विचार

सरकारको प्रहसन

धर्ती नहल्लिएको भए भूकम्पले क्षति गर्ने थिएन भन्ने ठट्टाझैँ हामीले हजारौँ ंपल्ट सरकारका प्रहसन देखेका छौँ। देख्नमात्र मिल्ने, लेख्न नमिल्ने घटना धेरै छन्। सांसद बनाउँदै मन्त्रीको पद दिलाउँछु भनेर सात–आठवर्ष एउटी नारीलाई ‘प्रयोग’ गरेछन् एक नेताले। मन्त्री हुन नपाएपछि मदिरा पिएर ती नारीले केही व्यक्तिलाई भनिछन्– ‘‘प्रधानमंत्री निवासमा स्वदेशी/विदेशीसँग गोप्य वार्ता गर्ने कोठामा उहाँले मलाई धेरैपल्ट ‘मन्त्री बनाउँछु’ भन्नुभयो। सुरा, सुन्दरी, सत्ता र सम्पत्तिको आशक्तिले धेरैलाई गहिरो इनारमा डुबाएको छ।  

स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू कामुक र रसिक थिए भनेर केही लेखकका पुस्तकमा नेहरूका प्यारीहरूका नाम लेखिएको छ। एडविना माउन्टवेटनदेखि अरू केही महिला नेहरूका घनिष्ट थिए भनेर अखबारमै छापियो। सन् १९५९ को डिसेम्बरमा नेहरूसँग उभिएर उनकी ‘‘आदिवासी पत्नी” बुधनीले एउटा बाँधको उद्घाटन गरेको सचित्र समाचार प्रकाशमा आयो।  

मोतीलाल नेहरू र स्वरूपरानीका छोरा नेहरूलाई धनको दुःख थिएन। विविध विषयका ज्ञाता नेहरूले ब्रिटेनमा उच्च शिक्षा लिएका थिए। ब्रिटिसको शासनमा सयौँ वर्ष पराधीन भएका भारतीयहरू अंग्रेजलाई देवदूत मान्थे। राष्ट्रवादका पक्षमा उभिएर ब्रिटिस शासनको सशक्त विरोध गर्ने थोरै थिए।  

काश्मीरी कौल ब्राह्मण मोतीलाल ऊबेला टाइसुट लगाउने बाहुनका रूपमा चिनिएका थिए। प्रयागराज (इलाहावाद) स्थित आनन्द भवन हेर्दा सयौंँ वर्षपहिलेदेखि नै नेहरू परिवार सुसम्पन्न रहेछ भन्ने यो पंक्तिकारलाई लाग्यो तर यथार्थमा त्यो भवन नेहरूका पुर्वजले एकजना मुसलमानबाट हडपेका रहेछन्। भवनमा अंग्रेजहरू पनि आउँथे। झिल्के स्वभावका नेहरू अंग्रेजका सुन्दरी पत्नी, छोरी र बुहारीका छेउमा गुलियोमा मौरी रमाएझैँ रमाउँथे।  

यस्ता कुरा ‘‘एक कान, दुइ कान, मैदान” भयो। भारतका अनेक ठाउँमा नेहरूका प्रिय नारीहरू थिए भनेर कतिपय लेखकले लेखेका छन्। ब्रिटेनको क्याम्ब्रिज विश्वविद्यालयमा पढेका नेहरू रोमान्टिक थिए। त्यसैले उनले भारतको प्रधानमन्त्री हुँदा पनि प्रशासन सँगसँगै प्रहसन (कमेडी) देखाए। भनिन्छ, सुरुका वर्षहरूमा मोतीलाल नेहरूका मालिक थिए, मुबारक अलि। उनको रहस्यमय मृत्यु भयो। मुबारककी पत्नीसँग निकट बनेर मोतीलाल मोतीझैँ चम्किए। मुबारककी पत्नी थुसु रहमान बाईको सम्पत्ति हडपेर मोतीलालले उनैलाई पत्नी बनाए। विवाहित स्वरूपरानीबाहेक मोतीलालका अन्य चार पत्नी थिए। मेहरअली शोखता (मञ्जरी) अर्की पत्नी थिइन्। कमला कौलबाट जन्मेकी हुन्– जवाहरलालकी छोरी इन्दिरा प्रियदर्शिनी। लखनउका पत्रकार फिरोजसँग उनको विवाह भयो। महात्मा गान्धीले फिरोजलाई धर्मपुत्र बनाएर गान्धीपुत्र भएको कागजी प्रमाण बनाए। साहित्यकार रवीन्द्रनाथको प्रसिद्ध विद्यापीठ शान्ति निकेतनमा पढ्दा जर्मन शिक्षकसँगको लीला देखेपछि रवीन्द्रनाथले इन्दिरालाई ‘रेस्टिकेट’गरे। ‘महाजनो येन गतः स पन्थाः’ (ठूला मानिस जता जान्छन्, बाटो त्यही हो।) भनिन्छ तर,यसरी प्रहसन देखाए, नेहरूका तीन पुस्ताले।  

युवापुस्तालाई यस्ता पौराणिक र प्राचीन वाणीमै सन्देह छ। नेपाली समाजमा धेरैजसो ‘ठूला मान्छे’ बेइमान, पराधीन, परमुखापेक्षी, लोभी, भ्रष्ट र कर्तव्यच्युत छन्। उनीहरूजुन मार्गमा छन्, त्यसैलाई पछ्याउने हो भने युवाको भविष्य अन्धकारमय बन्छ। राष्ट्रका बहुसंख्यक जनता र राज्यसंयन्त्र असल भए पनि सरकार चलाउनेहरू अयोग्य, भ्रष्ट र विदेशीका दास भएमा त्यो महाप्रहसन बन्छ।  

कुशासनको सशक्त विरोध गर्नुपर्ने दायित्व जनताको हो। सत्तारुढ र विपक्षी दलहरूले मिलेर स्वतन्त्र राष्ट्र अरूलाई बुझाएका उदाहरण छन्। सिक्किम भारतमा गाभिँदा पंक्तिकार पन्ध्र वर्षको थियो तर रेडियो सुन्ने बानी भएकाले हिमाली अधिराज्य सिक्किम विलय भएको खबरले पीडा भयो। ऊबेला सिक्किमका जनताको चेतनाको स्तर आजको जस्तो थिएन। जनमत संग्रहको वैधानिक प्रहसन देखाएर राष्ट्रलाई भारतमा गाभेको चित्त नबुझेपछि नरबहादुर भण्डारी र मदनमोहन रसाइलीलगायतका युवाले विरोध गरे तर त्यसबेलासम्म टिस्टामा धेरै पानी बगिसकेको थियो।  

सरकारी प्रहसनका पाश्र्व निर्देशक, रचनाकार र चाँजोपाँजो मिलाउनेहरू प्रायः विदेशी हुन्छन्। कोरियालाई दुई खण्ड बनाउनेहरू, सुडान, इन्डोनेसिया र इथियोपिया टुक्र्याउनेहरू, विभिन्न राष्ट्रमा गृहयुद्धको दावानल सल्काउनेहरू सबै विदेशी हुन्। लेबनानमा कुन जात वा धर्मले कुन पद पाउने भनेर सोहीअनुसार संविधान बनाइएको कुरा अमेरिकी प्राध्यापक नोम चोम्स्कीले ‘इन्साइड लेबनान’ ग्रन्थमा लेखेका छन्। विदेशीले नेपालको पछिल्लो संविधान जन्माउन किन एक सय करोड रुपियाँ भन्दा धेरै खर्च गरे भन्ने बुझ्न संविधान मात्रै एकसरो पढे पुग्छ। राष्ट्रको भाषामा पहिले सबै जनता ‘नेपाली’ मात्र थिए। वर्तमान संविधानले ‘हामी नेपाली’ भन्ने बृहत्तर भावलाई कुल्चेर अनेक जात र क्षेत्रमा विभक्त गरेको छ अर्थात् सात÷आठजनाको ऐक्यबद्ध परिवारमा पनि आज नेपाली होइन, अनेक जात र धर्मका सदस्य मात्र भेटिन्छन्। राष्ट्रिय झण्डा फर्फराउँदा गर्वोन्मत्त हुनेहरू धुरीमा चार पाँच दलका झण्डा झुण्ड्याएर घात/प्रतिघात गरिरहेका छन्।  

प्राचीन ग्रन्थहरूमा राजा बेनको प्रसंग आउँछ। समाज भाँड्ने दुष्कर्महरू गरेपछि ऋषिहरूले उनको वध गरे। ऋषिगण र ज्ञानीहरूले तर्क गरे, जब शासक नै पथभ्रष्ट बन्छन्, तब भविष्यसमेत नष्ट हुन्छ।  

राजा अंग तथा ‘‘अधर्मी” वंशकी रानीबाट जन्मेका बेन हुल्याहा थिए। ईश्वरको निन्दा गर्थे। राजाले धर्म, नीति, परम्परा, कानुन, संस्कार र केही पनि मान्नुपर्दैन भन्ने उनको कुतर्क थियो। उनी क्रूर, नास्तिक र प्रजापीडक थिए। ‘‘देवता होइन, राजाको पूजा गर्नू”, भनेर उनले उर्दी जारी गरे। त्यसपछि भृगुलगायतका ऋषि, ज्ञानी, तपस्वी सबै मिलेर बेनको हत्या गरे। राजाले गर्न हुने र नहुने कामबारे राजधर्ममा प्रष्ट उल्लेख छ। धर्मको अर्थ हो, कर्तव्य। जो आफूलाई धर्म निरपेक्ष भन्छ, ऊ कर्तव्य – निरपेक्ष वा कर्तव्यच्युत हो। राजा बेनले पनि उत्ताउलो बनेर शास्त्रलाई चुनौती दिए। ज्ञानी, विवेकी र सबै प्रजालाई दुत्कारे।  

नाइजेरियाका सानी अबाचा, सुडानका ओमार अल बासिर, लाइबेरियाका चाल्र्स टेलर, युगान्डाका इदी अमिन, कम्बोडियाका पोलपोट आदिलेमैले जे गरे पनि हुन्छ भन्ने ठाने। सनातन धर्मका अनुयायी र ओमकार परिवारमा पुनर्जन्म र अवतार प्रामाणिक मानिन्छ। नेपाली राजनीतिको विद्रुप तस्बिर हेर्दा नालायक, निरंकुश, भ्रष्ट र कर्तव्यच्युतहरूको पुनर्जन्म नेपालमै भइरहेको छ भन्ने लाग्छ। नत्र जुन जोगी आए पनि कानै चिरेको भनेझैँ यी कथित नेताहरू यति धेरै मतिभ्रष्ट हुने थिएनन्।  

ताजा जनादेशको दम्भ, चरम स्वार्थ र अदम्य अभिमान बोकेर कुबाटो हिँड्ने प्रण गरेका हुन् भने आजको पुस्ताले उनीहरूको उपचार गर्छ। जनताले ‘टक्सिक लिडर’ पाल्ने हो भने राष्ट्र पराधीन बन्छ र हामी शरणार्थी। संसद्मा गएर गलत प्रवृत्ति रोक्ने वाचा गरेका दलहरूले पतीतपथ नै रोजे भने कुनै शक्तिले पनि उनीरूको पतन रोक्न सक्दैन। अग्रसर भएर उदाहरणीय काम गर्दै समाज र राष्ट्र बलियो बनाउनेलाई नायक (नेता) भनिन्छ। बिग्रेको काम सपार्ने वा व्यवस्थापन गर्नेलाई व्यवस्थापक (म्यानेजर) भन्ने गरिन्छ। नेताहरूमध्ये धेरैजसोको व्यवहार हेर्दा उनीहरू न नेता हुन् न व्यवस्थापक।  

एउटा निरंकुशलाई लखेटेर जनताले महानिरंकुश, अक्षम, निर्घिणी र राष्ट्रघातीलाई बोकेका उदाहरण धेरै छन्। सही र गलत छान्न नसक्दा सज्जनले सज्जनलाई मतदान गरेपनि दुर्जनको बाहुल्य भएको समाजमा दुर्जन छानिएका छन्। सत्तामा पुग्नासाथ प्रहसन देखाउने त्यस्तै पात्रहरूलाई राष्ट्रको चाबी सुम्पिने गल्ती गरुञ्जेल जनताले गन्थन गरेरै जीवन गुजार्नुपर्नेछ।

प्रकाशित: १ पुस २०७९ ००:२८ शुक्रबार