अन्तर्राष्ट्रिय

भ्रामक सूचना प्रवाह नगर्न चीनको चेतावनी

चीनले सिनजियाङ प्रान्तमा मानवअधिकार उल्लङ्घनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनलाई दबाउन खोजेको आरोपको खण्डन गर्दै त्यसको कडा शब्दमा प्रतिक्रिया दिएको छ।

'भ्रामक सूचना प्रयोग गरेर चीनविरुद्ध गरिने गाली र आक्रमणको हामी दृढतापूर्वक विरोध गर्दछौँ, चीनको न्यायपूर्ण अडानलाई  विकासोन्मुख देश र अन्तर्राष्ट्रिय समुदायबाट सुदृढ समर्थन प्राप्त भएको छ, राजनीतिक परिवर्तनमा  संलग्न हुन सिन्जियाङलाई प्रयोग गर्ने, चीनको प्रतिष्ठालाई धमिलो पार्ने र चीनलाई नियन्त्रणमा राख्ने र दबाउने प्रयास सफल हुने छैन,' चिनियाँ विदेश मन्त्रालयका वाङ वेनबिनले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बेलायतको एउटा सञ्चार माध्यमले लगाएको आरोपको खण्डन गर्दै भनेका छन्।

चीनले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटलाई सिनजियाङमा भएको मानवअधिकार उल्लङ्घनसम्बन्धी प्रतिवेदनलाई दबाउन आग्रह गर्दै पत्र पठाएको बेलायतस्थित सञ्चारमाध्यमले बताएपछि विदेश मन्त्रालयका प्रवक्ताको कडा प्रतिक्रिया आएको हो। गत मे महिनामा उच्चायुक्त बाचेलेटले सिनजियाङको भ्रमण गरी त्यहाँको मानवअधिकारस्थितिबारे जानकारी लिएकी थिइन्।

प्रकाशित: ५ श्रावण २०७९ १३:५७ बिहीबार