अन्तर्वार्ता

सक्रिय राजनीतिमै छु, राष्ट्रपतिमा मेरो रुची छैनः माधव कुमार नेपाल (अन्तर्वार्ता)

बाम गठबन्धन बनाएर चुनावमा होमिएपछि नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकै उत्साहित देखिएका छन् । यसपटक काठमाडौ निर्वाचन क्षेत्र नं २ रोजेका नेता नेपाल निर्वाचन पछि सुविधाजनक बहुमतसहित बाम गठबन्धनको नेतृत्वमा सरकार बन्नेमा ढुक्क छन् । मुलुकको विकास र समृद्धिका लागि स्थायी सरकार अनिवार्य रहेको बताउने नेता नेपालले अझै सक्रिय राजनीतिमा रहेकाले राष्ट्रपति बन्न परिपक्व नभएको बताए । लक्ष्मी चौलागाँइको सहयोगमा नागरिकन्यूज लागि श्रीराम पौडेलले नेता नेपालसँग कुराकानी गरेका छन् ।

चुनाव प्रचार अभियान कसरी बढेको छ ?

चुनाव प्रचार प्रसार क्रमशः भइरहेको छ । बाम गठबन्धनको चुनाव प्रचार प्रसार कार्यालयहरु खुल्दै गइरहेका छन्। काठमाडौ महानगरको ३२ वडामा पर्ने सूर्यकोटमा शुक्रबार घर दैलो कार्यक्रम गरियो । वडास्तरमा चुनाव प्रचार कार्यालय खोलेका छौ । यसरी नै चुनाव अभियान जारी छ।

देशभरीमा मैले के गरे भनेर व्याख्या गर्ने हो भने मेरो क्षेत्रलाइ के गर्नुभयो भनी सोध्छन् । देश र दुनियाँका लागि गरेको कुरा सुनिदिन्छन् तर चित्त बुझाउँदैन् । उनीहरुलाइ आफ्नो ठाउँको समस्या प्रमुख लाग्छ ।

मुलुकमा प्रजातन्त्र पुर्नस्थापना भएपछि यो छैठौ महानिर्वाचन हो । राष्ट्रिय सभामा रहेकाले ०४८ र ०५१ मा यहाँले चुनाव लड्नु भएन । त्यसपछि लडेका चुनावमा यहाँले रौतहट र काठमाडौ रोज्दै आउनुभएको छ । अहिले भने काठमाडौमा मात्रै केन्द्रीत हुनुभएको छ । रोज्ने छोड्ने जस्तो भएन र?

त्यस्तो होइन । २०५६ को आमनिर्वाचनमा म रौतहटका दुइटै क्षेत्रमा विजयी भएको हुँ । २०६४ को संविधान सभा चुनावमा अलि भिन्न परिस्थिति रह्यो । २०७० मा पनि काठमाडौलाइ छोडेको हैन । अहिले काठमाडौकै क्षेत्रमा मात्र छु । अर्थात् ०६४ मा काठमाडौको क्षेत्र रोजि सकेपछि मैले काठमाडौलाइ छोडेको छैन । अघिल्ला दुइ चुनावमा दुइ ठाउँबाट लडेपनि काठमाडौका मतदातासँगको मेरो सम्बन्ध नियमित छ । जीवन्त छ । ०६४ मा हारेर छाडेको वा ०७० मा जितेर कागजी रुपमा छोडे पनि जनताका हरेक दुखसुखमा सँधै सँगसँगै छु । यस क्षेत्रका जनताले बोलाएको ठाउँमा म सँधै पुग्ने गरेको छु । रौतहटमा भन्दा पचासौ गुणा म काठमाडौको क्षेत्रमा पुग्दै आएको छु । २०७० को चुनाव पछि मधेस आन्दोलन चर्केका कारण पार्टीले मधेस नछोड्न भन्यो र काठमाडौलाइ कागजी रुपमा छोड्नु परेको हो ।

यस क्षेत्रका प्रत्येक ठाँउहरू लप्सेफेदी, नाङलेभारे,साँखु तथा अन्य गाँउहरुको कुनाकुनामा पुगेको छु । यस क्षेत्रका सबै सामाजिक काम विवाह ब्रतबन्धदेखि विकास निर्माणका काममा पुग्ने गरेको छु । पूर्वाधार निर्माण होस् वा राहत विवतरणका मैले यस क्षेत्रलाइ प्राथमिकता दिंदै आएको छु ।

अब पनि यो क्षेत्र माधव नेपालले नछाडिदियोस् भन्ने जनताको चाहना प्रति म पूर्ण सचेत र जानकार छु । जनताको माया र सद्भाव म प्रति छ । अब त एउटा मात्रै क्षेत्र छ । किलो जस्तै गाडिनु पर्छ । अब कपाली तमसुक गरिरहनु पर्दैन । यही क्षेत्र मेरा लागि दिगो रहन्छ।

तपाइ जस्तो राष्ट्रिय स्तरको राजनीतिज्ञ जो विधि निर्माणका लागि छानिने हो । तर नेताहरु एउटै क्षेत्र केन्द्रीत हुँदै जान थाले । अलि उल्टो भएन र?

हाम्रो कर्मचारी प्रशासनले स्वतन्त्र ढंगले काम गर्न नसक्ने भएकोले र मन्त्रीहरु राजनीतिक रुपमा निष्पक्ष हुन नसकेकोले निर्वाचन क्षेत्र विकासका लागि जनप्रतिनिधि नै लाग्नुपरेको हो । जनप्रतिनिधिको नाउँमा त्यस क्षेत्रको विकास हुनसक्छ भनेर जनताको चाहना र आकांक्षा जोडिएको हुन्छ । त्यसैले विधायिकी निर्वाचन भएपनि क्षेत्र विकासका लागि केन्द्रीत हुन परेको छ ।

संसदीय प्रजातन्त्र भएका मुलुकमा यस्तो व्यवस्था जहाँसुकै रहेको छ ।प्रतिनिधिहरु जनता र उनीहरुका आकांक्षासँग जोडिन्छन् । जनताका पिरमर्कासँग जोडिइएन भने भोली मेरो त कानुन बनाउने काम हो भनेर उम्किने खतरा रहन्छ । त्यसैले यो विधिलाइ मैले बेठिक ठान्दिन । तर विकास निर्माणको काममा लाग्दा र विधि निर्माणको काममा सन्तुलन मिलाउन सक्नुपर्छ ।

पार्टीतन्त्र र कर्मचारीतन्त्र निष्पक्ष नहुँदा विकासको वितरण प्रणाली न्यायिक नबनेको उल्लेख गर्नुभयो। तपाइ जत्तिको वरिष्ठ राजनीतिज्ञ एउटा क्षेत्र विशेषको मात्रै बन्न सुहाएन नि?

देशभरीमा मैले के गरे भनेर व्याख्या गर्ने हो भने मेरो क्षेत्रलाइ के गर्नुभयो भनी सोध्छन् । देश र दुनियाँका लागि गरेको कुरा सुनिदिन्छन् तर चित्त बुझाउँदैन् । उनीहरुलाइ आफ्नो ठाउँको समस्या प्रमुख लाग्छ ।

कर्मचारीतन्त्र निपूर्ण छैन । सामान्य मान्छेका कुरा सुन्दैन । स्थानीय तहको निर्वाचनले एउटा वातावरण बनाएको छ। घर आँगनमा जनताका गुनासा सुन्ने प्रतिनिधि छानिएका छन् । प्रदेश सभा बने पछि यो प्रक्रिया मजबुद बन्दैछ ।

अहिलेसम्म विकासका आधारभूत काम पनि भएका छैनन् । बाटोघाटो, पिउने पानी, विद्युतीकरण, सञ्चार, यातायात, शिक्षा र स्वास्थ्यको प्रबन्ध सुगम छैन । जनताले चाहेका कुरा यिनै हुन् । प्रदेश सभा बनेपछि क्षेत्राधिकार अन्तर्गत कामहरु हुनेछन् । तैपनि निर्वाचन क्षेत्रका प्रबन्धहरु निर्वाचित व्यक्ति बाटै हुने भएकाले क्षेत्र केन्द्रीत हुनुपरेको हो । समय दिनुपर्छ, मिलाउनुपर्छ । नेताहरु जनतासँग जोडिनुपर्छ । प्रत्यक्ष निर्वाचित व्यक्तिहरु जनताबाट टाढा भएको गुनासो आइरहेको छ । समानुपातिकबाट आएका नेताहरु त जनताबाट झन् टाढा भएका छन् । हामीलाइ विधि बनाउन चुनिएको हो भनेर उम्किएका पनि छन् । जनप्रतिनिधिलाइ जनतासँग घनिष्ट रुपमा जोड्न विकासको कुरा महत्वपूर्ण छ । तर विकासका लागि पठाइएको रकम दुरुपयोग हुनुभएन । सदुपयोग नभएका प्रशस्त उदाहरण छन् ।

काठमाडौ क्षेत्र नं २ का मुख्य समस्याहरु के के हुन्?

यस क्षेत्रको मुख्य समस्या बाटो नै हो । कागेश्वरी मनहराको चक्रपथ निर्माण गर्ने कुरा छ । कोटेश्वर देखि सालीनदीसम्म मनहराको किनारै किनार बाटो बनाउनुछ । विस्तार गर्न लागिएको बाटो धुलाम्मे छ । जनताले दुख पाएका छन् । स्मार्ट सिटीको अवधारणा अन्तर्गत शहरी पूर्वाधार निर्माण नै मेरा प्राथमिकता हुन् ।

अर्कोतर्फ सुरु भएका काम पनि समयमा हुनसकेका छैनन् । ठेकेदारले दुख दिने गरेका छन् । ठेकेदारले जति ढिलो ग¥यो भेरिएसनको नाममा पैसा खाइदिन्छ । ढिलो गर्दा उ पुरस्कृत हुन्छ । ठेकेदार, इञ्जिनियर देखि अर्थ मन्त्रालय हुँदै मन्त्रीमण्डलसम्मको संरचनामा परिवर्तन हुनु आवश्यक छ । कर्मचारीतन्त्रले दुःख दिने गरेको छ। त्यो बन्द हुनुपर्छ । त्यसैले विकासका लागि बलियो र स्थायी सरकार चाहिन्छ।

अहिले त स्थायी सरकारको नारा दिंदै बाम गठबन्धन बनाउनुभएको छ । तपाइ निकै उत्साहित देखिनुहुन्छ?  

अहिले मुलुक भ्रष्टाचारको जालोमा परेको छ । प्रमुख व्यक्ति, नेता, मन्त्री प्रधानमन्त्री भ्रष्टाचार मुक्त हुनैपर्छ । बाम गठबन्धनले बनाएको स्थायी सरकारले भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्नेछ । आजसम्म नेपाली कांग्रेससँग जति भ्रष्टाचारको मुद्दा जोडिएको छ कम्युनिष्टहरूसँग त्यस्तो मुद्दा जोडिएको छैन । नेपाली कांग्रेस भ्रष्टाचारको छिटैछिटाले भरिएको छ । सत्ताको दुरुपयोग नगर्ने, जनहितमा सत्ताको उपयोग गर्ने, स्वच्छ र गतिशिल प्रशासन कायम गर्नुपर्ने आवश्यकता छ ।

त्यसैले भ्रष्टाचारमुक्त मुलुकका लागि बाम गठबन्धन नेतृत्वको सरकार बन्नु आवश्यक छ । बलियो सरकार तथा आम परिवर्तनका लागि बामपन्थीको नेतृत्वमा सरकार बन्नु आवश्यक छ । आजसम्म कम्युनिष्टहरू भ्रष्टाचारमा मुछिएर दण्डित हुनु परेको छैन ।

सिंगो देशको सन्दर्भमा पनि मेरो जोड के हो भने यातायात सञ्जाल निर्माणलाइ राष्ट्रले पहिलो प्राथमिकता दिनुपर्दछ। सडक, रेल वा हवाइ मार्गको विस्तार हुनुपर्दछ । जिल्ला सदरमुकामहरु सडक सञ्जालमा जोडिनुपर्छ । रेलको राष्ट्रिय सञ्जाल निर्माण गर्ने काम अघि बढाइएको छ । केरुङबाट काठमाडौमा रेल ल्याएर पोखरा हुँदै लुम्बिनी पुर्याउने योजना छ । मेची महाकाली रेल सञ्जाल निर्माण पूर्वबाट सुरु भइसकेको छ । हवाइ मार्गका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका काम अघि बढेका छन् ।

नेपालमा जलस्रोतको सम्भावना धेरै नै छ । बगिरहेको पानीलाइ उर्जामा परिवर्तन गर्न ढिलो गर्नुहुन्न । आफ्नो क्षमताको पहिचान गर्न नसकेर नेपाली कांग्रेसले माथिल्लो तामाकोशी विदेशीलाइ सुम्पिने काम गर्यो । मेरो नेतृत्वको सरकारले सरकारले तामाकोशी परियोजना नेपालीले नै बनाउने निर्णय गरेको हो । नेपालको सीप, क्षमता र पुँजी छैन भनिएको थियो । तर जुटाइयो । काठमाडौ तराइ द्रुत मार्ग (फास्ट ट्रयाक) का सन्दर्भमा पनि यस्तै भनिएको थियो । अब नेपाली सेनाले तीन वर्षमै पुरा गर्दैछ । यसैगरी मध्यपहाडी लोकमार्ग, तराइको हुलाकी राजमार्ग, उत्तरदक्षिण नदि करिडोर, उत्तर दक्षिण नाका जोड्ने कुरा नेपालकै स्रोत साधनबाट निर्माण गर्नसकिन्छ । मानव संशाधनको विकास, यान्त्रिकीकरण, कृषिको आधुनिकीकरण गरी विदेशीएका युवालाइ स्वदेशमै रोजगारी दिने काम गर्नुछ । नेपालमा स्रोत र साधनको कुनै कमि छैन । पर्यटनको सम्भावना उत्तिकै छ । धार्मिक पर्यटनका लागि हिन्दू र बुद्धिष्ट सर्किट बनाउन सकिन्छ । जसका लागि स्थायी सरकार अनिर्वाय छ । कांग्रेसले तीन पटक सम्म बहुमत ल्याउँदा समेत मुलुकको विकास हुन सकेको छैन । एमालेको नेतृत्वमा बाम गठबन्धनको सरकार बन्यो भने एमालेको अग्नीपरीक्षा सुरु हुनेछ ।

तपाईका सपनाहरूको जनताले विश्वास गर्ने आधारहरू के के हुन् ?

विश्वास गर्ने आधार के हो भने हामीले मौका पाउदा (सरकारको नेतृत्व गर्दा) माथिल्लो तामाकोशी, द्रुतमार्ग, निजगढ र लुम्बिनीका अन्तर्राष्ट्रिय विमानस्थल, मध्य पहाडी लोकमार्ग र त्यही मार्गले छुने दशवटा स्मार्ट सिटी जस्ता परियोजना अघि बढायौ ।

प्रतिस्पर्धीहरु प्रति यहाँको धारणा के छ ?

प्रतिस्पर्धीहरू हुनु आवश्यक छ । प्रतिस्पर्धी बिना चुनावको महत्व नै हुन्न । उहाँहरूलाई म सम्मान गर्छु । म उहाँहरूको आलोचना गर्दिन उहाँको रचनात्मक सल्लाहको सदैव आशा गर्नेछु । भोली प्रतिपक्षमा रहेर पनि रचनात्मक भूमिका खेल्न म अनुरोध गर्छु । मेरा प्रतिष्पर्धीका आफ्नै सिमा छन्, चाहेर पनि गर्न सक्नुहुन्न । मेरो आफ्नै किसिमको स्थान छ, त्यसैले जनताले म बाट धेरै अपेक्षा गरेका छन् ।

तपाईहरुले सबैलाई चकित पार्नेगरी बाम गठबन्धन बनाउनुभयो । अहिले अपेक्षा गरेभन्दा सुगम ढंगले चुनावमा जानुभएको छ । विगतमा माओवादीका नेताले तपाइलाइ ‘विष वृक्ष’ भनेका थिए । सरकार साझेदारीको सम्बन्ध पनि तनावपूर्ण रहँदै सकिएको थियो । उतार चढावको सम्बन्धमा पार्टी एकीकरण गर्ने मार्गचित्र कसरी बढ्छ ?

अहिले मुलुक भ्रष्टाचारको जालोमा परेको छ । प्रमुख व्यक्ति, नेता, मन्त्री प्रधानमन्त्री भ्रष्टाचार मुक्त हुनैपर्छ । बाम गठबन्धनले बनाएको स्थायी सरकारले भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्नेछ । आजसम्म नेपाली कांग्रेससँग जति भ्रष्टाचारको मुद्दा जोडिएको छ कम्युनिष्टहरूसँग त्यस्तो मुद्दा जोडिएको छैन ।

सम्बन्ध कटुतापूर्ण र मित्रतापूर्ण दुवै रह्यो । मलाइ रिकगनाइज गर्दिन भनेका प्रचण्ड  म प्रधानमन्त्री हुँदा बालुवाटार र सिंहदरबार दुवै ठाउँमा आएर सँगै खानपान गरियो, रमाइलो पनि गरेका थियौ । त्यतिमात्रै होइन, त्यसवेला उहाँहरुको सेनाको हेडक्वाटर रहेको शक्तिखोरमा मलाइ लिएर जानुभयो, अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको उपस्थितिमा माओवादीका सेनाहरुले स्यालुट गरेर उच्च सम्मान पनि दिनुभयो । त्यत्रो शानदार कार्यक्रम सफलताका साथ सम्पन्न गर्ने काम पनि भयो । त्यसकारण हामीले कुन चाहि पक्षलाई हेर्ने भन्ने कुरा आउँछ । मेरो त धारणा के छ भने फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार । म काँडा सम्झन चाहन्न फुल बन्छु, यो काँडाको होइन गुलाफको फुल हो । त्यसैले म गुलाफलाई सम्झन्छु काँडालाई सम्झन्न।

राजनीतिमा र सामाजिक व्यवहारमा तीता टर्रा कुराको कुनै स्थान छैन । मानव जीवनमा पनि तीता कुरा सम्झेर चल्ने होइन, मेरो संस्कार र हुर्काइ नै प्रेम र संस्कारबाट भएको हो ।

माओवादीले छानी छानी एमालेका नेता कार्यकर्ताको हत्या गरेको यति छिट्टै बिर्सन मिल्छ र? तपाइको कोठामा गौतम बुद्धको पनि तस्वीर झुण्डिएको छ । एमालेले बुद्धत्व प्राप्त गरिसकेको हो ?

यस्ता सबै कुरा सम्झिदै गर्ने हो भने साध्य छैन । हाम्रा नेतामाथि भएका घटनाहरुका छानवीन राज्यका नियमले कानुनले ती व्यवस्था गर्छन् । हामीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता नागरिक आयोग बनाएका छौं, त्यसले टुङ्गो लगाउँछ । त्यसले कानुन र विधिका आधारमा मापदण्ड अनुसार काम गर्नेछ । क्रुर अमानवीय खालका अपराध भएका छन् भने त्यसलाई त्यही अनुसार डिल गर्छ । अरु कुनै छन् भने मेलमिलापको आधारमा टुङ्गो लगाउँछ । दुईवटै पक्षलाई चित्त बुझाएर, सन्तोषका साथ दुई पक्ष बस्ने आधारमा त्यसलाई टुङ्गो लगाउने काम गर्छ। त्यसकारण कतिखेर बदला लिऊ भन्ने सानो चित्तका मान्छे हामीले बन्नु हुँदैन ।

अब त्यसो भए माओवादीले गरेको युद्धलाइ माफी दिनुभयो । समिक्षा गर्न पर्छ कि पर्दैन?

युद्धले केही पार लाग्दो रहेनछ भनेर मान्छेले महशुस (रियलाइजेसन) गरिसकेका छन् ।

के प्रचण्डजीले महशुस गर्नुभएको हो ?

मैले भने मान्छेले गरिसकेका छन् । उहाँहरुको नेता पङ्तिले आज भनेको होइन म गोरखपुर पुग्दा मैले सुनेको हुँ।

तर, एमालेको नेतृत्वको सरकारमा सहभागी भएको माओवादी केन्द्र आधा बजेट पारित गरेर आधार छोडेर त्यसपछि कांग्रेससँग गठजोड गर्न पुगेको पनि त हो नी ? यस्तो अवस्थामा माओवादी केन्द्रको बुद्धत्व कसरी प्राप्त भयो, के थियो त्यस्तो टर्निङ प्वाइन्ट ?

त्यो त एमालेको सरकार ढाल्ने कांग्रेस, फेरि मलाई प्रधानमन्त्रीको अफर गर्ने पनि त कांग्रेस नै हो नी । त्यसकारण यस्ता कुरालाई मनमा राखेर राजनीति गर्न सकिदैन । समाजमा बस्न र जीवन चलाउन सकिदैन, यदी जीवन चलाउनु छ भने तीता पिरा कुरालाई बिर्सनुपर्छ ।  

त्यो त स्वार्थी भएन र ?

स्वार्थी होइन, स्वार्थी त आफू केन्द्रीत हुन्छ, व्यक्ति केन्द्रीत हुन्छ, खाली आफ्नो कुरालाई घोचेको कुरालाई मात्र सम्झि रहन्छ । अरुलाई पनि त कुनै कुराले घोचेको त होलान नी ।  कुनै पनि कुरालाई समय र स्थान अनुसरा निर्धारण गर्छ भन्ने कुरालाई हामे विकासको नियम अनुसार बुझ्न जरुरी छ । त्यसकारण हामीले टाइम र स्पेशलाई ध्यान दिन आवश्यक छ ।

अहिले जहाँ जे स्वार्थ मिल्छ त्यही गठबन्धन बनाएर गएको छ, यस्तो प्रवृत्ति देख्दा राजनीति संस्कारयुक्त छैन जस्तो लाग्दैन ?

स्वार्थ होइन, मान्यता मिल्छ भने गठबन्धन गर्ने हो । बिचार र उद्देश्य त मिल्नुप¥यो नी ।

ल, बाम गठबन्धनमा त तपाईले भनेको कुरा मिल्यो रे, तर राप्रपासँग, अन्य पार्टीसँग कसरी मिल्छ एमालेको नीति?

किन भने देशभक्त शक्तिहरुसँग सहकार्य गर्नैपर्छ । सबै देशभकत र बाम नहुन पनि सक्छन् । त्यसैगरी सबै लोकतन्त्रका मान्यता बोक्नेहरु देशभक्त भावना नभएका पनि हुनसक्छन् । अर्काे लोकतन्त्रको मान्यता बोके पनि सामाजिक न्यायको निम्ति कटिबद्ध नहुन पनि सक्छ । सबैको हित र कल्याणको निम्ति नलाग्ने व्यक्तिगत स्वभावको पनि हुनसक्छ । त्यसकारण हामीले सबै पक्षलाइ समेट्नुपर्छ अनि मात्रै एउटा समष्टि रुप बन्दछ ।

त्यसो भए निर्वाचन पछाडी पार्टी एकता हुने नै हो ? कसरी गर्नुहुन्छ पदीय भागवण्डा ?

निर्वाचन पछि पार्टी एकता हुन्छ । हामीले सबैको भूमिकालाई उपयुक्त स्थान दिनुपर्छ।

अहिले हामीले दुईवटा पार्टीलाई मिलाउन गइरहेको बेला पदका निम्ति मारामार गर्ने ? चुनाव त जित्न दिनुस् । जितेपछि सेकेण्ड स्टेपको कुरा हुन्छ । अहिले नै प्रधानमन्त्रीका निम्ति आतुरता किन ?  आशक्ति किन प्रधानमन्त्री पदका निम्ति ? यदी समयले माग गरिरहेको छ भने अवश्य पनि व्यक्तिले प्राप्त गर्न सक्छ । त्यसको निम्ति अनेक फ्याक्टरले काम गरेको हुन्छ ।

तपाईहरुको गठबन्धनलाई चिनियाँ प्रभावित (इन्फ्लुएन्स) गठबन्धन भनिदैछ । तपाइ के भन्नुहुन्छ?

हामीलाई कसैको पनि अनावश्यक हस्तक्षेप र चासो स्वीकार्य छैन । चीनले कुनै हस्तक्षेप गरेको, हात हालेको पाइएको छैन । भारतले पनि हामीले बुझिने गरी अनुचित काम गरेको लागेको छैन । हामी पनि छिमेकी मुलुकसँग साथ र सहयोग चाहन्छौं । मित्र बदल्न सकिन्छ छिमेकी बदल्न सकिदैन । दुई छिमेकीसँगको सम्बन्ध सुमधुर होस् भन्ने हामी चाहन्छौं । हामी यही उद्देश्यका साथ हाम्रो विदेशनीति बनाउनेछौं । नेपालको संवेदनशीलतालाई ध्यान दिएर राष्ट्रिय सुरक्षा नीति बनाउने छौं ।

एउटा गसिप प्रश्न । तपाईहरुको गठबन्धनको बहुमत आउने अड्कलबाजीका बीच तपाईलाई भावी राष्ट्रपतिको रुपमा अघि सारिने चर्चा पनि चलेको छ, तपाईको विचार के छ ?

राष्ट्रपति बन्नका लागि सांसद बन्नु पर्दैन । म राष्ट्रपति बन्ने भए किन चुनाव लड्नु पथ्र्याै ? हाम्रो बीचमा कुनै कुरा भएको छैन । म अहिले राष्ट्रपति बन्न गइरहेको छैन ।  अहिले म जनप्रतिनिधि भएर जान्छु, सांसद भएर काम गर्छु त्यसपछि समयले के भूमिका खोज्छ त्यही गर्छु । मैले बार बार भनेको छु, राष्ट्रपति बन्न मेरो उमेर पुगेको छैन । कुरा नै भन्नुहुन्छ भने मलाई विद्या भण्डारी हुँदै राष्ट्रपति बनाउन नेताहरु दौडधुपमा लाग्नुभएको थियो । तर, मैले मानिन । म जागरिलो मान्छे, मेरो कामकाजी नेचर छ, मैले राष्ट्रपति भएर दिव्यज्ञान दिने, उपदेश दिएर बस्ने बेला भएको छैन ।

त्यसो भए गठबन्धनबाट राष्ट्रपति, प्रधानमन्त्री को त ?

अहिले हामीले सोचेकै छैन । भोलि को को आउने हुन्, के के विचार गर्ने हुन्, कस्तो परिवेश बन्ने हो । कुन पार्टीका कुन नेताको व्यवस्थापन कसरी गर्ने हो । त्यो पछि तय गर्ने कुरा हो ।

त्यसो भए पार्टी एकीकरण कत्तिको सहज छ ?

चुनावी गठबन्धन पनि सहज थिएन । सिटको भागवण्डा पनि सहज थिएन । हामीले मिलायौ । असहज अवस्थालाइ सहज बनाउन नै हाम्रो भूमिका रहन्छ । एमाले–माओवादीले गठबन्धन सफल भएको छ । पहिलो परीक्षामा उतीर्ण भएको छ । अब एकीकरण गर्ने, सरकार चलाउने परीक्षा हुनेछन् । हामी उत्तीर्ण हुनेछौ ।

यदी बामहरुको बहुमत भएन भने के हुन्छ नेपाली राजनीति ?

बाम बहुमत आएन भने मिल्न सकिनेहरुको फोर्स बनाइनेछ । जनताले मत नदिएर बहुमत नआए त्यसको पीडा जनताले पनि भोग्नुपर्छ ।

भनेपछि बाम गठबन्धनको बहुमत आउने कुरामा ढुक्क हुनुहुन्न ?

बहुमत मात्रै होइन सुविधाजनक बहुमत आउनेछ । समयले संकेत र दिशानिर्देश गरिसकेको छ यसपटकको सरकार बामपन्थीहरुको सरकार हुनेछ । नेपाली कांग्रेसले प्रतिपक्षीमा बस्नुपर्नेछ र त्यो रचनात्मक होस् भन्ने हाम्रो शुभेच्छा छ । अब कांग्रेसले चित्त बुझाउने र अनर्गल झुठा प्रचार नगर्नु वेश हुन्छ ।

त्यसो भए कांग्रेस कुन साइजमा आउला ?

कांग्रेसले आफ्नो काम र व्यवहार अनुसारको साइज पाउला । जनता कांग्रेससँग धेरै रिसाएका छन, सायद धेरै घटाइदेलान जस्तो लाग्छ।

फोटो भिडियो: प्रबिन कोइराला

 

 

 

  

 

 

प्रकाशित: २ मंसिर २०७४ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App