अन्तर्राष्ट्रिय

ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई अर्को अभियोग

रियो डि जानेरो- ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई फेरी अर्को अभियोग लगाइएको छ।

संघीय प्रहरीले उनलाई बिहीबार भ्रष्टाचार सम्वन्धी अर्को अभियोग लगाएको अधिकारीहरुले जनाएका छन्। राष्ट्रपति कार्यालय छोडेपछि उनले स्थापना गरेको निर्माण कम्पनी ओडेब्रेचमार्फत् उनले भ्रष्टाचार गरेको अभियोग लगाइएको छ।

प्रहरीकाअनुसार सन् २०१३ को डिसेम्बरदेखि २०१४ को मार्चसम्ममा त्यस संस्थामा जम्मा गरिएको रकमका बारेमा प्रहरीले आशंङ्का गरेको हो।

लुलाको संस्थाका प्रमुख पाउलो ओकामोटो र पूर्व अर्थ मन्त्री एन्टोनीयो पालोस्सीलाई पनि भ्रष्टाचार र मुद्रा अपचनल सम्वन्धी अभियोग लगाइएको छ। लुलाको राष्ट्रपतिको कार्यकाल सकिएपछिको विषयलाई लिएर अभियोग लगाउनु पूर्वाग्रहपूर्ण भएको लुलाका वकिलहरुले बताएका छन्। लुलाको पछिल्लो राष्ट्रपतिय कार्यकाल सन् २०१० मा सकिएको थियो।

लुलाको कारोबार सामान्य र नियमित नै देखिने र कुनै अस्वभाविक नदेखिने उनका वकिलहरुको भनाइ छ।
यसअघि अर्कै अभियोगमा दोषी ठहर भएर कारागार पठाइएका लुला केही महिना अगाडी मात्रै जेलमुक्त भएका थिए।

ब्राजिलको दक्षिणी क्षेत्रमा पर्ने कुरितिबास्थित संघीय प्रहरी मुख्यालयमा उहाँले जेलजीवन बिताएका थिए। वर्कर्स पार्टीका नेतासमेत रहेका पूर्वराष्ट्रपति लुलालाई सन् २०१७ मा भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै कारागार चलान गरिएको थियो।

ब्राजिलमा एउटा मुद्दामा तीनपटकसम्म पुनरावेदन गर्न पाउने नयाँ व्यवस्थाका कारण पुनरावेदनका लागि निवेदन दिएकोले सो मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि उनी थुनामुक्त भएका हुन्। पूर्व राष्ट्रपति लुलाले आफूमाथि राजनीतिक पूर्वाग्रहका आधारमा विभिन्न आरोप र अभियोगहरु लगाइएको भन्दै आरोपको खण्डन गर्दै आएका छन्। सिन्हवा

प्रकाशित: ११ पुस २०७६ ०९:३१ शुक्रबार

ब्राजिल पूर्व_राष्ट्रपति अभियोग