अन्तर्राष्ट्रिय

कोरोना भाइरस सङ्क्रमण : फ्रान्समा पनि एकको मृत्यु

पेरिस- कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ। शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भने। 'चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा एक ८० वर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ।'

एसिया महादेशभन्दा बाहिर यो भाइरसको सङ्क्रमणबाट भएको यो नै पहिलो मृत्यु हो। बुजिनका अनुसार फ्रान्समा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएका अन्य छ जनाको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको छ।

बुजिनले भने, 'फ्रान्समा मृत्यु भएका चिनियाँ पर्यटकलाई जनवरीको अन्त्यतिर पेरिसस्थित उक्त अस्पतालमा एकान्तमा राखी सेवा प्रदान गरिएको थियो। केही दिन यता उनको स्वास्थ्य अवस्था ‘निकै विग्रिएको’ थियो।' चिकित्सकको अथक प्रयासका बावजुद उनलाई बचाउन नसकिएको स्वास्थ्यमन्त्रीले बुजिनले बताए।

चीनको मध्य क्षेत्रस्थित हुबेईको राजधानी वुहानबाट गत वर्षको डिसेम्बरमा देखा परेको यो नयाँ भाइरसका कारण चीनमा एक हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म मुख्यभूमि चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा गरी कूल चार जनाको मृत्यु भएको छ।

चीनमा कोभिड–१९ का कारण अहिलेसम्म ६६ हजार व्यक्ति सङ्क्रमित भएको पुष्टि गरिएको छ। चीनको वुहान र आसपासका स्थानमा रहेका करिब पाँच करोड ६० लाख व्यक्तिलाई रोग फैलिनबाट रोक्नका लागि क्वारेन्टाइनमा राखिएको छ।

चीनबाहिर झण्डै ६०० व्यक्तिलाई कोभिड–१९ को सङ्क्रमण भएको र यसमध्ये करिब ३५ जना यूरोपेली संघ (इयू) सदस्य राष्ट्रमा पनि रहेको बताइएको छ। एएफपी

प्रकाशित: ३ फाल्गुन २०७६ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App