अन्तर्राष्ट्रिय

इरानमा कोरोनाबाट मर्नेको संख्या २१० पुग्यो

कोरोना भाइरसको संत्रमण फैलन नदिन इरानको राजधानी तेहरानको सार्वजनिक बसमा औषधी छर्किँदै कामदार। तस्बिर : एपी

तेहरान – इरानमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म कम्तीमा २१० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले शनिबार जानकारी दिएका छन्। यो संख्या स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेकोभन्दा ६ गुणा बढी हो। शुक्रबार मन्त्रालयले कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको जनाएको थियो।
त्यहाँ करिब १५ हजार कोरोना संक्रमित रहेको अनुमान गरिएको छ।

संक्रमितमध्ये अधिकांश राजधानी तेहरान र कुम सहरका रहेको बताइएको छ। कोरोना भाइरसको संक्रमण इरानमा पहिलो पटक कुम सहरमै देखिएको थियो। यसअघि कुमबाट निर्वाचित एक सांसद्ले स्वास्थ्य अधिकारीहरूले कोरोना भाइरसबाट मर्नेको वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए। इरानी अधिकारीहरूले कोरोना फैलन नदिन मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउन सुझाव दिइरहेका छन्। इरानले शनिबारबाट देशभरका विद्यालयमा कम्तीमा तीन दिन बिदा दिने निर्णय गरेको छ।

अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई इरान भ्रमण नगर्न चेतावनी
अस्ट्रेलियाले आफ्ना नागरिकलाई कोरोना भाइरसबाट अत्यन्त प्रभावित इरानको भ्रमणमा नजान चेतावनी दिएको छ । इरानमा कोरोना भाइरस संक्रमण दर उच्च हुँदै गएकाले अस्ट्रेलियाले यस्तो चेतावनी दिएको हो। चीनको हुबेई प्रान्तमा गत डिसेम्बरमा देखिएको कोरोनाको प्रकोपबाट विश्वभर तीन हजारभन्दा बढीको मृत्यु भएको छ भने ८३ हजारभन्दा बढी संक्रमित छन्।

प्रकाशित: १८ फाल्गुन २०७६ ०२:३० आइतबार

कोरोना_भाइरस मृत्यु संक्रमण