पूर्वसहमति विपरीत प्रधानमन्त्री पदको लोभ राख्दा कांग्रेसले राष्ट्रपतिसहित प्रमुख पद गुमायो नि ?
कांग्रेस पदका लागि होइन, देश, जनता र लोकतन्त्रका लागि राजनीति गर्ने पार्टी हो । राष्ट्रपति पद पाउने लोभमा कांग्रेसले राष्ट्रिय मुद्दालाई उपेक्षा गर्न मिल्दैनथ्यो । अहिले हामी राष्ट्रको चिन्ता गरिरहेका छौं । संविधानलाई लोकतान्त्रिक बाटोमा अभ्यास गराउनुपर्ने थियो । सँगै, संविधान जारी भएपछि मुलुकमा नयाँ परिस्थिति खडा भयो । संविधान त आयो तर मधेससँगको असन्तुष्टि बाँकी नै रहन पुग्यो । त्यसलाई कांग्रेसले उपेक्षा गर्न सक्ने अवस्था थिएन । त्यसमा पनि कांग्रेस, एमाले र एकीकृत माओवादीको गठबन्धनलाई फेरि जीवित राख्दा पहाड र मधेसको दुरी झन बढाउने सम्भावना हुन्थ्यो । त्यसलाई रोक्न हामीले पुरानो गठबन्धनलाई नयाँ ढंगबाट अघि बढाउनेबारे सोच्यौं ।
दलहरु विभाजित हुँदा राष्ट्रिय एकता मजबुत हुने हो र ?
अहिले ठूला दल मिलेर असन्तुष्ट पक्षलाई झन्झन् कुण्ठित बनाइरहेका छन् । आफ्नाविरुद्ध प्रमुख दल मिलिरहेका छन् भन्ने मनोविज्ञान उनीहरुमा पर्न दिनु हितकर हुँदैनथ्यो ।
प्रधानमन्त्री चुनाव आएपछि मात्र तपाईंहरुलाई त्यो ज्ञान भयो ?
होइन । मधेसको सवाल मनोवैज्ञानिक र आत्मसम्मान, सहभागिता र स्वायत्तताको हो । त्यसलाई सम्मान गर्न सके उनीहरुलाई नजिक ल्याउन सकिन्छ भन्ने सोच र मानसिकता बुझेरै कांग्रेस अघि बढेको हो ।
कांग्रेस, एमाले र माओवादीबीचको गठबन्धन तोड्दा मधेसको सवाल कसरी समेटियो र ?
हामी पहिले पनि अलग–अलग पार्टी हौं । संविधान जारी भइसकेपछि दलहरुबीच गठबन्धन जारी राख्नु आवश्यक पनि थिएन । कता–कता मधेस भर्सेज ठूला पार्टीहरुको गठबन्धनजस्तो देखियो । मधेसवादी दलविरुद्ध ठूला पार्टी एक छन् भन्ने देखियो । र, संविधान बनेपछिको अवस्थामा मुलुकलाई लोकतन्त्रको स्वभाविक बाटोमा फर्काउने प्रयत्न गरेका हौं । प्रमुख दुई दल एउटा सत्तामा, अर्काे प्रतिपक्षमा बसेका हांै । यो स्वाभाविक नियम हो ।
जे होस्, सत्ताको लोभ त थियो नि ?
लोभ वा अर्को कुरा नै होइन । लोकतन्त्र भनेकै बहुमतले शासन गर्ने हो । एमालेले अन्य दलको समर्थन जुटायो र सरकार चलाउँदैछ । दुर्भाग्य, हामीले सकेनौं र प्रतिपक्षमा बसेका छौं । यसमा हामी अधिर हुनुपर्ने कारण छैन ।
संविधान निर्माणअघि एमालेलाई सरकारको नेतृत्व दिन्छु भन्ने, अहिले आएर स्वाभाविक नियम भन्दा अलि अफ्ठेरो लागेको छैन ?
कसले दिन्छ भनेको थियो एमालेलाई सरकारको नेतृत्व ? कहाँ भएको थियो भद्र सहमति ? सहमतिका लागि पार्टी अध्यक्षले आफ्ना कलिकहरुसँग पनि छलफल गर्नुपर्छ । केन्द्रीय समिति, पदाधिकारीमा छलफल गरेर यति सहमति गरौं भनेर गरेको मात्र सहमति हुन्छ । तर, सभापतिजीले संविधान जारी भएपछि एमाले अध्यक्षलाई प्रधानमन्त्री दिने भनेर हामीलाई कहिल्यै भन्नुभएन र सल्लाह लिनु पनि भएन । ल भै हाल्यो, सुशील कोइरालाले त कांग्रेसमा सल्लाह गर्नुभएन होला, एकीकृत माओवादीमा अध्यक्ष पुष्पकमल दाहालले पनि कलिकहरुसँग सल्लाह नगरेको मैले बुझेको छु । एकान्तमा उहाँहरुले के कुरा गर्नुभयो, त्यसको मतलब हुँदैन ।
त्यो तपार्इंको कुरा भयो तर सभापतिले त भन्नुभएछ नि त ?
केपी ओलीलाई संविधान बनाइदेऊ, तिमीलाई प्रधानमन्त्री दिउँला भनेर किन फकाउनुप¥यो ? सत्ताको सौदाबाजी संविधानसँग गर्ने कुरा नै अनुचित हो । १६ बुँदेअघि बालुवाटारमा बसेको प्रमुख दलको बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतमले संविधान जारी भएपछि केपीले प्रधानमन्त्री पाउने हो कि होइन भनेर सोध्दा मैले होइन भनेपछि बैठक टुंगिएको हो ।
सभापतिले त पुनः प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता नगरेसम्म सहमति भएको छैन भन्नुभएको थिएन नि ?
सभापतिजीले सर्वदलीय बैठकमा प्रस्टसँग भन्नुभएको छ । 'व्यक्तिविशेषसँग के कुरा भयो भन्दा पनि संस्था ठूलो कुरा हो । जे कुरा भन्न खोजेको त्यसलाई प्रस्टसँग भन्न सकेको भए सबैलाई छर्लंग हुन्थ्यो । भन्नचाहिँ सभापतिले भन्दै आउनुभएको हो तर वाणी खुलेन । त्यसले गर्दा समस्या भएको हो ।
कसको दबाबमा उम्मेदवारी दिनुभयो त सभापतिले ?
कम्युनिस्टहरु अफवाह फैलाउन र आफ्नो पक्षमा जनमत बनाउन अत्यन्त सिपालु छन् भने हाम्रा साथीहरु त्यसमै बहकिन पनि अभ्यस्त छन् । आफ्नो पक्षमा जनमत बनाउने र भएको कुरा बाहिर लैजाने सचेतना हाम्रा साथीहरुमा कमी देखिएको छ । परिणाम र परिस्थिति नबुझी आफ्नाविरुद्ध बोलेर हिरो बन्ने हाम्रा साथीहरुको प्रवृत्तिले जनतामा दुविधा र आम कार्यकर्तामा निराशा छाएको हो । यसमा नेतृत्व तहमा रहेका हाम्रा साथीहरुको दोष छ ।
दक्षिणी छिमेकीको प्रेसरमा सभापतिले उम्मेदवारी दिएको आम बुझाइ छ त ?
छिमेकी मुलुकको प्रभावमा कुन नेता कति पर्छन् भन्ने कुराको छुट्टै मूल्यांकन जरुरी छ । तर, छिमेकीको दबाबमा उम्मेदवारी दियो भन्ने गलत कुरा हो । दुर्भाग्य, हाम्रा सभापतिलाई पनि केही साथीहरुले तपार्इंले संविधान बनाएपछि संशोधनसहितका काम आफैंले पूरा गरेर छाड्नुपर्छ भनेर लालायित बनाइदिए ।
को–को हुन् ती ?
सभापतिजीसँग अति अन्तरंग भएका साथीहरु । म कस–कसको नाम लिऊँ । अर्को कुरा शेरबहादुरजी (वरिष्ठ नेता शेरबहादुर देउवा) पनि पार्टीको आगामी महाधिवेशनलाई ध्यानमा राखेर रामचन्द्र हुनुभन्दा बरु सुशील नै भए पनि होस् भन्ने मानसिकतामा जानुभयो । दुवैले मलाई छेक्न खोज्दा यो राजनीति बिग्रेको छ ।
बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनलाई हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन दलहरु तयार भएका थिए । एकीकृत माओवादी विभाजन भएर ८० जनाले हाम्रो पक्षमा मतदान गर्ने परिस्थितिमा पनि यसको लाभ रामचन्द्रले लिन्छ की भन्ने सोचे र सहमति तोड्न हुँदैन भनेर लागे । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सरकारको नेतृत्व लिन राखेको प्रस्ताव तुहाउने काम भयो । त्यसको परिणाम प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने परिस्थिति आयो । हाम्रै नेतृत्वमा दोस्रो संविधानसभा निर्वाचन हुन सक्थ्यो, त्यो हाम्रै साथीहरुले गुमाइदिए । अहिले पनि समयमा निर्णय गरेको भए यो परिणाम आउने थिएन ।
त्यसो भए समस्या तपाईंहरु तीन जनामै रहेछ ?
म कसैलाई रोक्न लागिनँ । मैले यो चाहिँ भनेको हुँ कि अब मैले अवसर पाउनुपर्छ, देशका लागि म केही गर्छु । अरुले काम गरेको मलाई त्यति धेरै चित्त बुझेको छैन । एकपटक म गरेर देखाउँछु भनेको चाहिँ हो । त्यो मेरो अधिकार हो । कांग्रेसमा मात्र होइन, यो देशमा अहिलेको समसामयिक नेताहरुमा सिनियर हुँ । सबैभन्दा बढी योगदान दिएको र सबैभन्दा बढी जोगाएर राजनीतिमा राखेको मान्छे पनि हुँ । तर, साथीहरु मलाई रोक्न लागे । अन्तिम समयमा आएर संसदीय दलको नेता हुनुपर्छ भन्ने ? उम्मेदवारी दिन २४ घन्टा पनि बाँकी छैन, चुनाव गराउनुपर्छ भनेर के गर्न खोजेको ? म संसदीय दलको नेता भएको बेला शेरबहादुरजी कार्यसमितिबाट निर्णय गराएर उम्मेदवार बन्नुभयो, मलाई भने उम्मेदवार बन्न रोक्नुभयो । गुटबन्दी र भागबन्डाको राजनीतिले कांग्रेसलाई सबैभन्दा कमजोर बनाएको छ । त्यसले ठिक समयमा ठिक निर्णयमा पुग्न पार्टीलाई अवरोध गरेको छ । यसले पार्टीलाई प्यारालाइसेज बनाएको छ । त्यसलाई म तोड्न चाहन्छु ।
कार्यकर्ता त तपाईंबाट हस्तक्षेपकारी भूमिका निर्वाह हुन्छ भन्नेमै विश्वास गर्दैनन् ?
हो, तपाईंले भनेको कुरा । मैले चाल्ने कदमले कहीँ देश, पार्टी र जनतालाई नोक्सान पुग्छ कि भनेर संवेदनशील हुन्छु । मैले कुरा बुझेको छु । राम्रो कुरा राम्रैसँग अघि सारेपछि मथिएर आउँछ भन्ने सोचेको छु । बढी सावधान हुन खोज्दा झन् बिगँ्रदो रहेछ भन्ने महसुस भएको छ । अब बढी सावधान होइन, बढी यथार्थवादी हुन्छु ।
बेलामा निर्णय लिन नसक्ने अनि गल्ती छोप्न तपार्इंहरु एकले अर्कालाई देखाएर उम्कन लाग्नुभएको छ ?
मैले प्रस्ट कुरा सामुन्नेमा भन्दै आएको छु, अब पनि भन्छु । तर, अरु साथीहरु नभनिदिने । एमाले रिसाउँछ कि ? केपी ओली चिढिन्छन् कि ? प्रचण्ड चिढिन्छन् कि भनेर मेरा समकालीन नेता तुष्टीकरणको नीतिमा जाने र प्रस्ट कुरा गर्दा म मात्र छुचो बन्ने परिस्थितिले स्थिति बिग्रेको छ ।
तपार्इंहरु तीनै जना नेता असफल हुनुभयो, प्रधानमन्त्रीदेखि प्रमुख पद पार्टीले गुमायो ?
तीन जना नेताका कारण पार्टीले महŒवपूर्ण पद गुमायो, अब छाड्नुपर्छ भन्ने कुरा मैले पनि सुनेको छु । तर, सय भारी खर काट्ने र सय भारी खर पोल्नेको एउटै मूल्यांकन गर्नुहुन्न । खर काट्न कति मेहनत परेको हुन्छ तर खर बाल्न एउटा काँटी कोरेर सल्काइदिए पुग्छ ।
उपसभापतिका रुपमा तपार्इंले कति काम गर्नुभयो पार्टीमा ?
पार्टीमा सामूहिक दायित्वको लेखाजोखा हुनुपर्छ । सभापतिजी प्रधानमन्त्री भएपछि कार्यवाहक दिए म विभागलाई सञ्चालनमा ल्याउँछु, भ्रातृ संगठन अधिवेशन र पार्टीको संगठन देशभर चलायमान गराउँछु भनेको थिएँ तर दिनुभएन ।
कांग्रेस महाधिवेशन तोकिएको मितिमा हुन्छ त अब ?
तोकिएको मितिको विकल्प छैन । आइतबार बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारी थाल्छ ।
तपाईंको दाबेदारी केमा रहन्छ ?
पार्टीको नेतृत्व अब मैले पाउनुपर्छ । मैले पाउँदा पार्टी र लोकतन्त्रलाई बढी योगदान दिनसक्छु भनेर मैले साथीहरुमाझ राख्दै आएको छु । राजनीति भनेको प्रतिस्पर्धा हो नेतृत्वका लागि मैदानमा उत्रिने हो । अब म पछि हट्ने ठाउँ छैन, हट्दिनँ ।
कार्यकर्ताले त तपाईहरु तीन जनाको विकल्प खोज्न थालिसके नि ?
हाम्रो पालामा पनि हामीले गिरिजाबाबु, किसुनजी, गणेशमान सिहंलाई भनेकै हांै । तर, उहाँहरुले बाँचुजेञ्ल नेतृत्व गरी नै राख्नुभयो । त्यसैले कांग्रेसमा यथार्थ एकातिर, नारा अर्कोतिर हुन्छ । प्रधानन्यायाधीशको नेतृत्वमा चुनाव गराउने निर्णय लिँदै गर्दा 'मुलुक निर्दलीयतातिर गयो भनेर युवाहरुले हल्ला मच्चाए तर हामीले लक्ष्य त पूरा ग¥यौं नि । त्यसको अर्को विकल्पै थिएन । माओवादीको नेतृत्वमा परेको भए उसले संविधानसभा विकृत बनाउँथ्यो । हामीलाई उनीहरुले दिँदैनथे । चुनाव गराएर संविधान बनायौं । पुराना नेता भनेर नारा मात्र लगाएर हुँदैन । नेतृत्वको आलोचना गरेर मात्र हुँदैन । ऐनमौकामा हामीले सही निर्णय गरेका छौं ।
भनेपछि अझै गल्ती महसुस भएको छैन ?
पार्टी केही कमजोर भयो कि भन्ने हो । त्यसलाई हामी जोगाउँछौं । अर्को निर्वाचनमा पार्टीलाई बहुमत आउने ठाउँमा पु¥याउँछौं, हेर्दै जानुहोला ।
दक्षिणकै आसमा हुनुहुन्छ ?
दक्षिण, उत्तर कसैको आसमा छैन म । म कसैको गुलामी गर्ने मान्छे होइन बिपीदेखि अहिलेसम्मका नेतासँग टक्कर पनि लिएको छु, सही काममा सहयोग पनि । म कसैबाट सञ्चालित र निर्देशित हुन्नँ । स्वतन्त्र रुपबाट यो देशको राजनीति अघि बढ्नुपर्छ । दुवै छिमेकीसँग सन्तुलन कायम गरेर बुद्धिमतापूर्ण निर्णय लिनुपर्छ । मधेसी जनतालाई पनि चिढ्याउने काम गर्नु हुन्न ।
जति कुरा गरे पनि यत्तिका समय भयो मधेस ठप्प छ ?
हो, मधेसका केही जायज माग सम्बोधन गर्नुपर्नेछ । कांग्रेस नेतृत्वको सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । त्यसलाई तत्काल अघि बढाउन सरकारलाई आग्रह गर्छु । मधेसका जायज माग हामी पूरा गर्छौं । मधेसलाई चित्त बुझाएर नै देशको एकता र अखण्डतालाई मजबुत बनाउँछौं ।
कसरी बुझाउनुहुन्छ मधेसको चित्त ?
चित्त बुझाउनुपर्छ । हामीले उहाँहरुसँग राम्रोसँग संवाद गरेर, यथार्थ बुझाएर अघि बढ्नुपर्छ । डिल गर्ने तरिका नमिल्दा समस्या समाधान हुन सकेको छैन । अब छिट्टै टुंगोमा पुग्नुपर्छ ।
कसरी हुन्छ त ?
क्षेत्र निर्धारण र समानुपातिक समावेशी सिद्धान्तलाई हामीले स्वीकार गरेका छौं । त्यसमा देखिएको अस्पष्टतालाई स्पष्ट बनाउन संशोधन दर्ता गराएका छांै । सात वटै प्रदेश स्वायत्त नै छन् । प्रदेशको सीमांकनका विषयमा त्यहाँका जनताको राय बुझेर यताउता गर्न सकिन्छ । जनताको भावना उपेक्षा गरेर होइन । ६ प्रदेश बनायौं, कर्णालीलाई चोट पुग्यो । त्यसमा हाम्रो असावधानी भएकै हो तर मधेस र पहाड भनेर गरेको होइन ।
संविधानमा मधेसका सवाल सम्बोधन गरिएको छ । अहिले 'मिस लिड' भएको छ । नेताहरुको अभिव्यक्तिका कारण मधेसी जनता आक्रोशित छन्, त्यसलाई पनि हामीले बुझ्नुपर्छ ।
समस्या मधेसको मात्र हो कि छिमेकीसँगको पनि हो ? मुलुकमा नाकाबन्दी जारी छ, तपाईंको पार्टीले नाकाबन्दी भएकै मानेको छैन ?
घोषित रुपमा नाकाबन्दी छैन । केही नाकाबाट अहिले पनि छिटफुट सामान आइरहेकै छन् । हाम्रै मान्छेले पनि रोकिराखेका छन् । कसरी नाकाबन्दी भन्ने कि यसको परिभाषा प्रस्ट छैन । आपूर्ति व्यवस्था रोकिएको छ । त्यसलाई सहज बनाउन कांग्रेसले निरन्तर आग्रह र पहल गर्दै आएको छ ।
अब संसद र संविधान कार्यान्वयन गर्न कांग्रेसको भूमिका कस्तो हुन्छ ?
कांग्रेस संविधान कार्यान्वयनका लागि दृढतापूर्वक रचनात्मक भूमिका निर्वाह गर्न तयार छ । संविधानको भावनामा बाधा नपुग्ने गरी ऐननियम बनाउन हामी सहयोगी भूमिकासहित जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्छौं । विरोधका लागि मात्र विरोध गर्दैनांै ।
सरकारले राज्य सञ्चालन ठिक ढंगबाट गरे सहयोग गर्छौं । नेतृत्वमा पुगेपछि पक्षपाती ढंगबाट राज्य चलाउने एमाले प्रवृत्ति छ । त्यसलाई निरन्तरता दिन लाग्यो र आफ्ना मान्छेलाई मात्र पोस्न खोजे हामी जमेर प्रतिवाद गर्छौं ।
प्रमुख दल फेरि पनि मिलेरै जान्छन् त ?
मिलेर जाने भनेको के ? भाग शान्ति जय नेपाल हो भने म मान्दिनँ । चेक एन्ड ब्यालेन्सको सिद्धान्तमा अघि बढ्नुपर्छ ।
कांग्रेस एमाले नेतृत्व सरकारमा जाने कुरा पनि छ नि ?
अहिले कांग्रेस सरकारमा जाँदैन ।
पुनर्निर्माण प्राधिकरणको विषयमा पार्टीको नीति के हुन्छ ?
मैले डे वानदेखि नै युद्धस्तरमा काम गर्नुप¥यो भन्दै आएको हुँ । दसवटा कुरा एकैपटक सोचेर एघारबाट निर्णय एकैपटक गरेर जानुपर्छ भनेको तर एमालेले काम गर्न दिएन । यो देशका लागि खेलबाड भएको छ । खै मिलेर सरकार बनाएको त हो भूकम्पप्रभावित जनता अहिले पनि आकाशमुनि रात बिताइरहेका छन् । दुई ठूला दल मिलेर बनाएको सरकार फापसिद्ध भएन । दुई दलबीच सम्बन्ध सुमधुर हुनसकेन । राष्ट्रका महŒवपूर्ण विषयमा दुईदुई दलको तानातानीमा अड्कियो । सहमतिका नाममा हाम्रा वामपन्थी मित्र सधैँ ठग्ने गर्नुहुन्छ । अब यसलाई दुर गरेर जानुपर्छ । सहमतिकोे तथाकथित कुरा बेइमानी हो ।
उहाँहरु कि तपाईहरु ?
हामीले कहीँ बेइमानी गरेका छैनौं । एमालेले सहमतिका नाममा मुलुकलाई सात महिना झुलाउने काम ग¥यो । आफ्ना लागि मात्र सहमतिको माला जप्ने । प्रचण्डले सहमतिबाट गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउँछु भनेको होइन, खै त ? अब त्यसको अन्त्य हुनुपर्छ । राष्ट्रको राजनीतिबाट जनताको ध्यान अन्यत्र मोड्नु हुँदैन ।
प्रकाशित: १४ कार्तिक २०७२ २३:५६ शनिबार