अन्तर्राष्ट्रिय

चीनमा फेरि फैलिन थाल्यो कोरोना संक्रमण, चिन्तामा अधिकारी

तस्बिर : एएफपी

नियन्त्रणमा आइसकेको कोरोना महामारी फेरि फैलिन थालेपछि चीन सरकार चिन्तामा परेको छ ।  

त्यहाँका स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो समय चीनको उत्तरपूर्वी तटीय सहर डालियानबाट पुनः सुरु भएको संक्रमण अहिले ५ प्रान्तको ९ सहरमा फैलिसकेको छ ।  

समाचार एजेन्सी एएफपीका अनुसार संक्रमण फेरि क्रमशः फैलिन थालेपछि लकडाउनलगायत प्रतिबन्ध पुनः सुरु गर्नुपर्ने अवस्था देखिएको चिनियाँ अधिकारीले बताएका छन् ।  

गत वर्ष सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनकै वुहान सहरबाट विश्वमै पहिलोपटक कोरोना संक्रमण सुरु भएको थियो । जुन अहिले नेपालसहित विश्वभर महामारी बनिरहेको छ । चीनमा भने सुरुमै लकडाउनलगायत सुरक्षाका उपाय अपनाइएपछि स्थिति नियन्त्रणमा आएको थियो ।

तर पछिल्लो समय केही दिनयता चीनका विभिन्न ठाउँमा फेरि कोरोना संक्रमण फैलिन थालेको छ । जसप्रति चिनियाँ अधिकारीले चिन्ता व्यक्त गरेका छन्।   

आज मंगलबार चीनमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अप्रिलयता यो सबैभन्दा ठूलो संख्यामा संक्रमित देखिएका हुन् । जसमा ५७ संक्रमित त सिन्जियाङ प्रान्तका मात्र हुन् । यस्तै मंगलबारै लियोनिङ प्रान्तको पोर्ट सिटी डालियानमा पनि ६ नयाँ संक्रमित देखिएका छन् ।  

पछिल्लो हप्ता यहाँ सामुद्रिक खाना प्रशोधन गर्ने एक कारखानामा धेरै जना संक्रमित भएका छन् । डालियानमा मात्रै नयाँ संक्रमितको कूल संख्या ४४ पुगिसकेको छ । डालियानमा बिनालक्षणका एक संक्रमित फेला परेपछि अधिकारीले विशेषगरी बाहिरबाट आउने व्यक्तिको कडा निगरानी गर्न थालेका छन् ।  

मंगलबार बेइजिङमा समेत एक संक्रमित फेला परेका छन् । जसले डालियानका लक्षणबिनाका एक संक्रमितसँग सम्पर्क  गरेका थिए ।  

डालियानमा मंगलबार कोरोना पुष्टि भएका १२ जनाका कुनै लक्षण देखिएका छैनन् ।  

चीनभरमा अहिले ३९१ कोरोना संक्रमित अस्पतालमा उपचाररत छन् ।  

प्रकाशित: १३ श्रावण २०७७ ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App