अन्तर्राष्ट्रिय

‘चुनावमा धाँधली’ भन्ने ट्रम्पको आरोप खारेज, ‘यसपालिको निर्वाचन झन् इतिहासकै सुरक्षित’

अमेरिकाको संघीय निर्वाचन अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भयो भनेर लगाएको आरोप खारेज गरेका छन्। 

अझ यसपटक (सन् २०२० मा) भएको निर्वाचन अमेरिकाको इतिहासमै सबैभन्दा सुरक्षित भएको उनीहरूको दाबी छ।  

निर्वाचन अधिकारीको एक समितिले भनेको छ, ‘कुनै त्यस्तो प्रमाण छैन, जसका आधारमा चुनावमा यताउता भयो, मतदानमा अनियमितता भयो भन्न मिल्छ।’  

डोनाल्ड ट्रम्पले बिनाप्रमाण आफ्ना पक्षमा आएका करिब अढाई करोड भोट झिसमिस पारियो भन्ने दाबी गरिरहेका छन्।  

ट्रम्पले अझै जो बाइडेन विजयी भएको कुरा स्वीकार गरिरहेका छैनन्। तर अमेरिकाका सबै ठूला टेलिभिजन च्यानलले यही नोभेम्बर ३ का दिन भएको चुनावमा बाइडेनले जित हासिल गरेको बताइसकेका छन्।  

बीबीसीको आकलनअनुसार बाइडेनले एरिजोना राज्यमा पनि विजय प्राप्त गरेका छन्, याेसँगै उनले थप ११ इलेक्टोरल मत प्राप्त गरेका छन्। योसमेत अब उनका पक्षमा २९० इलेक्टोरल मत भएकाे छ भने ट्रम्पले २१७ भोट मात्र पाएका छन्। 

तर ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै यसविरुद्ध कानुनी लडाइँ लड्ने चेतावनी दिइरहेका छन्।

यो पनि पढ्नुहोस्

सत्ता छाड्दिनँ भन्ने ट्रम्पले जनवरी २० मा थाहा पाउँछन् : बाइडेन

प्रकाशित: २८ कार्तिक २०७७ १२:५१ शुक्रबार

अमेरिका ट्रम्प निर्वाचन