अन्तर्राष्ट्रिय

आठ महिना नजरबन्दपछि कश्मिरका पूर्वमुख्यमन्त्री अब्दुल्लाह रिहा

श्रीनगर– झन्डै आठ महिना नजरबन्दपछि कश्मिरका पूर्वमुख्यमन्त्री ओमार अब्दुल्लाहलाई मंगलबार रिहा गरिएको छ।
सार्वजनिक सुरक्षा ऐन (पिएसए)अन्तर्गत नजरबन्दमा राखिएका ५० वर्षीय अब्दुल्लाहमाथि  लगाइएको आरोप खारेज गरिएपछि उनलाई दुई सय ३२ दिनपछि रिहा गरिएको हो ।

भारतको केन्द्र सरकारले जम्मु–कश्मिरको पूर्वराज्यलाई विशेष दर्जा दिने निर्णय गरेलगत्तै गत अगस्टमा अब्दुल्लासहितका कश्मिर मुद्दाप्रति असन्तुष्ट सयौं नेताहरूलाई नजरबन्दमा राखिएको थियो । गत फेबु्रअरी ५ मा भारत सरकारले कश्मिरलाई दिइँदै आएको विशेष व्यवस्थालाई गत अगस्ट ५ मा खारेज गर्दै केन्द्र सरकारको मातहतमा ल्याउने निर्णयसँगै स्थानीय नेताहरूलाई पक्राउ गरिएको थियो । यस निर्णयलाई भारतीय संसदले तत्कालै पारित गरिसकेको छ ।

रिहाइपछि  प्रतिक्रिया दिँदै कोरोना भाइरसको विश्वव्यापी प्रकोपबीच नागरिकहरूलाई ‘सरकारले दिएको सल्लाह अनुसार सामाजिक दूरी’ कायम गर्न अब्दुल्लाले आग्रह गरे । नेताहरूलाई नजरबन्द गरिएकोबारे उनले भने, ‘सबै नेताहरूलाई नजरबन्दबाट मुक्त गरिनुपर्छ र कश्मिरमा थ्री–जी र फोर–जीसहितका सेवाहरू यथाशीघ्र पुनः सञ्चालनमा ल्याउनुपर्छ।’

उनले भने, ‘हामी जीवन र मृत्युको लडाइँ लडिरहेका छौं । पक्राउ गरिएका सबै साथीहरूलाई यस समयमा रिहा गरिनुपर्छ । कोरोना भाइरसविरुद्ध लड्ने सरकारी आदेशको पालना गर्नैपर्छ ।’ पिटिआई

प्रकाशित: १२ चैत्र २०७६ ०४:५५ बुधबार

नजरबन्द पूर्वमुख्यमन्त्री रिहा