अन्तर्राष्ट्रिय

बेलायती ट्यांकरका सात सदस्य रिहा गर्दै इरान

तेहरान – पक्राउ परेको बेलायती ध्वजावहाक ट्यांकर ‘स्टेना इम्पेरो’का सात सदस्यलाई रिहा गर्ने इरानले जनाएको छ।
राज्य सञ्चालित इरानी टेलिभिजन बुधबार यस्तो जानकारी दिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। तेहरानले नियन्त्रणमा लिइएको बेलायती ध्वजावहाक ट्यांकरका सात सदस्यलाई रिहा गर्ने बताए पनि सो ट्यांकरका मालिकले भने तेहरानबाट कुनै आधिकारिक जानकारी प्राप्त नगरेको बताएका छन्।

स्वीडेनको स्वामित्वमा रहेको स्टेना इम्पेरोलाई गत जुलाई १९ का दिन ‘स्ट्रेट अफ हर्मुज वाटरवे’ नजिकैबाट इरानको रेभुल्युस्नरी गार्ड्सले सामुद्रिक कानुन तोडेको आरोपमा नियन्त्रण्मा लिएको थियो। बेलायतले उसको भूभाग जिब्राल्टरबाट इरानी ट्यांकरलाई नियन्त्रणमा लिएको दुई सातापछि तेहरानले पनि बेलायती ध्वजावहाक सो ट्यांकर नियन्त्रणमा लिएको थियो। बेलायतले भने गत अगस्ट महिनामै इरानको सो तेल ट्यांकर मुक्त गरिसकेको छ।

मानवीय धरातलका आधारमा एक भारतीय नागरिकसहित स्टेना इम्पेरो तेल ट्यांकरमा रहेका सातजना सदस्यलाई जान दिइएको र उनीहरुले चाँडै नै इरान छोड्ने विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसाभीले राज्य सञ्चालित टेलिभिजनमा बताए।

‘तेल ट्यांकरका सदस्यसँग हामीलाई कुनै समस्या छैन र क्याप्टेनका साथै जहाजको विषय भने अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो,’ प्रवक्ता मौसाभीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।
स्वीडिस मालिक स्टेना बल्कका अनुसार स्टेना इम्पेरोमा रहेका २३ सदस्यमा भारतीय, रुसी, लाटभियन र फिलिपिनो नागरिक छन्।

‘तेल ट्यांकरमा रहेका सातजना सदस्यको कानुनी सुनुवाई चाँडै नै सकिने र उनीहरु आफ्ना घर जान पाउने विषय सुनाउन पाउँदा हामीलाई निकै खुसी लागेको छ र हामी इरानी अधिकारीहरुबाट उनीहरुको औपचारिक रिहाईको मिति पर्खिरहेका छौं,’ स्टेना बल्कका अध्यक्ष एवं प्रमुख कार्यकारी एरिक हानेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘इरान सरकारबाट आएको यो जानकारीलाई हामीले सकारात्मक कदमका रूपमा लिएका छौं र ट्यांकरमा रहेका अन्य सदस्य पनि चाँडै नै रिहा हुनेमा विश्वस्त छौं,’ विज्ञप्ति उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। कम्पनीका अनुसार बाँकी १६ जना सदस्य भने ट्यांकरलाई सुरक्षित ढंगले सञ्चालन गर्नका लागि त्यही नै बस्ने छन्।

प्रकाशित: १९ भाद्र २०७६ ०३:२४ बिहीबार

ट्यांकर रिहा