अन्तर्राष्ट्रिय

जहाँ दैनिक ११ बलात्कार

प्रतिकात्मक तस्बिर

पाकिस्तानमा बलात्कारका घटना औसतमा दैनिक ११ वटा हुने गरेको पाइएको छ। पछिल्लो ६ वर्षमा प्रहरी कार्यालयमा बलात्कारसम्बन्धी २२ हजार वटा विवरण दर्ता भएको अधिकारीले जनाएका छन्।  

तीमध्ये ७७ वटा अर्थात् ०.३ प्रतिशत घटनामा मात्रै मेलमिलाप भएको जिओ न्युजले समाचार सम्प्रेषण गरेको छ। यो विवरण पाकिस्तानका प्रहरी, कानुन तथा न्याय आयोग, मानवअधिकार आयोगलगायत निकायले तयार पारेका हुन्।

प्रहरीका अनुसार ४१ प्रतिशत घटना मात्रै दर्ता हुने गरेका छन्। सामाजिक अवस्था र पारिवारिक कारण बलात्कार घटना सार्वजनिक नहुने र दर्ता पनि नहुने गरेको प्रहरी अधिकारीको अनुभव छ।  

सामाजिक दबाब र कानुनी केही कमजोरीका कारण बलात्कारका घटना धेरै हुने गरेको र दोषीलाई कारबाही कम हुने गरेको उनीहरूले बताउने गरेका छन्।  

सन् २०१५ देखि अहिलेसम्म २२ हजार ३७ वटा बलात्कार घटना दर्ता भएको सरकारी अधिकारीले जनाएका छन्। तीमध्ये ४ हजार ६० उजुरी अझै कारबाहीकै चरणमा छन्।  

प्रहरीले घटना भएका सबै दर्ता भएको भए ५ वर्षमा त्यसको संख्या झण्डै ६० हजार पुग्ने अनुमान गरेको छ।  

कूल दर्ता भएका उजुरीमध्ये १२ प्रतिशत घटना मात्रै अदालतसम्म पुग्ने गरेको प्रहरी अधिकारीको भनाइ छ। एएनआई

प्रकाशित: २९ कार्तिक २०७७ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App