अन्तर्राष्ट्रिय

सरकारी विश्वविद्यालयको बजेट कटौतीको विरोध

रियो दी जेनेरो – सरकारले विश्वविद्यालयको बजेट कटौती गरेको विरोधमा ब्राजिलमा हजारौंले प्रदर्शन गरेका छन्। सरकारी निर्णयको विरोधमा ब्राजिलमा मंगलबार देशका ७२ वटा सहरमा यस्तो विरोध प्रदर्शन भएको बताइएको छ।

सरकारले विश्वविद्यालयको बजेटमा करिब ३० प्रतिशत कटौती गर्ने घोषणा गरेलगत्तै विद्यार्थी युनियन र अरु संघसंस्थाले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन्। सरकारले स्नातकोत्तर तहमा दिइआएको छात्रवृत्तिसमेत रोकेको छ। विशिष्ट वैज्ञानिक तथा मेडिकल अनुसन्धान गर्ने धेरैवटा संघीय विश्वविद्यालयले नयाँ भर्ना नलिइने बताएका छन्। प्रदर्शनकारीले विश्वविद्यालयका निम्ति ल्याउने घोषणा गरिएका नयाँ कार्यक्रमको पनि विरोध गरेका छन्।

विश्वविद्यालयले सरकारले सार्वजनिक शिक्षामा लगानी गर्न अरुचि देखाएको र निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्न खोजेको बताएका छन्।
ठूलो संख्याका सर्वसाधारणले सरकारले हालै ल्याएको सामाजिक सुरक्षा सुधारसम्बन्धी विधेयकको पनि विरोध गरेका छन्।

सो विधेयकलाई संसद्ले स्वीकृत गरिसकेको छ भने ब्राजिलको माथिल्लो सदन सिनेटले अध्ययन गरिरहेको छ। विधेयकले कामदारले गरेको कामलाई बेवास्ता गर्दै हचुवाको भरमा अवकाशको न्यूनतम उमेर तोकेको विरोधकर्ताको भनाइ छ।

 

प्रकाशित: ३० श्रावण २०७६ ०१:४६ बिहीबार

विश्वविद्यालय बजेट