विचार

नयाँ विश्व व्यवस्थाको उदय

जोस्का फिसर

हामीले हाल विश्वमा साना तथा ठूला गरी अभूतपूर्व संकटहरू झेलिरहेका छौँ। कोभिड–१९, ऊर्जाको मूल्य वृद्धिदेखि विकसित र विकासोन्मुख देशहरूमा बढ्दो मुद्रास्फीति र विश्वव्यापी आपूर्ति शृंखलामा देखिएको गडबडी यसका उदाहरण हुन। यसैगरी युक्रेनमाथि रुसी आक्रमण, जलवायु परिवर्तन जस्ता चुनौती यत्तिकै हराउने देखिँदैनन्। बरु यस्ता संकटले नयाँ विश्व व्यवस्थाको संकेत गरेका छन्।

बीसौँ शताब्दीको द्विध्रुवीय विश्वका अवशेषहरू हराउँदै गर्दा हाल बहुध्रुवीय विश्वको उदय हुँदैछ। सैनिकी क्षमता, प्राविधिक र आर्थिक शक्तिका कारण अमेरिका र चीन आगामी दिनमा प्रभावशाली खेलाडी रहने नै छन् भने युरोप, जापान र भारतले पनि विश्वको ठूलो भूभागमा आफ्नो अर्थपूर्ण उपस्थितिको अभ्यास गर्ने देखिन्छ। तर यो प्रसंगमा रुसका बारेमा ठूलो प्रश्नचिह्न उठेको छ। त्यो के हो भने युक्रेनमाथि उसले गरेको अनाहक आक्रमणपछि उसको आगामी अवस्था, क्षमता र रणनीतिक शक्ति कस्तो हुनेछ भन्नेमा शंका उत्पन्न भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १९औँ शताब्दीको अन्ततिर र बीसौँ शताब्दीको जस्तो इतिहासको विरासत कायम गर्न चाहेका छन्। तर उसको युक्रेन आक्रमणको विनाशकारी र गलत प्रयासले आफैँलाई सबैभन्दा बढी नोक्सान भएको छ।

युक्रेनमा रुसी सैनिकको पराजय निश्चित जस्तै छ। केवल कहिले हुनेछ भन्ने मात्र महत्वपूर्ण प्रश्न हो। तर यो युद्धले सिर्जना गरेका प्रभावहरूलाई आकलन गर्न अझै कठिन छ। के पुटिनको सत्ता कायमै रहला ? के रुसको पराजयपछि रुसमा थप आन्तरिक क्षय र विघटन हुनेछ? भन्ने प्रश्न ज्वलन्त बनेका छन्। यो प्रश्नको उत्तर नभेटिएसम्म पूर्वी युरोप र युरेसियाका अधिकांश भूभागमा रहेको रुसी प्रभुत्व कायम रहला अथवा नरहला भनेर यसै भन्न सकिँदैन।

क्रेमलिनको यो आधिपत्य उसले बलपूर्वक छोडनुपर्ने अवस्था आयो भने विश्व शक्ति राष्ट्रको उसको हैसियत समाप्त हृुनेछ। गिर्दाे शाख र अपहेलित रुस आगामी दिनमा भूराजनीतिकरूपमा शीतनिद्रा (हाइबरनेसन) मा जाला भनेर आकलन गर्न सकिन्न। रुस नयाँ विश्व व्यवस्थाको अस्थिरताका लागि प्रमुख कारण बनिरहनेछ।

विशेषगरी युरोपियन उपमहाद्वीपमा रुसको सक्रियता जारी रहनेछ। तर एउटा पक्ष भने प्रष्ट भैसकेको छ, त्यो के भने एक्काइसौँ शताव्दीको आफ्नो स्थान सुरक्षित राख्न रुससँग रहेको ठूलो आणविक शक्ति पर्याप्त हुने छैन। रुसको अर्थतन्त्र नराम्ररी तहसनहस भएको छ। खनिज इन्धनलाई क्रमशः हट्दै जाने दिशामा विश्व अगाडि बढ्दा यही इन्धन अर्थतन्त्रको प्रमुख आधार रहेको रुसलाई आगामी दिन चुनौतीपूर्ण देखिन्छ। पछिल्ला दिनमा रुसको अर्थतन्त्र अत्यन्त कमजोर बन्दै गएको छ।

एकातिर रुस नाजुक र क्षयको भूमरीमा फस्दैछ भने अर्काेतिर आफ्नो सामरिक र आर्थिक शक्तिसहित आफ्नो भूमिकालाई सशक्त पार्न चीन उद्यत छ। सन् २००० को सुरुमा आएको विश्वव्यापीकरणको लहरबाट फाइदा लिँदै चीनले आफूलाई गरिबीबाट बाहिरिन र उच्च आय भएका देशको सूचीमा उभ्याउन सफल बनेको छ। सन् २००८ मा देखिएको वित्तीय संकटका लागि पश्चिमा राष्ट्रहरू आंशिक रूपमा जिम्मेवार रहेको बताउँदै चीन आफ्नो विश्वव्यापी प्रभाव र नेतृत्व विस्तार गर्न सफल भएको छ। अमेरिकाकै तुलनामा वैश्विक महाशक्तिका रूपमा चीनले आफूलाई प्रस्तुत गरेको छ।

शीतयुद्धका बेला रुसले सैनिक शक्तिलाई मात्र महत्त्व दिएको गल्ती चीनले दोहोर्‍याएको छैन। बरु उसले यसअघि अमेरिका र पश्चिमा राष्ट्रको आधिपत्य रहेको विश्व बजारमा आफूलाई प्रवेश गराएको छ। यसैगरी चीनले प्राविधिक र वैज्ञानिक क्षेत्रमा ठूलो लगानी गरेको छ। अन्य क्षेत्रमा हुनुपर्ने लगानी प्रभावित हुने गरी प्रतिरक्षा र सुरक्षा क्षेत्रमा उसले व्यापक खर्च गरेको छैन तर सँगसँगै उसले सैनिकी लगानीमा कमी गरेको छैन। चीन र रुसको नेतृत्वमा देखिएको फरक के हो भने चिनिया नेतृत्व एक्काइसौँ शताब्दीमा छ र उता रुसले त्यसो गर्न सकेको छैन।

हालै बालीमा सम्पन्न जि-२० समूहको बैठकमा यही तथ्य प्रमाणित भएको छ। यो बैठकमा एकातिर रुस कूटनीतिकरूपमा एक्लिएको देखिएको थियो भने सबैखाले छलफल र निर्णयमा चीनको केन्द्रीय भूमिका थियो। युक्रेन संकटमा चीनले पश्चिमा अवधारणालाई पछ्याएको छैन। युद्धको नीति र आणविक धम्कीको विरोध गर्दै चीन र भारत जस्ता ठूला देशले क्रेमलिनसँग दूरी बढाएका छन्। बालीमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनिया राष्ट्रपति सी चिन फिङले आपसी छलफल गरेर अमेरिका र चीनबीच रहेको तनावलाई केही मत्थर गर्न सफल भएका मान्ने हो भने एक्काइसौँ शताब्दीको अन्तर्राष्ट्रिय सम्बन्धलाई पुनर्भाषित गर्न बाली सम्मेलनले नयाँ अध्याय थपेको मान्न सकिन्छ।

यसैगरी अमेरिकामा भएको मध्यावधि चुनावको नतिजामा अपेक्षितरूपमा रिपब्लिकनहरूले सफलता हासिल नगरेकाले केही आशाको सञ्चार भएको छ। सिनेटमा आफ्नो वर्चस्व स्थापित गर्न असफल रहेको रिपब्लिकन पार्टीले मुस्किलले हाउस अफ रेप्रेन्जेन्टिभ्समा बहुमत हासिल गरेको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ र सन् २०२० जस्तै गरी पार्टीको अवस्थालाई कमजोर पारेका छन्। ‘अमेरिका फस्र्ट’ भन्ने उनको नारालाई अधिकांश अमेरिकीले खारेज गरिदिएका छन्।

समग्रमा भन्नुपर्दा अमेरिकाको मध्यावधि चुनाव र बाली सम्मेलनले विश्वमा केही आशाको सञ्चार गरेको छ तर विश्वव्यापी आपसी सहयोगका लागि अझै धेरै प्रगति हुन बाँकी छ। जलवायु संकट र युक्रेन यूद्ध जस्ता विश्वका दुई प्रमुख चुनौतीको सामना गर्न विश्वप्यापी सहकार्यको अर्काे कुनैै विकल्प छैन।

(फिसर जर्मनीका पूर्वविदेशमन्त्री हुन। प्रोजेक्ट सिन्डिकेट)

प्रकाशित: २६ मंसिर २०७९ ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App