अन्तर्राष्ट्रिय

अमेरिकामा गर्भवतीको पेट चिरेर शिशु चोर्ने यी महिलालाई मृत्युदण्ड दिइँदै

लिसा मन्टगमरी

अमेरिकामा गर्भवतीको पेट चिरेर शिशु चोरेको कसुरमा एक महिलालाई मृत्युदण्ड दिइने भएको छ। 

बिबिसीका अनुसार लिसा मन्टगमरी नाम गरेकी कैदी महिलालाई आगामी डिसेम्बर ८ तारिखका दिन प्राणघातक सुई दिएर मृत्युदण्ड दिइने भएको हो।  

उनले सन् २००४ मा मिसोरीमा एक गर्भवतीको हत्या गरी पेट चिरेर शिशु लगेकी थिइन्।  

यस्ताे थियाे घटना 

अमेरिकाको न्याय मन्त्रालयका अनुसार २००४ डिसेम्बर मन्टगमरी कुकुरको छाउरा किन्ने भन्दै क्यान्ससबाट मिसोरीस्थित ८ महिनाकी गर्भवती बबी जो स्टिनेटको घर पुगेकी थिइन्।

न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘घरभित्र पसेपछि मन्टगमरीले गर्भवती स्टिनेटलाई आक्रमण गरिन् र बेहोस बनाइन्। त्यसपछि भान्छामा प्रयोग गर्ने चक्कुले स्टिनेटको पेट चिरिन्। त्यसो गर्दैगर्दा स्टिनेटको होस आयो। तर संघर्षका क्रममा उनी मारिइन्। त्यसपछि मन्टगमरीले उनको पेटको बच्चा झिकेर आफ्नै हो भन्ने प्रयत्नमा लागिन्।’

त्यसपछि सन् २००७ मा उनलाई न्यायाधीशको जुरीले उनलाई अपहरण र हत्यामा दोषी ठहर गर्दै सर्वसम्मतिले मृत्युदण्डको सजाय सुनायो।  

अमेरिकामा झन्डै ७० वर्षपछि महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ। 

मृत्युदण्डसम्बन्धी सूचना संकलन गर्ने ‘डेथ पेनाल्टी इन्फर्मेसन सेन्टर’का अनुसार यसअघि अमेरिकामा बनी हेडीलाई सन् १९५३ मा मृत्युदण्ड दिइएको थियो।  

यस्तै दुई मन्त्रीको हत्या कसुरमा ब्र्यान्डन बर्नार्डलाई पनि डिसेम्बरमा मृत्युदण्ड दिने तयारी छ।  

ट्रम्प प्रशासनले गत वर्ष मृत्युदण्ड पुनस् सुरू गर्ने बताएको थियो।

प्रकाशित: २ कार्तिक २०७७ १०:४७ आइतबार

अमेरिका मृत्युदण्ड