अन्तर्राष्ट्रिय

यस वर्ष संयुक्त राष्ट्रसंघको महासभा बन्यो इतिहासकै अनौठो!

यस वर्ष संयुक्त राष्ट्रसंघको महासभा अपूर्व बनेको छ। कोरोना महामारीका कारण राष्ट्रसंघको अहिलेसम्मकै अनौठो महासभा अहिले भएको हो।  

महासभामा सहभागी नआउने र उनीहरूले भिडियोमार्फत सम्बोधन गर्ने व्यवस्था गरिएकाले अहिले महासभास्थल सुनसान छ। तर महासभा विद्युतीय माध्यमबाट सञ्चालन भइरहेको छ।  

महासभामा विश्वभरका नेताले सम्बोधन गर्ने, एकअर्कालाई भेट्ने, छलफल गर्ने, सम्बन्ध बलियो बनाउने तथा सुधार्ने प्रयास गरिन्थ्यो। तर अहिले भौतिक उपस्थिति जनाउन नसकेपछि औपचारिकताका लागि भिडियो सम्बोधन मात्रै भइरहेको हो।  

महासभा चलिरहेका बेला न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालय परिसरमा सुरक्षा व्यवस्था अत्यन्त चुस्तदुरुस्त राख्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने गरिएकामा अहिले भने निकै थोरै मात्रै सुरक्षाकर्मी देखिएका छन्।  

राष्ट्रसंघ मुख्यालयवरिपरिको अवस्था हेर्दा महासभा चलिरहेको छ जस्तो पनि लाग्दैन। यहाँ अहिले केही सुरक्षाकर्मी, केही कर्मचारी र अलिअलि पत्रकार मात्रै देखिएका छन्। राष्ट्रसंघको महासभा भइरहेका बेला मुख्यलय रहेको न्युयोर्क सहरकै चहलपहल फरक हुने गरेको स्थानीयको अनुभव छ। महासभा चलिरहेका बेला विश्वभरका नेताको ध्यानाकर्षण गर्न धेरै प्रदर्शन गरिन्थ्यो। सभाहलमा विश्वका नेताको अनुपस्थिति बिना पनि महासभा होला भन्ने यसअघि कहिल्यै सोचिएको थिएन।  

झण्डै ७ हेक्टर क्षेत्रफलमा फैलिएको मुख्यालयको पूर्वी नदीमा कुनै सुरक्षा डुंगा छैनन्। खटाइएका केही सुरक्षाकर्मीलाई पनि कुनै हतारो र दौडधुप छैन। अहिले चलिरहेको ७५औं महासभामा सहभागिताका लागि हस्ताक्षर गर्न कोही नेता नआए पनि भाषण भने चली नै रहेको छ।  

राष्ट्रसंघले महासभाका लागि दिइने मन्तव्य पहिले नै आफ्नै देशमा भिडियो रेकर्ड गरेर पढाउन आह्वान गरेको थियो। सोहीअनुसार पठाइएका भिडियो रेकर्ड भएको भाषण अहिले प्रसारण गर्दै महासभा चलिरहेको छ।  

महासभा सञ्चालन हुने हलमा कोही मानिस नै नभएका चाहिँ होइनन्, त्यहाँ झण्डै २ सय मानिस भने छन्। अघिल्ला वर्षमा भने त्यही हलमा झण्डै २५ सय मानिस हुने गरेका थिए।  

अहिले हलमा रहेका मानिस पनि भौतिक दूरी कायम गर्ने, मास्क अनिवार्य लगाउनेलगायत आधारभूत स्वास्थ्य मापदण्ड अपनाइरहेका छन्।  

मुख्यालयवरिपरि व्यापार÷व्यवसाय गर्ने गरेकाहरूले पनि अहिले त्यस्तो मौका गुमेको गुनासो गरेका छन्। आफूलाई मारिया नाम बताउने एक स्थानीय व्यवसायीले अघिल्लो वर्षको स्मरण गर्दै भनिन्, ‘अघिल्लो वर्ष यहाँ अति धेरै मानिस आएका थिए, अहिले त एक जना मात्रै ग्राहक छन्।’

यसअघि महासभा चलिरहेका बेला आफू अत्यधिक व्यस्त हुने गरेकामा अहिले भने कुनै काम नभएझैं भएको उनको भनाइ छ। उनीजस्तै अरू पनि धेरै व्यवसायीले पहिलाको जस्तै चहलपहल र कारोबार कहिले होला भनेर प्रतीक्षा गरिरहेका छन्। सिन्ह्वा 

प्रकाशित: ७ आश्विन २०७७ १०:२६ बुधबार

संयुक्त राष्ट्रसंघ