अन्तर्राष्ट्रिय

अफ्रिकामा प्रतिरोधको तयारी छैन : डब्लुएचओ

एदिस अबाबा – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड–१९) संक्रमण प्रतिरोधका लागि अफ्रिकामा तयारी नभएको भन्दै शनिबार चासो व्यक्त गरेको छ।

संगठन प्रमुख टेड्रोस अधानम गेब्रेयससले अफ्रिकी संघका सदस्य राष्ट्रहरूलाई कोभिड–१९ को संक्रमणसँग आक्रामक प्रतिरोधका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन्। यद्यपि इजिप्टबाहेक अफ्रिकी मुलुकमा अहिलेसम्म कोभिड–१९ भाइरसको संक्रमणको पुष्टि भएको छैन। तर, कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकहरूमा कोभिड–१९को सम्भावित संक्रमण र त्यसको रोकथाम तथा नियन्त्रणका लागि हाम्रो चासो बढेको छ,’ टेड्रसले जेनेभामा भिडियोमार्फत अफ्रिकी संघका स्वास्थ्य मन्त्रीहरूको भेलालाई गरेको सम्बोधनमा भने।

डिसेम्बरमा चीनबाट शुरु भएको कोभिड–१९ले अहिलेसम्म दुई हजार दुई सयभन्दा बढी चिनियाँको ज्यान लिएको छ भने ७५ हजार पाँच सय व्यक्तिमा संक्रमण भएको पुष्टि भएको छ। चीनबाहिर पनि इरान, फिलिपिन्स, दक्षिण कोरिया, जापानलगायत देशमा रोगको संक्रमण फैलिने क्रम बढ्दो छ। डब्लुएचओका अनुसार चीनबाहिर अहिलेसम्म करिब एक हजार एक सय ५० व्यक्तिमा कोभिड–१९को संक्रमण पुष्टि भइसकेको छ। डब्लुएचओका क्षेत्रीय निर्देशक मत्सिदिसो रेबेका मोतीले अफ्रिकी क्षेत्रमा दुई सयभन्दा बढी संदिग्ध घटना देखिएका बताएका छन्। उनले संक्रमणको आशंका गरिएका ती व्यक्तिमा अहिलेसम्म भाइरसको पुष्टि भने नभएको बताए। ‘तर, अफ्रिकी महाद्वीपमा कोभिड–१९ फैलिएपछि अफ्रिकी स्वास्थ्य प्रणालीलाई बिरामीहरूको उपचार गर्न जटिल हुनेछ,’ टेड्रसले भने।

उनले थपे, ‘यी बिरामीहरूलाई श्वासप्रश्वासका लागि सहयोगी मेसिनजस्ता उपकरणहरू प्रयोग गरी गहन हेरचाह आवश्यक पर्नेछ, ती उपकरणहरू धेरै अफ्रिकी देशमा अभाव रहनेछ,  त्यसैले यो चिन्ताको विषय हो,’ उनले भने। अफ्रिकी आयोगका अध्यक्ष मौसा फकी महामतले अधिकारीहरूलाई रोकथाम र नियन्त्रणका कडा उपाय अवलम्बन गर्न आग्रह गरे। ‘हाम्रो प्यारो महाद्वीप, अफ्रिकामा तुलनात्मक रूपमा विश्वका अन्य क्षेत्रको तुलनामा कमजोर स्वास्थ्य प्रणालीको जोखिममा रहेको छ,’ उनले भने। अफ्रिकी मुलुकमा कोभिड–१९ परीक्षणको क्षमता भएका देशको संख्या २६ पुगेको छ।

प्रकाशित: ११ फाल्गुन २०७६ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App