मुख्य समाचार

हाम्रो माग पूरा हुने भए सरकारमा जान्छौंः अध्यक्ष महतो

काठमाडौं– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस–माओवादी केन्द्रले मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेमात्रै मोर्चा अब बन्ने सरकारमा सहभागी हुने बताएका छन्। ‘अहिले उहाँहरुले हाम्रो समर्थन माग्नु नै भएको छैन,’ उनले भने, ‘यदि माग्नु भयो भने हामी उहाँहरुसँग प्रष्ट रुपमा हाम्रा माग सम्बोधन गर्नेबारे कुरा राख्छौं।’

अब बन्ने सरकारले गर्ने व्यवहारअनुसार आफूहरु चल्ने उनले बताए। शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै उनले मोर्चाले अघि सारेको ११ बुँदे मागबारे कांग्रेस–माओवादीको प्रष्ट धारणा आएपछि मात्र सरकारमा जाने वा नजानेबारे आफूहरु निर्णयमा पुग्ने बताए।

काँग्रेस–माओवादी केन्द्रवीच भएको ७ बुँदे सम्झौताको पहिलो बुँदामा नै मधेशी मोर्चाको माग सम्बोधन गर्ने कुरा उल्लेख गरिएकोप्रति उनले सकारात्मक काम भएको बताए। ‘उहाँहरुको प्रतिबद्धता सकारात्मक छ, तर अब त्यही अनुसारको काम पनि हुनुपर्यो नि, त्यस्ता बुँदा कति आए आए ? हामी उहाँहरुको व्यवहार हेर्न आतुर छौं,’ महतोले भने।

मोर्चाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा जानबाट रोकिरहेको भन्ने हल्लाका बारेमा उनले भने, ‘त्यो हाम्रो मतलवको विषय भएन, हामी उहाँलाई किन राक्छौं र ? प्रचण्डजीले जसलाई ल्याउन चाहनुहुन्छ त्यसलाई ल्याउन सक्नुहुन्छ।’ उनले गच्छदार मधेश विरोधी नेता भएको भन्दै आलोचना समेत गरे ।

मोर्चाले भनेजस्तै मधेशमा दुई प्रदेश भए संघीयतासम्बन्धी सिमांनको मुद्दा सम्बोधन हुने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्छ, तराईको भूभाग तराईमै हुनुपर्छ, यसमा सबै मिल्नुको विकल्प छैन।’

महतोले वर्तमान सरकार काम चलाउ भए पनि जनतालाई राहत दिने काममा समेत सुस्त भएको आरोप लगाउँदै भने, ‘ओलीजीलाई सरकार गएकोमा चिन्ता छ, मर्माहत हुनुभएको छ, कामचलाउ भए पनि जनतालई राहत दिने कुरा खोई?’

उनले देशका विभिन्न भूभागमा बाढिपहिरोका कारण जनता दुःखमा भएको भन्दै सरकारले त्यतातिर ध्यान दिनुपर्ने सुझाव दिए।

 

प्रकाशित: १४ श्रावण २०७३ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App