अध्ययनदेखि लाइसेन्स लिनेसम्मको प्रवृत्तिले लहरो तान्दा पहरो झर्ने अवस्था आउन सक्छ। पैसा र पहुँचको बलमा प्रतिष्ठित पेशा र माथिल्लो तहसम्म पुग्न खोज्नेहरूको आपराधिक गतिविधिमाथि पूर्णविराम लाग्ने गरी भएको प्रहरीको प्रहारले सर्वसाधारणमा नयाँ आशा जागेको छ। सिआइबी प्रमुख नवराज सिलवालले व्यक्तिगतरूपमा वाहवाही पाइरहेछन्, साथै नेपाल प्रहरीप्रतिको जनविश्वास झन् बढेको छ। प्रहरीको सही कामकारबाहीले निरन्तरता पाउनुपर्छ। अर्कोतर्फ देशमा सर्वत्र मौलाइरहेको आपराधिक गतिविधिप्रतिको शून्य सहनशीलता नीति कार्यान्वयनले निरन्तरता पाएमा समाजको जिम्मेवार क्षेत्रहरूमा शुद्धता आउन सक्छ। यो सरकारको एक संगठन र व्यक्तिसम्वद्ध विषयमात्र नभएर देश र समाजको बढ्दो विकृति र विसंगति अन्त्य गर्ने अभियान भएकाले सभ्य समाज निर्माणका आकांक्षी सबैबाट सकारात्मक भूमिका आवश्यक देखिन्छ। दोषीले उन्मुक्ति नपाउने र निर्दोष नफस्नेतर्फ ध्यान जानु उत्तिकै जरूरी छ।

नक्कली प्रमाणपत्र पेश गरेर चिकित्साशास्त्र अध्ययन पूरा गरी पेशामा सक्रिय भइसकेकाहरू माथिको प्रहरी कारबाहीले प्रतिष्ठित पेशाप्रति सर्वसाधारणमा नकारात्मक धारणा पैदा भइरहेछ। चिकित्सकलाई भगवान् जस्तै ठान्ने हाम्रो जस्तो समाजमा चिकित्सकहरूको नक्कली प्रमाणपत्र फेला पर्नुले समाजमा नैतिक मूल्य र मान्यतामा निकै र्‍हास आएको बु‰न सकिन्छ। नियमन निकायहरू भ्रष्टाचारको दलदलमा फस्दा आपराधिक क्रियाकलापबाट अगाडि बढ्न खोज्नेहरू प्रोत्साहित भएका रहेछन्। गलत बाटोबाट भएपनि अगाडि बढ्ने र प्रतिष्ठित बन्न खोज्ने थिती विकास भइरहेको रहेछ। नक्कली डाक्टरको प्रसंगले समाजमा व्याप्त बेथिती, नैतिक मूल्य मान्यता कमजोर हुँदै गएको र पैसाको बलमा आफूलाई स्थापित गर्न खोज्ने परिपाठीको सामाजिक चित्र बाहिर आएको छ। खराब व्यक्तिहरू प्रतिष्ठित पेशा र क्षेत्रमा पुग्दा समाजले ठूलो क्षति व्यहोरिरहेको रहेछ। यस्ता व्यक्तिहरूले समाजलाई पुर्‍याएको क्षतिको मूल्यांकन पैसामा हुनसक्दैन। जनजीवनसँग खेलवाड गर्नेहरू क्षमायोग्य छैनन्। कमजोर नियमन र निस्कृय कारबाहीका निकायको मौका छोपेर छिद्रबाट प्रवेश गर्दै आफूलाई प्रतिष्ठित क्षेत्रमा पुर्‍याएकाहरूको चर्चा परिचर्चा देशमा भइरहन्छ। त्यस्ता व्यक्तिहरूले टाउको उठाउन नसक्ने माहोल सृजना हुनैपर्छ। जिम्मेवार सरकारी निकाय देखि समाजका सदस्यहरूले सही भूमिका खेल्न सके कठिन छैन। आजसम्म जे भयो त्यो भोलि हुनहुँदैन। सही व्यक्ति सही स्थानमा पुग्ने पद्धति र परम्पराको विकास हुनुपर्छ।

नक्कली डाक्टरमाथिको कारबाही सिआइबीको लामो गृहकार्य र साहसले मात्र सम्भव भएको देखिन्छ। सिआइबी प्रमुखको जिम्मेवारी सम्हालेपछि अपराधीलाई माफी नदिने नीतिका साथ कडारूपमा प्रस्तुत भएका डिआइजी नवराज सिलवालले छानबिन र कारबाहीलाई निरन्तर दिने र व्यापक बनाउने बताइरहेका छन्। बौद्धिक छवि बनाएका सिलवालले अध्ययनका लागि कति मेहनत र त्याग गर्नुपर्छ भन्ने बुझेको र भोगेको भएर होला, नक्कलीहरूलाई कारबाही गरिछाड्ने नीति कार्यान्वयन गरेका। डाक्टर र पाइलटमाथि छानबिन अगाडि बढाएको सिआइबीले आउँदा दिनमा अन्य क्षेत्रमा नक्कली प्रमाणपत्रधारीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन खेल्ने भूमिका आशा र प्रतीक्षाको विषय हो। सही स्थानमा सही व्यक्ति सायदै आउने गलत परम्पराले जरा गाडेको देशमा नक्कलीहरूलाई निरुत्साहित पार्ने अभियान रोकिनुहुँदैन। नक्कलीहरू निजामती, सेना, प्रहरीदेखि राजनीतिक नियुक्तिका क्षेत्रमा समेत भएको प्रसंग नआएको होइन। तिनीहरूमाथि विगतमा प्रभावकारी छानबिन हुन सकेन। कतिपय घटना आन्तरिक कारबाही गरेर गुपचूप पारियो। दण्डहीनताले अपराध गर्नेहरू उत्साही भए। पहुँच र प्रभावका बलमा काराबाही रोक्नेसम्मको क्षमता विकास गरे कतिपय नक्कलीले। अन्यथा अहिले भइरहेको कारबाही धेरै अगाडि हुनुपर्थ्यो। जब जब नक्कली प्रमाणपत्रधारीमाथिको कारबाहीको प्रसंग आउँछ धेरै नक्कली प्रमाणपत्रधारीले राजीनामा दिएको प्रसंग आउँछ। विगतमा निजामती, प्रहरी र सेनामा त्यस्तो चर्चा नचलेको होइन। अहिले डाक्टर र पाइलटको राजीनामा चर्चामा छ। भविष्यमा कसैले पनि नक्कली प्रमाणपत्रबाट अगाडि बढ्न खोज्ने हिम्मत नगर्ने परिवेश निर्माण समग्र समाजका लागिमात्र नभई स्वयं चोर बाटो रोज्न खोज्नेहरूको भलाइमा छ। अहिले जे/जति चोर बाटो रोजेर डाक्टर पाइलट बने, तिनको वर्षौंको लगानी त खेर गयो गयो, सामाजिक प्रतिष्ठामा पनि आँच आयो। उनीहरू एकै रातमा नायक/नायिकाबाट खलनायक/ खलनायिकामा परिणत भए।

नक्कली विद्यावारिधिको बिगबिगी

डाक्टर लेख्ने चाहना कसमा नहोला र? डाक्टर लेख्नकै लागि एमबिबिएस गर्न रहर गर्नेहरू पनि छन्। क्षमता नभएकाहरूले समेत ठूलो धनराशि खर्च गरेर एमबिबिएस पढेका उदाहरण छन्। अर्कोतर्फ नक्कली विद्यावारिधिको कमी छैन। समाजमा आफूलाई प्रतिष्ठित देखाउनका लागि नक्कली विद्यावारिधिधारीको मुकुन्डो उघार्न जरूरी छ। जोगीदेखि भोगीसम्मको नक्कली पिएचडीको चर्चा छ। विद्यावारिधिको शोधका लागि कति मेहनत गर्नुपर्छ भन्ने भुक्तभोगी पंक्तिकार स्वयं हो। देशमा पिएचडी डाक्टर हुँ भन्ने नक्कलीहरू निर्भयता र निर्लज्जताका साथ आफूलाई 'डाक्टर साब' भनी चिनाउँछन्। पिएचडी गरेको दाबी गर्ने र झुटको खेती गर्ने महिलाबारे नागरिक दैनिकले खुलासा गर्‍यो। यस्ता व्यक्ति अरू पनि छन् समाजमा। अर्कोतर्फ, चोरीको थेसिस लेखेर पिएचडी गर्नेहरूबारे बेलाबेलामा चर्चा चल्छ। यस्ता गतिविधिले समाजमा पिएचडी गर्नेहरूमाथि शंका र प्रश्न उठ्ने गरेको छ। केही नक्कलीले धेरैमाथि प्रश्न उठ्ने अवस्था आइरहेछ। केही डाक्टर नक्कली हुँदा समाजले समग्र डाक्टरलाई शंकाको दृष्टिले हेर्न थालेजस्तै छ पिएचडीधारीलाई पनि।

कमजोर नियमन र कारबाहीका जिम्मेवार निकायको निष्त्रि्कयताले समेत यो अवस्था आएको छ। अर्कोतर्फ आफूलाई बौद्धिक र जाने/बुझेको ठान्नेहरू मौन बसिदिँदा नक्कली 'डाक्टर साब' को फूर्ति बढेको छ। चिकित्सा पेशामै दाग लाग्ने गरी नक्कली प्रमाणपत्रधारीहरूको घुसपैठ भइरहँदा उक्त पेशामा सक्रियहरू यति लामो समयसम्म किन बेवास्ता गरी बसे? भनिन्छ, आज नबोले भोलिसम्म धेरै बितिसक्छ। यही भयो समाजमा। हामीले नबोल्दा र नलेख्दा नक्कलीहरू जिम्मेवार स्थानहरूमा हालीमुहाली हुँदै गए। ठग र जाली फटाहासम्मले नाम अगाडि 'डा.' थपेर हिँडे। यो हदसम्मको मनपरी र लज्जास्पद कार्य सभ्य समाजमा सायदै हुनसक्छ। विकसित देशहरूमा मापदण्डभन्दा बढी प्रतिशत बौद्धिक चोरीको थेसिस लेख्नेहरूसमेत कारबाहीको दायरामा आउँछन्। जर्मनीकी शिक्षा मन्त्री एनेटी स्काभेन र रक्षा मन्त्री कार्ल गुटेनवर्गले विद्यावारिधिको शोधमा धेरै प्रतिशत समानता भेटिएपछि पदबाट राजीनामा दिनुपर्‍यो। गत वर्ष दिल्लीका कानुन मन्त्री जीतेन्द्र टोमारले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि कारबाहीमा परे। पछिल्लो समय भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको शैक्षिक प्रमाणपत्रबारे विपक्षीले प्रश्न उठाए। भाजपाले प्रमाणपत्र सक्कली भन्दै सार्वजनिक गरे पनि विवाद पूर्णतः मेटिएको छैन। अस्थिर र अराजक गतिविधि बढी हुने देशमा नक्कली प्रमाणपत्रधारीहरू राजनीतिको उपल्लो तहसम्म पुगेको घटना धेरै छ। यसै वर्ष सियरा लिओनमा मन्त्रीहरूले विदेशी विश्वविद्यालयमा अध्ययन गरेको नक्कली प्रमाणपत्रहरू पेश गरेको घटना खुलेको थियो। नेपालमा चाहिँ 'ठूलाठालु' हरूको प्रमाणपत्रबारे प्रश्न उठेको घटना कमै छ। विपक्षीदेखि नागरिक समाजसम्मले यसतर्फ चासो दिँदैनन्। जसका कारण जिम्मेवार निकायमा गलत व्यक्ति पुग्ने सम्भावना बढी रहन्छ।

नेपालमा सरकारी र अन्य जिम्मेवार क्षेत्रमा पुगेकाहरूको शैक्षिक प्रमाणपत्रबारे प्रष्ट हुने आधुनिक प्रविधिको प्रयोग गर्ने पद्धति बनाउनुपर्छ। प्रविधिको प्रयोगले स्वदेश र विदेशमा अध्ययन गरेकाहरूबारे पनि प्रष्ट हुन सकिन्छ। यसबाट नक्कलीहरू संवेदनशील र जिम्मेवार निकायमा पुग्न नसक्ने अवस्था बन्छ। नक्कलीले समाजमा दूरगामी क्षति पुर्‍याउनुसम्म पुर्‍याइसकेछन्। अब त्यस्तो अवस्था अन्त्य हुनुपर्छ। राजनीतिक क्षेत्रमा समेत नक्कली प्रमाणपत्रको धाक लगाउनेको कमी छैन। त्यस्ता व्यक्तिको प्रमाणपत्रबारे सायदै प्रश्न उठेका छन्। स्वदेश र विदेशका विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरेको देखाएर जनस्तरमा भ्रम छर्नेहरू उत्तिकै छन्। गतिलो विपक्षी नहुँदा यस्ता घटनाबारे सायदै प्रश्न उठ्छ। समाजको हरेक क्षेत्रमा नक्कलीलाई निस्तेज पार्नैपर्छ। यो एउटा सामाजिक दायित्व हो। समाज हाँक्ने बौद्धिक क्षेत्रमा शुद्धता कायम गर्न सकेमात्र समाज सभ्य र प्रभावशाली हुनसक्छ। नक्कलीहरू समाजका धमिरा हुन् तिनलाई निरुत्साहित पार्न सकेमात्र सही व्यक्ति सही स्थानमा पुग्न सक्छ। समाजमा गतिलो थिति बस्न गई समग्र विकासले दरिलो गति लिन्छ।

प्रकाशित: २३ असार २०७३ ०४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App