काबुल – अफगान विशेष सुरक्षाफौजले गरेको एक कारबाहीका क्रममा तालिबान लडाकु समूहको नियन्त्रणमा रहेका १५ व्यक्ति मुक्त भएका छन्।
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा आइतबार राति गरिएको गरिएको सुरक्षा कारबाहीको क्रममा तालिबान लडाकु समूहले कब्जामा राखेका ती व्यक्ति सकुशल मुक्त भएको अफगान विशेषबलद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ।
कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा आइतबार राति अफगान विशेष फौजले तालिबान लडाकुविरुद्ध गरेको कारबाहीका क्रममा आठ सैनिक र सात सर्वसाधारण मुक्त भएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
पछिल्लो कारबाहीका क्रममा तालिबान लडाकु समूहको विस्फोटक पदार्थको भण्डार पनि ध्वस्त गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। लडाकुको नियन्त्रणबाट मुक्त गराइएका ती व्यक्तिलाई सेनाको शिविरमा ल्याइएको र चिकित्सकद्वारा शारीरिक परीक्षण गरिएको अधिकारीहरुले बताएका छन्।
इमाम साहिब जिल्लाभर नै तालिबान लडाकु समूहले बारम्बार सर्वसाधारण नागरिक र ड्युटिमा नभएका सैनिकलाई अपहरण गर्ने गरेका छन्। सेनाको विशेष कारबाहीको विषयमा तालिबान लडाकु समूहले भने केही टिप्पणी गरेको छैन।
¬
प्रकाशित: १० भाद्र २०७६ ०२:११ मंगलबार