अन्तर्राष्ट्रिय

लन्डनमा आफ्ना लडाकु मारिएको आइएसको दाबी

बेरुत  (एएफपी) – इस्लामिक स्टेट (आइएस) लडाकुको समूहले आफ्ना एक लडाकु लन्डनमा मारिएको दाबी गरेको छ। लन्डनको व्यस्त दक्षिणी क्षेत्रमा दुई व्यक्तिलाई आक्रमण गरेर घाइते बनाएपछि उनलाई प्रहरीले गोली प्रहार गरेको थियो। गोली लागी उनको मृत्यु भएको जनाइएको छ।

‘दक्षिणी लन्डनको स्ट्रिथम हाई रोडमा सर्वसाधारणलाई आक्रमण गर्ने ती आक्रमणकारी हाम्रो संगठनका लडाकु हुन्,’ टेलिग्राममार्फत आइएस लडाकुको तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ। सुदेश अम्मान नाम गरेका ती २० वर्षीय व्यक्तिले आइतबार दिउँसो सर्वसाधारणलाई अन्धाधुन्ध आक्रमण गरेका थिए। आतंकवादसम्बन्धी अभियोगमा जेल परेका ती व्यक्ति झन्डै एक साताअघि मात्र कारागारबाट छुटेका थिए। उनलाई तीन वर्ष चार महिनाको सजाय सुनाइएको भए पनि आधा सजाय भोगेपछि मुक्त गरिएको थियो। जेलबाट छुटे पनि अम्मान प्रहरीको सक्रिय निगरानीमा रहेका थिए। प्रहरीका अनुसार अम्मानले एउटा पसलभित्र छिरेर मानिसहरूलाई चक्कु प्रहार गरे। त्यसपछि बाहिर निस्किएर फेरि अर्का एक महिलालाई आक्रमण गरेका थिए। यो घटनाले आतंकवादसम्बन्धी सजाय खेपिरहेका व्यक्तिहरूलाई गरिने व्यवहारबारे नयाँ व्यवस्था आवश्यक पर्ने ठहर गर्दै प्रधानमन्त्री बोरिस जोनसनले योजना सार्वजनिक गर्ने बताएका छन्।

गत नोभेम्बरमा पनि लन्डन ब्रिजनजिकै आतंकवादको घटनामा दोषी ठहर भएका एक व्यक्तिले चक्कु प्रहार गर्दा दुई जनाको मृत्यु भएको थियो। ती व्यक्तिको पनि आधा सजाय भोगेर जेलबाट छुटेका र प्रहरी कारबाहीमा परी मृत्यु भएको थियो। आतंकवादसम्बन्धी सजाय खेपिरहेका व्यक्तिहरूबाट एकपछि अर्को यस्ता घटना भएपछि सरकारले नयाँ व्यवस्था गर्न लागेको जनाइएको छ।

प्रकाशित: २१ माघ २०७६ ०३:५७ मंगलबार

लन्डन आइएस लडाकु