अन्तर्वार्ता

जनमत संग्रह वा संविधान संशोधनबाट धर्म निरपेक्षता हट्नुपर्छः शशांक

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधानबाट धर्म निरपेक्ष शब्द हटाउनुपर्ने बताएका छन्।

बुधवार साँझ नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै महामन्त्री कोइरालाले धर्म स्वतन्त्र हुनुपर्ने जिकिर गरे। जनमत संग्रह अथवा संविधान संशोधनमार्फत निरपेक्ष हटाएर धार्मिक स्वतन्त्रता ल्याउनुपर्ने उनको माग छ।

नेपाली कांग्रेसको झण्डाको ४ तारामध्ये एउटा धार्मिक स्वतन्त्रताको प्रतिक भएको र यो विपीले उठाएको बताउँदै उनले निरपेक्ष शब्दले नकारात्मक अर्थ दिने भएकाले परिमार्जन गर्नुपर्ने धारणा राखे। ‘निरपेक्ष शब्दको नेगेटिभ कनेक्टेसन हुन्छ, यसलाई करेक्स गर्नुपर्छ’, उनले भने।

महामन्त्री कोइरालाले पश्चिमाहरुको प्रभावमा धर्म निरपेक्षता आएको सुनेको भन्दै निरपेक्ष शब्दमा आफ्नो आपत्ति रहेको स्पष्ट पारे। 

कांग्रेसको महासमिति बैठकमा हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर भएको र आफूलाई दबाब आएको भन्दै उनले यति हुँदाहुँदै पनि आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे। धर्मका नाममा राजनीति गर्न नहुने उनको मान्यता छ। ‘धर्म जोड्यो भने राजनीति स्खलित हुँदै जान्छ। म हिन्दू राज्यको पक्षमा छैन्’ उनले भने।

आफूले हिन्दू राष्ट्रका लागि अभियान नचलाएको स्पष्ट पार्दै त्यो पार्टीभित्रका साथीहरुको माग भएको तर आफू निरपेक्षको ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्ने पक्षमा रहेको दोहोर्याए।

प्रकाशित: १२ पुस २०७५ ०६:१४ बिहीबार

नेपाली_कांग्रेस शशांक_कोइराला जनमत_संग्रह नागरिक_फ्रन्टलाइन