अन्तर्राष्ट्रिय

रक्सीको तलतल खप्न नसकी सानिटाइजर पिउँदा १० जनाको मृत्यु

सानिटाइजकाे फाइल तस्बिर

भारतको एक गाउँमा लकडाउनका कारण रक्सी पसल बन्द भएपछि सट्टामा सानिटाइजर पिउँदा कम्तीमा १० जनाको ज्यान गएको छ ।

भारतको आन्ध्र प्रदेशस्थित कुरिचेदु गाउँमा रक्सीको लत लागेका ती मानिसले रक्सी नपाएपछि अल्कोहलयुक्त सानिटाइजर पानी र अन्य पेय पदार्थमा मिसाएर पिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख गरेका छन् ।  

स्थानीय प्रहरी प्रमुख सिद्धार्थ कौशलले बिबिसीलाई बताएअनुसार उनीहरूले यसरी झन्डै १० दिनसम्म सानिटाइजर पिएका थिए । त्यसपछि उनीहरूको मृत्यु भएको हो ।  

त्यो सानिटाइजरमा अन्य कुनै विषादी पदार्थ थियो वा थिएन भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।  स्यानिटाइजरको नमुना रासायनिक परीक्षण गर्न प्रयाेगशाला पठाइएकाे प्रहरी प्रमुख काैशलले बताए। 

त्यहाँ अहिले लकडाउनका कारण रक्सी पाइँदैन तर स्यानिटाइजर सजिलै पाइने बिबिसीले उल्लेख गरेकाे छ। 

प्रकाशित: १७ श्रावण २०७७ ०७:४४ शनिबार

भारत रक्सी सानिटाइजर