अन्तर्राष्ट्रिय

सहकर्मीको आक्रमणबाट पाँच अफगान प्रहरीको मृत्यु

कान्दाहार  (सिन्ह्वा) – अफगानिस्तानको दक्षिणी कान्दाहर प्रान्तमा रहेको एक चौकीमा आफ्नै सहकर्मीको आक्रमणमा परी कम्तीमा पाँच प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुल्तान मोहम्मद हकिमीले बताएका छन्।

उनका अनुसार पञ्जायी जिल्लाको एक प्रहरी चौकीमा भएको उक्त घातक घटना बिहीबार बिहान सबेरै तलकान क्षेत्रमा भएको थियो। घटनापछि आक्रमणकारी फरार भएको उनले बताए।

अफगानिस्तानमा विगतमा पनि तालिवान विद्रोहीले आफू निकटस्थ सुरक्षाकर्मीलाई सहकर्मीमाथि आक्रमणका लागि प्रयोग गर्ने गरिएको थियो।

सरकारले आतंककारीहरूले सुरक्षाकर्मीलाई प्रलोभनमा पारेर यस्ता घटना गराउने गरेका बताएको छ। यसअघि जनवरी २८ मा उत्तरी बग्लान प्रान्तमा तालिबानी समुदायका एक व्यक्तिले चौकीमा सहकर्मीमाथि घातक आक्रमण गर्दा ११ प्रहरीको मृत्यु भएका थिए।

प्रकाशित: २४ माघ २०७६ ०४:१५ शुक्रबार

अफगान_प्रहरी सहकर्मी आक्रमण