अन्तर्राष्ट्रिय

'साढे चार करोड दक्षिण अफ्रिकीलाई खाद्यान्न सहयोग आवश्यक'

जोहानेसबर्ग  (एएफपी)– दक्षिण अफ्रिकामा खडेरी र बाढीका कारण आर्थिक गरिबीमा रहेका करिब चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसंघले जनाएको छ।

‘भोकमरीको यो संकट दक्षिण अफ्रिकामा अहिलेसम्म नभोगेको र नसोचेको अवस्थामा पुगेको र यो दर अझै बढ्दो अवस्थामा रहेको छ,’ विश्व खाद्य कार्यक्रमका क्षेत्रीय निर्देशक लोला क्यास्ट्रोले भने।

राष्ट्रसंघीय उक्त संस्थाका अनुसार दक्षिण अफ्रिकामा लामो समयसम्म खडेरी परेको र त्यसपछि परेको वर्षाका कारण स्थानीय कृषि उत्पादनमा अनपेक्षित क्षति पुग्दा यहाँका नागरिकले आफ्ना बहुमूल्य सम्पत्तिलाई बेचेर खाद्यान्न व्यवस्थापन गर्नुपरेको वास्तविकता रहेको छ। खाद्यान्न अभावका कारण महँगो खाद्यान्नको जोहो गर्नुपर्दा देखिएको गरिबीका कारण बालबालिकाले विद्यालयको शुल्क तिर्न नसक्दा विद्यालयबाट बाहिरिनुपरेको र आधा पेट खाने वा खानै नपाउने अवस्था धेरै अफ्रिकी नागरिकको अवस्था रहेको क्यास्ट्रोले बताए।

क्यास्ट्रोले भने, ‘अफ्रिकालाई खाद्यान्न व्यवस्थापनका लागि सन् २०२० मा करिब चार करोड ८९ लाख अमेरिकी डलर आवश्यक पर्ने तर संस्थासँग यसको आधा पनि बजेट नभएकाले अन्तर्राष्ट्रिय समुदायले समयमै सोच्नुपर्ने देखिएको छ।’

दक्षिण अफ्रिकामा विश्वका अन्य मुलुकको तुलनामा तापक्रम दोब्बर बढेको र यहाँका जनताले विगत ३५ वर्षयता सबैभन्दा खराब खाद्यान्न संकटको सामना गर्नुपरेको राष्ट्रसंघले जनाएको छ।

निम्न आर्थिक वृद्धि, बढ्दो जनसंख्या दर, खडेरी र बाढीको प्रभाव नै खराब खाद्य संकटको कारक भएको क्यास्ट्रोको भनाइ छ। खासगरी इस्वाटिनी, लेसोथो, मदागास्कर, मालावी, मोजाम्बिक, नामिबिया, जाम्बिया र जिम्बावेलगायतका दक्षिण अफ्रिकी मुलुकहरूमा नागरिकले अत्यधिक खाद्यान्न संकटको सामना गरिरहेको राष्ट्रसंघले जनाएको छ।

जिम्बावेका आधा जनसंख्या अर्थात् एक करोड ५० लाख नागरिकले चरम खाद्य संकट झेलिरहेको राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ। गत वर्ष खडेरीका कारण खाना नपाएर यहाँका करिब २०० हात्ती मरेका थिए भने अन्य जनावरले पनि यसको पीडा भोग्नुपरेको थियो।

लेसोथोमा २० प्रतिशत, नामिबियामा १० प्रतिशत नागरिकले खाद्यान्न अभाबको सामना गरेका छन्। त्यस्तै रेडक्रसले दिएको तथ्यांक अनुसार जाम्बियामा करिब २३ लाख नागरिकमा खाद्यान्न असुरक्षा रहेको छ। जाम्बियालाई अफ्रिकाको खाद्यान्न भन्डार भनिने गरे पनि खडेरीका कारण पानीका स्रोतहरू सुक्दा यहाँको कृषि उत्पादनमा ह्रास आएको छ।

मौसमविद्हरूले यस क्षेत्रमा यस वर्ष अझ तातो र सुख्खा मौसमको सामना गर्नुपर्ने बताएका छन्।

यसैबीच विश्व खाद्य कार्यक्रमले यस वर्ष अफ्रिकामा खाद्य असुरक्षाको पीडामा रहेका ८३ लाख जनसंख्यालाई खाद्यान्न सहयोग वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ। बाँकी समस्यासँग जुध्न कार्यक्रमले विश्व समुदायको ध्यानाकर्षण गरेको छ। युरोपेली संघले दुई करोड २८ लाख मानवीय सहायताको राहत कार्यक्रममार्फत यस क्षेत्रमा काम गरिरहेको जनाएको छ।

प्रकाशित: ६ माघ २०७६ ०३:२३ सोमबार

दक्षिण_अफ्रिका खडेरी खाद्यान्न