भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनविरुद्ध एक युवतीले बलात्कार आरोप लगाएकी छन्।
आफूलाई बलिउड अभिनेत्री बताउने मुम्बईकी एक युवतीले झारखण्ड मुक्ति मोर्चा (जेएमएम) बाट मुख्यमन्त्री बनेका सोरेनले आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन्।
बहाल मुख्यमन्त्रीविरुद्ध बलात्कार आरोप लागेको यो घटना देशको राजनीतिमै पहिलो भन्दै भारतीय जनता पार्टी (भाजपा) ले उनको राजीनामा मागेको छ। साथै घटना छानबिन गर्न सीबीआईलाई आग्रह पनि गरेको छ।
झारखण्ड मुक्ति मोर्चा (जेएमएम) ले भने सरकार ढाल्न भाजपले ‘फोहोरी राजनीति’ गरिरहेको आरोप लगाएको छ।
घटना यस्तो हो
आफूलाई संघर्षशील बलिउड अभिनेत्री दाबी गर्ने ती युवतीले मुख्यमन्त्री सोरेनले २०१३ सेप्टेम्बर ५ मा मुम्बईस्थित फाइभ स्टार होटलमा लगेर आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन्। साथै आफूलाई ज्यान मार्ने धम्की पनि मुख्यमन्त्रीले दिएको ती युवतीको आरोप छ।
घटनाको ४५ दिनपछि ती युवतीले मुम्बईस्थित महानगरीय अदालतमा गुनासो दर्ता गरेकी भए पनि ९ दिनपछि फिर्ता लिएकी थिइन्। त्यसयता त्यो घटना सेलाएको थियो।
जतिबेला पनि सोरेन झारखण्डका मुख्यमन्त्री नै थिए।
तर यही डिसेम्बर ८ तारिख ती युवतीले लेखेको एक पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि त्यो काण्ड ब्युँतिएको हो। त्यही पत्रका आधारमा मुम्बई प्रहरीले मुख्यमन्त्रीविरुद्ध अनुसन्धान अघि बढाएको हो।
युवती भने गायब
मुख्यमन्त्री सोरेनविरुद्ध बलात्कार आरोप लगाउने ती युवतीको मोबाइल भने यतिबेला स्विचअफ भएको छ भने उनले कुनै सार्वजनिक बयान पनि दिएकी छैनन्।
बिबिसीका अनुसार ती युवतीले मुम्बई प्रहरीलाई एउटा मेल गरेकी थिइन्, त्यही मेलको फोटोकपी सामाजिक सञ्जालमा भाइरल भएको हो। तर ती युवती आफैंले मुम्बई प्रहरीलाई भेटिन् कि भेटिनन् भन्ने कुरा स्पष्ट हुन सकेको छैन।
प्रकाशित: ५ पुस २०७७ ०७:४६ आइतबार