अन्तर्राष्ट्रिय

दक्षिणी चीनको पहिरो, कम्तीमा ३६ को मृत्यु

बेइजिङ – दक्षिणी चीनमा गत मंगलबार गएको एक पहिरोमा कम्तिमा ३६ जनाको मृत्यु भएको छ। सरकारी स्थानीय सञ्चारमाध्यमका अनुसार गुइझाउ प्रान्तमा २० भन्दा बढी घरहरु पुरिदाँ १५ जना अझै बेपत्ता छन्। चिनियाँ अधिकारीहरूले सिन्ह्वा समाचार संस्थालाई बताएअनुसार सो पहिरोबाट ४० जनालाई उद्धार गरिएको छ। यो घटना चीनका केही क्षेत्रमा अविरल वर्षा भइरहँदा भएको बताइएको छ।

विस्तृत विवरण स्पष्ट नभएपनि दुई बालबालिका र एक सन्तानसहितकी आमाको मृत्यु भएको खवर आएको छ। चिनियाँ टेलिभिजनमा उद्धारकर्मीहरुले पुरिएको गाउँ खनिरहेको देखाइएको छ।

स्थानीय विद्यालयलाई आपत्कालीन स्वास्थ्य तथा उद्धार केन्द्र बनाइएको बिबिसीले उल्लेख गरेको छ। सिन्ह्वाका अनुसार सरकारले ४४ लाख अमेरिकी डलर उद्धार र विस्थापितको पुनस्र्थापनाको लागि छुट्टाएको छ। चीनका दुर्गम पहाडी क्षेत्रमा अविरल वर्षापछि पहिरो जाने घटना हुने गरेका छन्।

प्रकाशित: १३ श्रावण २०७६ ०३:०१ सोमबार

पहिरो मृत्यु