अन्तर्राष्ट्रिय

नेपालसँगको सम्बन्ध माता जानकीसँग जोडिएको छ: मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् रामको आत्मीय सम्बन्ध माता जानकीसँग जोडिएको बताएका छन्। राममन्दिर निर्माणका लागि बुधबार अयोध्यामा आयोजित भूमिपूजा कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले श्रीलंकामा रामायणको कथा जानकी हरणका नाममा सुनिने गरेको र नेपालसँगको आत्मीय सम्बन्ध भने माता जानकीसँग जोडिएको बताएका हुन्।

विश्वका अन्य कैयौं देशको आस्था र अतीतमा राम कुनै न कुनै रूपमा जोडिएको उनले बताएका छन्। रामले अनेकतामा एकताको सन्देश दिने गरेको उल्लेख गर्दै मोदीले भनेका छन्, ‘राम सबैका हुन् र सबै रामका हुन्।’ प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा रामको जन्मभूमि भारतको अयोध्या नभएर नेपालको ठोरी रहेको अभिव्यक्ति दिएपछि त्यो निकै विवादित बनेको थियो। प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिलाई लिएर भारतमा पनि चर्काे आलोचना भएको थियो। उनको उक्त अभिव्यक्तिप्रति विश्वभरबाट हिन्दु धर्मका अनुयायीहरूले चर्काे विरोध जनाएका थिए। प्रधानमन्त्री ओलीले भगवान् रामको जन्मस्थल नेपाल हो भनी दिएको अभिव्यक्ति सेलाउन नपाउँदै भारतीय प्रधानमन्त्री मोदीले अयोध्यामा राममन्दिरको शिलान्यास गर्दै रामको आत्मीय सम्बन्ध नेपालसँग जोडिएको बताएका हुन्।

राममन्दिर निर्माणका लागि अयोध्यामा भएको भूमिपूजा कार्यक्रमको पाकिस्तानले निन्दा गरेको छ। पाकिस्तानले मन्दिर निर्माणको सुरुवातलाई भारतीय लोकतन्त्रमा धब्बा भनेको छ। पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, ‘ऐतिहासिक बाबरी मस्जिद जुन जमिनमा लगभग पाँच सय वर्षसम्म अस्तित्वमा थियो, त्यहाँ राममन्दिर निर्माण सुरुवातको पाकिस्तान कडा निन्दा गर्छ।’ पाकिस्तानले भारतीय सुप्रिम कोर्टको फैसलाले भारतमा बढ्दो बहुसंख्यकवादलाई मात्र नदेखाएर न्यायमाथि धर्मको प्रभुत्वलाई पनि देखाएको जनाएको छ। पछिल्लो समय भारतमा अल्पसंख्यक, विशेष गरी मुसलमानका धर्मस्थलमाथि निरन्तर निसाना बनाइरहेको पाकिस्तानले आरोप लगाएको छ।

प्रकाशित: २२ श्रावण २०७७ ०१:०१ बिहीबार

नरेन्द्र मोदी भगवान् राम